नेपालमा पनि ‘मंकीपक्स’, टेकुमा उपचार हुँदै


काठमाडौं । विश्वलाई आतंकित पारिरहेको ‘मंकीपक्स’ भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामी नेपालमा फेला परेका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार ‘मंकीपक्स’ भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामी अस्पतालमा भर्ना भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल भित्रिएका एक युवकलाई ‘मंकीपक्स’ भाइरसको आशंका गरेर सरुवा रोग अस्पताल टेकुमा पठाएको हो । उनलाई अस्पतालले क्याबिनमा भर्ना गरेर उपचार गरिरहेको अस्पताल स्रोतले स्वास्थ्य लाइभलाई जानकारी दियो । ती युवककोे ढाँड र हातमा ‘मंकीपक्स’ भाइरसको जस्तो देखिने राता विविरा प्रशस्तै रहेको र ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरिएको अस्पतालका चिकित्सकहरू बताउँछन् ।

‘झट्ट हेर्दा दुबईबाट आएका २६ वर्षीय तामाङ थरका ती युवकमा ‘मंकीपक्स’ भाइरसको लक्षण जस्तो देखिन्छ । ७ दिनदेखि लगातार ज्वरो आइरहेको छ । ‘मंकीपक्स’ भाइरसको परीक्षण नेपालमा नहुने नभएकाले यो विषयमा के गर्ने भनेर छलफल भइरहेको छ । बाहिर पठाएर परीक्षण गरेपछि मात्र यो विषयमा थप प्रस्ट पार्न सकिन्छ ।’, सरुवा रोग अस्पताल टेकुका एक चिकित्सकले स्वास्थ्य लाइभसँग भने ।

‘मंकीपक्स’ भाइरस पत्ता लगाउन भारत अथवा अष्ट्रेलिया पठाउनु पर्ने भएकाले यो विषयमा टेकुका चिकित्सकहरु अल्मलिएको देखिन्छ । यो पत्ता लगाउन पानीको फोका भएको छालानै पठाउनु पर्नेमा त्यो सुकेकाले पनि चिकित्सकहरु अल्मलमा परेका हुन् । ज्वरो आउँदै पठाउनु भन्ने कुरा आएकाले त्यो विषयमा टेकुका चिकित्सकहरु छलफलमा जुटेका छन् । मलेरिया, कालाजार जस्ता नेपालमै हुने परीक्षण गरिसकेपछि ‘मंकीपक्स’ परीक्षण गर्न बाहिर पठाउने तयारी भइरहेको अस्पतालका एक चिकित्सकले स्वास्थ्य लाइभलाई जनाए ।

कोरोनाको पार नपाउँदै नेपाली जनतालाई ‘मंकीपक्स’को आशंका गरिएका बिरामीले थप समस्यामा पार्ने सम्भावना देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #'मंकीपक्स’, #टेकु अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com