बेथिति र आन्दोलनले थिलथिलो बन्दै वीपी प्रतिष्ठान


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पछल्लो समय बेथिति र आन्दोलनले थिलथिलो बन्दै गएको छ । अदालतको आडमा किर्ते प्राध्यापक डा. ज्ञानेन्द्र गिरीले राज गर्न थालेपछि घोपा बचाउ अभियान निरन्तर चलिरहेको छ ।

एकातिर प्रतिष्ठानका पदाधिकारीको भ्रष्ट शैली र अर्कातिर आन्दोलन चलिरहँदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हालत खराब भएको छ । बेथितिको भुमरिमा जेलिएको प्रतिष्ठान दिन प्रतिदिन खस्कदो अवस्थामा छ ।

अस्पतालले दिने सेवा र व्यवस्थापन तहस-नहस बनेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कारण धरानकै अस्त्विमाथि प्रश्न उठ्न थालेको छ । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त भएका किर्ते प्राध्यापक उपकुलपति डा. गिरी वीपी प्रतिष्ठानको प्रतिष्ठा समाप्त पार्ने ध्याउन्नमा लागेको धरानवासीको आरोप छ ।

किर्ते प्राध्यापक गिरीले वीपी प्रतिष्ठानमा बसेर धरानकै बद्नाम गरेको भन्दै धरानवासीहरू दैनिक आन्दोलनमा होमिन थालेका छन् । ‘कुनै बेला डेथ सिटीको रुपमा रहेको धरान वीपीकै कारण यो अवस्थामा आएको हो । आज फेरि वीपीकै कारण पहिलाकै हालमा पुग्ने खतरा देखियो । त्यसैले आन्दोलनमा आउनु परेको हो ।’, घोपा बचाउ अभियानमा आएका सनत केसीले स्वास्थ्य लाइभसँग भने ।

केसी जस्तै सयौंको संख्यामा वीपी बचाउ अभियानमा प्रतिष्ठान अगाडि प्ले कार्ड र ब्यानर बोकेर धरानवासीहरू धर्ना दिन थालेका छन् । वीपी प्रतिष्ठानका भ्रष्ट पदाधिकारीहरु हटाउने प्रक्रिया अघि बढेपछि रोकिएको वीपीको आन्दोलन फेरि उग्र रुपमा देखा पर्न थालेको छ । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशका कारण रोकिएको वीपीको सिनेट कहिलेसम्म रोकिने हो भन्ने टुंगो छैन । तर किर्ते प्राध्यापक डा. ज्ञानेन्द्र गिरी वीपीमा जति रहन्छन् त्यति नै वीपी प्रतिष्ठान तहस-नहस हुँदै जाने आन्दोलनकारीहरुको भनाइ छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समाप्त पार्ने उद्देश्यले अहिलेका पदाधिकारीले काम गरिरहेकाले आन्दोलन छेड्नु परेको घोपा बचाउ अभियानमा सहभागीहरुको दाबी छ । जे भएपनि आन्दोलन र पदाधिकारीका कारण वीपी प्रतिष्ठान थिलथिलो बन्दै गएको देखिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #घोपा बचाउ अभियान, #वीपी प्रतिष्ठानका पदाधिकारी, #सिनेट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com