चिकित्सकको भूमिकामा मोरङका गाउँ छिरे शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला चिकित्सकको भूमिकामा मोरङका गाउँ-गाउँमा पुग्न थालेका छन् । यसअघि एमाले नेता लालबाबु पण्डितसँग पराजित भएको मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर-६ का गाउँ-गाउँमा पुगेर डा. शेखर कोइराला जनताको स्वास्थ्य परीक्षण गर्न थालेका हुन् ।

मोरङको सुन्दर हरैचा नगरपालिकाका विराटचोकलगायतका ठाउँमा पुगेर डा. शेखरले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका हुन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेका जेष्ठ नागरिकको चोक-चोकमा गएर स्वास्थ्य परीक्षण गर्ने रणनीति लिएको देखिन्छ । ब्लड प्रेसर मनिटर, आला जस्ता आवश्यक स्वास्थ्य परीक्षण उपकरण लिएर डा. शेखर मोरङमा गाउँ-घर क्लिनिक चलाउन व्यस्त देखिए ।  दुई सय बढी जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिसकेको डा. शेखरको सचिवालयले जनाएको छ ।

कोरोनाको समयमा पनि आफ्नो क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा सक्रिय देखिएका डा. शेखर फेरि स्वास्थ्य उपचारमा सक्रिय बनेका छन् । मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने राजनीति दलहरुबीच छलफल चलिरहँदा उनी निर्वाचन क्षेत्रमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणमा केन्द्रित देखिन्छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको संस्थापक उपकुलपति रहेका डा. शेखर राजनीतिमा सक्रिय भएसँगै चिकित्सा पेशामा निष्क्रिय थिए । तर कोभिड-१९ को महामारीदेखि फेरि स्वास्थ्य परीक्षणमा सक्रिय हुन थालेका छन् ।

डा. शेखरले मतदाता र जेष्ठ नागरिकको स्वास्थ्यका साथै उक्त निर्वाचन क्षेत्रमा आफ्नो अवस्थाको विषयमा समेत परीक्षण गर्न थालेका छन् । राष्ट्रिय सभाका पूर्व सदस्य रमेशजंग रायामाझीले उक्त क्षेत्रबाट चुनाव लड्ने उद्‌घोष गरेसँगै डा. शेखरमाथि दबाव पर्न थालेको छ । उनले मतदाताको स्वास्थ्य र मन एकैपटक परीक्षण गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचनमा काठमाडौं, धरान लगायतका ठाउँमा जनताले परिर्वतन खोजेको पुष्टि गरेका छन् । जनताले नेतालाई बदलिन चेतावनी दिँदै नबदलिए आफूहरूले बदलिदिने सन्देश दिएका छन् । यो सन्देशलगत्तै डा. शेखरले राजनीतिलाई सेवामा जोडेर नयाँ शैलीले राजनीतिक गर्ने रणनीति अपनाएको देखिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #डा. शेखर कोइराला, #निर्वाचन, #मोरङ, #स्वास्थ्य परीक्षण

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com