चरिकोट र भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणले जन्माएको कानुन


काठमाडौं । नेपाल चिकित्सक संघले हिजो राष्ट्रपतिद्वारा जारी भएको अध्यादेशकोबारेमा आज पत्रकार सम्मेलन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको सिफारिसमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी भएपछि यसलाई संघले ठूलो उपलब्धि मानेको छ ।

विगतमा चरिकोट र भेरीमा अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको ‘तालिबानी’शैलीको हमलाबाट पाठ सिकेर नेपाल चिकित्सक संघको नेतृत्व गरिरहेका डा. लोचन कार्कीले स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने वा शारीरिक रुपमा चोट पुर्‍याउने व्यक्तिलाई बिना धरौटी थुनामा राख्नुपर्ने कानुन ल्याउने एजेण्डा अघि सारेका थिए । चरिकोट र भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको ‘तालिबानी’शैलीको आक्रमणलाई निरुत्साहित गर्न डा. कार्कीले नेपालमा यस्तो कानुन ल्याउनु पर्ने एजेण्डा अघि सारेका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने वा शारीरिक रुपमा चोट पुर्‍याउने तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने नयाँ व्यवस्थासहितको अध्यादेश ल्याएपछि नेपाल चिकित्सक संघ र त्यो संस्थाका अध्यक्ष डा. कार्की निकै उत्साहित भएका छन् । यो कानुनलाई संघले इतिहासकै ठूलो उपलब्धिलका रुपमा लिएको छ ।

 

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले चिकित्सक संघको यो मागलाई बेवास्ता गर्दै स्वास्थ्य संस्थामा आगजानी, तोडफोड कुटपिट, तालाबन्दी वा उपचारको क्रममा बाधा पारे पुर्पक्षको लागि थुनामा राखी २ देखि ५ वर्षसम्म कैद वा २ देखि ५ लाख जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान मात्र राखेर अध्यादेश ल्याएको थियो । देउवा नेतृत्वको सरकारले भने चिकित्सक संघको मागलाई हुबहु सम्बोधन गरेर स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने वा शारीरिक रुपमा चोट पुर्‍याउने व्यक्तिलाई पुर्पक्षका लागि थुनामा राखी तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने नयाँ व्यवस्थासहितको  अध्यादेशमा ल्याएको हो ।

नेपाल चिकित्सक संघले यो उपलब्धिका विषयमा जानकारी गराउन आज पत्रकार सम्मेलन गरेको हो । चरिकोट र भेरीमा भएको स्वास्थ्यकर्मीमाथिको हमलाले यो कानुनको विषयमा आँखा खोलिदिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की बताउँछन् । यो घटनापछि नेपालका बलियाे कानुन आउनु पर्छ भन्ने एजेण्डा अघि सारिएको बताउँदै उनले भने, ‘अस्पतालमा लासमाथिकाे राजनीति बढ्दै गयाे । पेशा बनाएर हिँडेकाले स्वास्थ्यकर्मीमाथि हातपात गर्ने बार्गेनिङ गरेर पैसा लिएर जाने गिराेह फेला पर्न थालेपछि यसलाई निरुत्साहित गर्न हामीले याे कानुन चाहेका थियौं । वर्तमान सरकारले अध्यादेश ल्याएर हाम्रो मागलाई उचित सम्बोधन गरेको छ ।’,

 

अस्पतालमा घटना घटाउने व्यक्तिलाई आफूहरुले गैर जमानत हिरासतमा राखेर छानबिन गर्नु पर्छ भन्ने आवाज उठाउदै आएको भन्दै अध्यक्ष डा. कार्कीले अहिले अध्यादेशका रुपमा आएकाे कानुनले त्यसलाई सम्बोधन गरेेको स्पष्ट पारे । यसकाे जस पत्रकार, नेपाल सरकार र सबै स्वास्थ्यकर्मीहरुमा जाने उनको भनाइ छ । यो कानुन ल्याउन सहयोग गर्ने प्रधानमन्त्री, प्रधानमन्त्रीको स्वास्थ्य क्षेत्र हेर्ने टिम, राष्ट्रपति, कानुन मन्त्रालय सबैलाई अध्यक्ष डा .कार्कीले धन्यवाद समेत ज्ञापन गरेका छन् ।

अब चिकित्सकले जाेखिम माेलेर पनि सेवा दिने उनको विश्वास छ । ‘विगतमा सुरक्षा सम्बन्धि कानुन नभएकाले गम्भीर बिरामी अस्पतालल लिन छाडिसकेका थिए । अब सहजै लिएर स्वास्थ्यकर्मीले बिरामीको सेवा गर्छन् । चिकित्सकले गलत र लापरबाही गरे कारबाही हुन्छ’, अध्यक्ष डा. कार्कीले भने । याे अध्यादेशको आयु ६ महिना मात्रै हुने अब संसदबाट समेत अनुमोदन गराएर स्थायी कानुन आउने डा. कार्कीको विश्वास छ । त्यसका लागि आफू निरन्तर लागि पर्ने उनको भनाइ छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #अध्यक्ष डा. लोचन कार्की, #नेपाल चिकित्सक संघ, #बिनाधरौटी पुर्पक्षमा राख्ने अध्यादेश, #स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com