सिभिल अस्पताललाई हिस्स पारेर नदी किनारमा ४ करोडको स्विमिङ पुल 


काठमाडौं । बागमती प्रदेश सरकारले कोभिडमा सिभिल अस्पताललाई हिस्स पारेर झन्डै ४ करोड खर्चेर स्विमिङ पुल बनाएको पाइएको छ । बागमती प्रदेश सरकारले झन्डै ४ करोड लागतमा भोटेकोशी नदीको किनारमा स्विमिङ पुल बनाएको स्वास्थ्य लाइभले फेला पारेको छ ।

बागमती सरकारले कोभिड महामारीमा काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालाई १ सय ५० बेड सञ्चालन गर्न २ करोड २४ लाख ५० हजार अनुदान दिने सम्झौता गरेको थियो । तर बागमतीको सामाजिक विकास मन्त्रालयले उक्त रकम नदिई सिभिल अस्पताललाई हिस्स पारेर त्यहिँ समयमा भोटेकोशीको किनारमा ३ करोड ५४ लाख ३३ हजार १ सय २६ रुपैयाँ लागत सम्झौतामा स्विमिङ पुल बनाएको खुल्न आएको हो ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना, हेटौडा मकवानपुरमार्फत भोटेकोशी नदीको किनारमा उक्त स्विमिङ पुल बनेकाे हो । डोरमणि पौडेल नेतृत्वको सरकार कोभिड-१९ को समयमा स्वास्थ्यको क्षेत्रमा संकटलाई बेवास्ता गर्दै  स्विमिङ पुलमा ‘हाम फालेको’ पाइएको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार सिभिल अस्पताललाई सम्झौता बमोजिम पैसा उपलब्ध गराउन नसकेको बागमती सरकारले नदीको किनारमा स्विमिङ पुल बनाएर राज्य कोषको चरम दुरुपयोग गरेको छ । सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलका बागमती प्रदेश सरकारले  २ करोड २४ लाख दिन्छु भनेर एउटा फुटेको कौडी समेत नदिएको गुनासो गर्छन् । ‘हाम्रो खर्च भएको ८० लाखको बिलको समेत रकम दिएन’, उनले भने ।  बरु हालका पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले डेढ करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको डा. पौडेलले बताए ।

कोरोना महामारीमा स्विमिङ पुल बनाउने प्रदेश सरकारले अस्पताललाई झुक्याउन काम गरेको सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलको भनाइबाट पुष्टि हुन्छ ।

सिन्धुपालचोक सुनकोसी गाउँपालिका वडा नम्बर– ७ लामोसाँघुमा बन्दै गरेको उक्त स्विमिङ पुलले प्रदेश सरकारको विकास मोडल, आवश्यकता र प्राथमिकता  के हो भन्ने प्रस्ट देखाएको छ । नदी/ खोलाको किनारमा स्विमिङ पुल बनाएर करोडौं पैसा स्वाहा पार्ने विकास भ्यू टावरे विकासभन्दा घातक देखिन्छ ।

भोटेकोशीमा समुदायमा आधारित पर्यटकीय पदमार्गमा पर्ने खोला किनारमा पौडी पोखरी निर्माण शीर्षकमा प्रदेश सरकारले स्विमङ पुल बनाएर झन्डै ४ करोड स्वाहा पारेको पाइन्छ ।पर्यटन विकास आयोजना, हेटौडाका आयोजना प्रमुख विष्णु भण्डारी भने पदमार्गमा अवातजावत गर्ने पदमार्गीहरुले पौडी खेलुन् भन्ने उद्देश्यले उक्त स्विमिङ पुल बनाएको दाबी गर्छन् । 

मालिकादेवी- शान्तिदेवी जेभीले उक्त स्विमिङ पुल बनाउने ठेक्का २०७७ भदौ १८ मा पाएको हो ।  ठेक्का सम्झौता भएको तीन महिनापछि कार्तिक १८ गते निर्माणको कार्यदेश पाएको प्राप्त कागजातबाट देखिन्छ । २०७८ चैत ३० गते आजैको दिन स्विमिङ पुल निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ । ५० मिटर लम्बाई २० मिटर चौडाई र २ मिटर उचाई रहेको उक्त स्विमिङ पुल प्रदेश सरकारको राष्ट्रिय गौरवको आयोजना समेत हो ।

खोलाको छेउमा स्विमिङ पुल बनाएको सुनेपछि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले भने आश्चर्य व्यक्त गरेका छन् । प्राकृतिक खोलाको किनारमा स्विमिङ पुल बनाउनु उपयुक्त नहुने तर्क गर्दै उनले अवलोकन, अनुगमन र मूल्याङ्कनपछि मात्र थप प्रतिक्रिया दिन सकिने बताए । स्वास्थ्य लाइभसँग प्रतिक्रिया दिँदै खोलाको किनारमा स्विमिङ पुल बनाएको विषयमा चाँडै अध्ययन गरिने मन्त्री श्रेष्ठको भनाइ छ ।

के भन्छन् आयोजना प्रमुख विष्णु भण्डारी ?

भोटेकोशीमा समुदायमा आधारित पर्यटकीय पदमार्गमा पर्ने खोला किनारमा पौडी पोखरी निर्माण गरिएको हो । प्राकृतिक रुपमा रहेको जलस्रोतको प्रयोग गरी राष्ट्रियस्तरको पौडी पोखरी निर्माण गर्न काम भएको छ ।  जसले एडमण्ड हिलारी तेन्जिङ नोर्गे पर्यटकीय पदमार्ग समेतलाई छोएको छ ।

पदमार्गमा अवातजावत गर्ने पदमार्गीहरुले पौडी खेलुन, पौडीवाजहरुलाई पौडी तालीम र स्थानीय तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता संचालन गरी खेलकुद र पर्यटनलाई जोड्ने उद्देश्य रहेको छ । त्यहीँ उद्देश्यका साथ स्विमिङ पुल बनाइएको हो । हालसम्म २ करोड ३१ लाख ९९ हजार ५३६ रुपैयाँ भुक्तानी भइसकेको छ । निर्माण कम्पनीबाट काम सकिएको पत्र प्राप्त भएको छ । निर्माण कार्यको अन्तिम नापजाँचको कार्य बाँकी छ । सबै प्रक्रिया पूरा भएपछि स्विमिङ पुल सञ्चालनमा आउँछ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार, सुशासन
ट्याग : ## सिभिल हस्पिटल, #भ्यू टावर, #विष्णु भण्डारी आयोजना प्रमुख, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, #स्विमिङ पुल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com