विपन्न नागरिक औषधि उपचार कार्यक्रमा २६ हजार १८८ जना आवद्ध 


काठमाडौं । नागरिक राहत, क्षति पूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधि २०६८ को दफा १३ मा रहेको विपन्न नागरिकलाई औषधि उपचार वापत आर्थिक सहायता उपलब्ध गराउन नेपाल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत

एक छुटै कोष स्थापना गर्ने व्यवस्था अनुसार विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५ तयार पारिएको हो । उक्त निर्देशिकाले कडा प्रकारका आठ रोग लागेका विरामीहरुलाई औषधि उपचार सहायता दिने उल्लेख गरेको छ ।

आठ रोग भन्नाले मुटुरोग, मृगौलारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया रहेका छन् । यी आठ प्रकारका रोगीहरुलाई सेवा दिन भन्दै देशभरका ९९ वटा अस्पतालहरु सूचिकृत भएका छन् । सूचिकृत मध्ये ८० वटाले हाल स्वास्थ्य सेवा दिइरहेका छन् । त्यस्तै ८० वटा सेवा प्रदायक सस्था मध्ये ५ वटा भने नविकरणको प्रक्रियामा रहेको नर्सिङ तथा सामाजिक सुरक्षा शाखाले जनाएको छ । सेवा प्रदान नगर्ने अस्पतालहरुको संख्या ६ वटा रहेको छ ।

माहाशाखाको पछिल्लो तथ्यांक अनुसार देशभर विपन्न नागरिकलाई औषधि उपचार वापत सेवा लिनेहरु २६ हजार १ सय ८८ जना र ७६ जनाले प्रत्यारोपण सेवा लिएका छन् । यो संख्या अस्पताल सूचिकृत सँगै बढ्दै जानथालेको छ । तर, अझै वेड नपाएर धेरै सूचिकृत नभएका अस्पतालहरुमा सेवा लिन पुगेका छन् ।

विपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत सरकारले विभिन्न ८ प्रकारका रोगका बिरामीका लागि १ लाख रुपैयाँ बराबरको औषधि उपचार सेवा निःशुल्क गरिने व्यवस्था गरेको छ । त्यस्तै मृगौला प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई मृगौला प्रत्यारोपण गर्दा सूचिकृत अस्पतालमार्फत ४ लाख रुपैंया बराबरको औषधि उपचार सुविधासमेत उपलब्ध गराउँदै आएको छ । योबाहेक मिर्गौला डायलाइसिसलाई आजिवन सेवा दिदै आएको छ ।

सरकारले यस वर्ष २ अर्व ५० करोड बढी रकम दिएको छ । तर, करिब २ अर्व वितरण भइसकेको छ । अब पुष यताको रकम वितरण हुन बाँकी छ । आठ कडा  रोगमा मुटुका ३१०४, क्यान्सर ११५०३, मिर्गौला ९६०५, पार्किन्सन्स ४८, अल्जाइमर्स १३, हेड इन्जुरी २८२, स्पाइनल इन्जुरी ६०१ , सिकलसेल एनिमिया १०३२ र प्रत्यारोपण गरिएका ७६ जना छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #क्षति पूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधि २०६८, #नागरिक राहत, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com