अस्पताललाई गिज्याउँदै बागमती प्रदेशमा ठडिएका भ्यू टावर (फोटोफिचर)


काठमाडौं । बागमती प्रदेश सरकारले बनाएका अधिकांश भ्यू टावरहरू निर्माणको अन्तिम चरणमा रहेका देखिन्छन् । बागमती प्रदेश सरकारको  लगानीमा निर्माणाधीन भ्यू टावर र अस्पताल भवनको अवस्था हेर्दा अस्पताललाई गिज्याउँदै ती भ्यू टावरहरु ठडिएका छन् ।

डोममणि पौडेल नेतृत्वको अघिल्लो प्रदेश सरकारले भ्यू टावर निर्माणका लागि झन्डै ४० करोड बजेट विनियोजन गरेको पाइन्छ । नजिकैको अस्पताललाई गिज्याउँने गरी ठडिएका भ्यू टावरहरूले प्रदेश सरकारको आवश्यकता र प्राथमिकतालाई प्रस्ट पारेको छ । पौडेल नेतृत्वको बागमती प्रदेश सरकारका पालामा निर्माण कार्य सुरू भएका यी भ्यू टावरहरू संघीयताका लागि पनि पाठ बनेका छन् ।

भ्यू टावरे विकासले संघीय नेपालमा कस्तो खालको विकास हुनुपर्छ र नेपालको आवश्यकता के हो भन्ने विषयमा समेत बहस सुरू भएको छ । एकातिर स्कुल र अस्पतालका भवन अर्कातिर प्रकृतिलेनै उपहार दिएका डाँडा र चुचुरोमा ठडिएका भ्यू टावर राखेर नेपालको आवश्यकता र प्राथमिकताका विषयमा बहस हुनु सकारात्मक कुरा हो ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले आगामी आर्थिक वर्षमा नयाँ भ्यू टावरका लागि बजेट विनियोजन नगर्ने घोषणा गरिसकेका छन् । उनको घोषणाले प्रदेश सरकारको आवश्यकता र प्राथमिकता के हुनुपर्छ भन्ने कुरामा प्रस्ट सन्देश दिएको छ । बागमती प्रदेश सरकाको भ्यू टावरे विकास मोडल भने उनले पर्यटन मन्त्रालयको नेतृत्व सम्हालुभन्दा अगाडिको हो ।

स्वास्थ्य लाइभले बागमती प्रदेशमा अस्पताललाई गिज्याउँदै ठडिएका भ्यू टावरहरु फोटोमार्फत प्रस्तुत गर्ने कोशिस गरेका छ ।

फोटोमा हेर्नुहोस् अस्पताललाई गिज्याउँदै ठडिएका भ्यू टावर

नुवाकोटको ककनी निर्मित यो भ्यू टावरमा बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले झन्डै साढे ३ करोड लगानी गरेको छ । बागमती प्रदेश सरकारले नुवाकोटको ककनी हिल स्टेशन प्याकेजका निर्माणका लागि ३ करोड ४१ लाख ३३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । यो भ्यू टावर निर्माण सम्पन्न भएर उद्‌घाटनको चरणमा रहेको छ ।

यो रामेछापको खाँडादेवी गोगनपानी सुलीथुम्का बन्दै गरेको भ्यू टावर हो ।  ३ करोड ३५ लाख ४४ हजार रुपैयाँ लागतमा उक्त भ्यू टावर बन्दै छ । यो भ्यू टावर बनाउने भिजन प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको हो ।  उनले प्रदेश सरकारमार्फत झन्डै साढे ३ करोड पैसा हालेर आफ्नो गाउँको डाँडाको टुप्पोमा उक्त भ्यू टावर बनाएका हुन् ।

निर्माण सम्पन्न भएर उद्‌घाटनको चरणमा रहेको यो भ्यू टावरको अनुगमनमा पुगेका बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ उक्त भ्यू टावरभन्दा वरिपरि अग्ला भ्यू डाँडाहरू रहेको सुनाउँछन् ।

यो सिन्धुलीको ऐतिहासिक सिद्धबाबा चुचोरो निर्माण सम्पन्न हुन लागेको भ्यू टावर हो ।  २ करोड ५५ लाख ४८ हजार रुपैयाँ बजेटमा बन्दै गरेको यो प्रोजेक्ट यही चैत ३० गतेसम्म बनिसक्नु पर्नेछ । यो भ्यू टावर पनि उद्‌घाटनको पर्खाइमा देखिन्छ ।

यो काभ्रे जिल्लाको रोशी भूमिचुलीमा निर्माणाधीन भ्यू टावर हो । बागमति प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले यो भ्यू टावर निर्माणका लागि ३ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको छ । २०७८ चैत ३० गते निर्माण सम्पन्न हुनुपर्ने गरी ठेक्का सम्झौता भएको यो भ्यू टावर पनि उद्‌घाटनको पर्खाइमा रहेको छ ।

यो सिन्धुपाल्चोकको मुढेमा निर्माणाधीन भ्यू टावर हो । मुढेमा ३ करोड ३१ लाख १३ हजार बजेटमा भ्यू टावरसहितको संरचना बन्दै छ । यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको यो भ्यू टावर पनि उद्‌घाटनको तयारी हालतमा छ ।

यो मकवानपुरको चित्लाङमा ३ करोड ११ लाख ५६ हजार रुपैयाँ लागतमा निर्माणाधीन भ्यू टावर हो । यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने चित्लाङ भ्यू टावर निर्माणको अन्तिम चरणमा रहेको छ । भ्यू टावरकै आडमा रहेको जमिन कमजोर रहेकाले वाल लगाएर ‘सपोर्ट’ दिने काम भइरहेको छ । यो भ्यू टावर पनि चाँडै उद्‌घाटन हुने अवस्थामा देखिन्छ ।

 यो धादिङ जिल्लाको तोप्लाङ्गमा निर्माणाधीन भ्यू टावर हो ।  उक्त भ्यू टावरसहितको संरचना निर्माण गर्न बागमती प्रदेश सरकारले २ करोड ६५ लाख ३५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । निर्धारित समयभित्रै निर्माण सम्पन्न हुने सम्भावना देखिन्छ । भ्यू टावरबहेकका संरचना निर्माणको गति भने निकै सुस्त ढंगले अगाडि बढेको पाइन्छ । भ्यू टावरबाहेकका संरचना भने यो आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने अवस्था देखिँदैन ।

यो दोलखाको जिरीमा निर्माणाधीन भ्यू टावर हो । उक्त ठाउँमा भ्यू टावर, बहुउद्देश्यीय भवन र बन बगैचा निर्माण गर्न भन्दै बागमती प्रदेश सरकारले जिरीमा ३ करोड ५८ लाख १८ हजार ठेक्का सम्झौता गरेको छ । चैत ३० गतेभित्र बनिसक्नु पर्ने यो भ्यू टावर समयमै निर्माण सम्पन्न हुन निकै कठिन रहेको देखिन्छ ।

भ्यू टावरसँगै बन्नु पर्ने यो भवन भने सम्झौतामा उल्लेख भएको ठाउँभन्दा फरक ठाँउमा बनेको देखिन्छ ।

यो रामेछाप जिल्लाको शिवालयमा निर्माणाधीन भ्यू टावर (हिल स्टेशन) हो ।  ३ करोड ३७ लाख १६ हजार रुपैयाँमा भ्यू टावरसहितका संरचना बनाउन ठेक्का सम्झौता भएपनि सन्तोषजनक काम भएको देखिँदैन । २०७८ चैत ३० भित्र बनिसक्नुपर्ने यो संरचना अहिले यो हालतमा रहेको छ । यो भ्यू टावर निर्माणको काम अलपत्र हुने अवस्थामा रहेको जानकारहरू बताउँछन् । नुवाकोटको चिम्टेश्वरमा ३ करोड ५० लाखमा ठेक्का सम्झौता भएर भ्यू टावरको हालत पनि शिवालय भ्यू टावरको भन्दा कम छैन ।

तस्विरमा देखिएका यी भ्यू टावरसहित बागमती प्रदेशमा ४० करोड लागतका १० वटा भ्यू टावर बनाउन ठेक्का सम्झौता गरेको छ । त्यसको अवस्थाकाबारेमा स्वास्थ्य लाइभले विस्तृत रुपमा प्रस्तुत गरिसकेको छ ।

क्याटेगोरी : प्रदेश, सार्वजनिक सरोकार
ट्याग : #बागमती प्रदेश सरकार, #भ्यू टावर, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com