डा. लोचन कार्कीको मेडिकल म्युजियम बनाउने योजनामा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको साथ


काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको एनएमए मेडिकल म्युजियम बनाउने महत्त्वकांक्षी योजनाले सार्थकता पाउने भएको छ ।

डा. कार्कीको  चिकित्सा संग्रहालय बनाउने योजनामा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले साथ दिएका छन् । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पर्यटकीय चिकित्सा संग्रहालय (एनएमए मेडिकल म्युजियम) पूर्वाधार निर्माणका लागि आवश्यक बजेट  व्यवस्थापन गरिएको बताए । चिकित्सा संग्रहालयले नेपालमा मेडिकल टुरिजमको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने पर्यटनमन्त्री श्रेष्ठको विश्वास छ ।

पर्यटनलाई स्वास्थ्य, खेलकुद, कृषिलगायतका विषयमा जोडेर यो क्षेत्रको विकास र विस्तारमा सक्रिय भूमिका खेलिरहेका पर्यटनमन्त्री श्रेष्ठले चिकित्सा संग्रहालयमार्फत नेपालको चिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल हुने विश्वास लिएका हुन् ।

चिकित्सा पेशा तथा क्षेत्रसँग सम्बन्धित ऐतिहासिक सामग्रीहरू, प्रमाण पत्र, पुस्तक र अमूल्य मेडिकलसँग सम्बन्धित उपकरणहरूलगायत अन्य सामग्रीहरू चिकित्सा संग्रहालयमा गएर अवलोकन गर्न सकिने भएकाले यसले मेडिकल टुरिजम  प्रवर्द्धनका लागि विशेष भूमिका खेल्ने उनको भनाइ छ । आर्थिक वर्ष २०७९/०८० सालको बजेटमा ‘मेडिकल म्युजियम’को पूर्वाधार तयार पार्न आवश्यक पर्ने बजेट विनियोजन गरिएको पर्यटनमन्त्री श्रेष्ठले स्पष्ट पारे ।

नेपाल चिकित्सक संघ र उक्त संस्थाका अध्यक्ष डा. लोचन कार्कीले एनएमए मेडिकल म्युजियम बनाउन आवश्यक पर्ने बजेट व्यवस्थापन गरिदिन पर्यटनमन्त्री श्रेष्ठलाई प्रस्ताव पठाएका थिए । नेपालमा मेडिकल पर्यटनका क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमै योगदान पुर्‍याउने सम्भावना देखेपछि उनले संघको प्रस्तावमाथि समर्थन जनाएका हुन् ।

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा प्रयोगमा ल्याइएका विभिन्न ऐतिहासिक पुराना मेडिकल उपकरण तथा अन्य चिकित्सा क्षेत्रसँग सम्बन्धित सामग्रीहरूको संकलन गरी चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा एक नवीनतम चिकित्सा संग्रहालयको स्थापना गर्ने प्रमुख उद्देश्य राखी नेपाल चिकित्सक संघले एनएमए मेडिकल म्युजियम स्थापना गर्न लागेको हो । एनएमएका अध्यक्ष डा. कार्कीले अनुसार यसका लागि आवश्यक पूर्वाधार तयार पार्न झन्डै ५० लाख रुपैयाँ बजेट आवश्यक रहेको छ ।

प्रदर्शनी मार्गस्थित नेपाल चिकित्सक संघका केन्द्रीय कार्यालयमा एनएमए मेडिकल म्युजियम स्थापना गर्न लागिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्कीले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

नेपाल चिकित्सक संघले संघसंस्था, अस्पताल वा व्यक्तिगत तवरबाट प्राप्त ऐतिहासिक मेडिकल उपकरण तथा चिकित्सा सेवामा प्रयोग भइसकेका सामग्रीहरु संकलन गरेर मेडिकल म्युजियममा राख्ने छ । त्यस्ता सामग्री रहेको जानकारी दिए चिकित्सक संघबाटै संकलन गरी उक्त सामग्रीहरू उपलब्ध गराउने संघले संघसंस्था, अस्पताल वा व्यक्तिको नाम र ठेगाना संग्रहालयमा राखी सुरक्षित तवरले प्रदर्शन गरिने संघका अध्यक्ष डा. कार्कीको भनाइ छ ।

संघसंस्था, अस्पताल वा व्यक्तिगत घरमा उपलब्ध भएका ऐतिहासिक सामग्रीहरू, प्रमाण पत्र, पुस्तक र अमूल्य मेडिकलसँग सम्बन्धित उपकरणहरूलगायत अन्य सामग्रीहरू नेपाल चिकित्सक संघलाई यथाशीघ्र उपलब्ध गराइदिन पनि संघका अध्यक्ष डा. कार्कीले अनुरोध गरेका छन् ।

नेपालमा मेडिकल टुरिजमको सम्भाव्यताको विषयमा निरन्तर छलफल गरिरहेका बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठ नेपाल चिकित्सक संघले स्थापना गर्न खोजेको मेडिकल म्युजियमलाई विशेष योगदान पुर्‍याउने काम गरेका छन् । पर्यटनमन्त्री श्रेष्ठको यो कदमलाई नेपालको चिकित्सा क्षेत्रले सधै सम्झिरहने देखिन्छ । डाइनामिक नेतृत्वबाट मात्र यस्तो काम हुने चिकित्सा क्षेत्रका अगुवाहरू बताउँछन् ।

एनएमएको नेतृत्व गरेका डा. कार्की र बागमती प्रदेशका पर्यटनमन्त्री दुबै ऊर्जाशील व्यक्ति हुन् । ऊर्जाशील व्यक्तिहरू मिलेर मेडिकल टुरिजमका क्षेत्रमा उत्साहजनक काम गर्न खोजेको देखिन्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा
ट्याग : #एनएमए मेडिकल म्यूजियम, #डा. लोचन कार्की, #नेपाल चिकित्सक संघ(एनएमए), #पर्यटकीय चिकित्सा संग्रहालय, #बजेट, #बागमती प्रदेश सरकार, #संस्कृति तथा पर्यटनमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com