स्वास्थ्य लाइभ प्रभाव

इन्टीग्रेटेड हस्पिटल वेस्ट म्यानेजमेन्ट सिष्टम खरिद रद्द, राज्यको १९ कराेड जाेगियाे


काठमाडौं । मेडिकल माफिया विशाल पण्डितकाे दबाबमा उनलाई मात्रै मिल्ने पुरानाे स्पेकका आधारमा खाेलिएकाे १९ कराेडकाे टेन्डर रद्द भएकाे छ । ७ वटा इन्टीग्रेटेड हस्पिटल वेस्ट म्यानेजमेन्ट सिष्टम खरिद गर्न स्वास्थ्य मन्त्रालयले पण्डितका लागि दातासँग रकम मागेर टेन्डर खुलाएकाे थियाे ।

स्वास्थ्य लाइभले २२ असारमा ‘माफिया’को स्वार्थमा करोडौंको टेन्डर, विशाल पण्डित भन्छन्, ‘६ महिनादेखि कराउँदा बल्ल खोलिदिए’ शीर्षकमा समाचार सार्वजनिक गरेकाे थियाे । समाचार सार्वजनिक भएकाे २४ घण्टा नपुग्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडाे आदेशमा ठेक्का रद्द गरिएकाे एक उच्च अधिकारीले स्वास्थ्य लाइभलाई बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पतालको पूर्वाधार र जनशक्ति नै तयार नभइ  १९ करोडको उपकरण किनेर ‘डम्प’ गर्न लागेका थिए । पण्डितको सेटिङमा स्वास्थ्य मन्त्रालयले बिना पूर्वाधार र जनशक्ति इन्टीग्रेटेड हस्पिटल वेस्ट म्यानेजमेन्ट सिष्टम खरिद गर्न लागेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा शिलान्यास भएका ३ सय ९६ वटा स्थानीय तहका आधारभूत अस्पतालमध्ये एउटा पनि निर्माण सम्पन्नको चरणमा देखिँदैनन् । दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइने भनिएका ती अस्पतालमध्ये अधिकांश अस्पताल निर्माणको सुरुवात समेत हुन सकेको छैन । सय वटा हाराहारीमा निर्माणाधीन अस्पताल परियोजना सम्पन्न हुनका लागि अझैं डेढ दुई वर्ष लाग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । तर इन्टीग्रेटेड हस्पिटल वेस्ट म्यानेजमेन्ट सिष्टम खरिद गर्न भने सरकारले हतारो लागेकाे थियाे ।

मुलुक आर्थिक संकटको चपेटामा परिरहेको बेला मेडिकल माफिया पण्डितको सेटिङमा १९ करोडको उपकरण खरिद गर्न लगिएको थियो । ठेक्का प्रक्रिया रद्द भएसँगै उक्त पैसा जोगिएको स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com