विश्वस्तरीय ‘एनएमए मेडिकल म्युजियम’ बनाउन पर्यटनमन्त्री श्रेष्ठको आग्रह


काठमाडौं । बाग्मती प्रदेशका माननीय संस्कृती तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ विश्वस्तरीय ‘एनएमए मेडिकल म्युजियम’ बनाउन आग्रह गरेका छन् । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले बनाउन खोजेको चिकित्सा संग्रहालय (एनएमए मेडिकल म्युजियम)को विषयमा जानकारी लिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, उपाध्यक्ष अनिल बिक्रम कार्की लगायतका पदाधिकारीसँग भेटेर पर्यटनमन्त्री श्रेष्ठले चिकित्सा संग्रहालय (एनएमए मेडिकल म्युजियम)को विषयमा चासो राखेका हुन् ।  प्रदेश सरकारले नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय भृकुटीमण्डपस्थित चिकित्सा संग्रहालय (एनएमए मेडिकल म्युजियम) बनाउन ५० लाख बजेट विनियोजन गरेको छ । संघका अध्यक्ष डा. कार्कीको पहलमा एनएमए मेडिकल म्युजियम निर्माणका लागि पर्यटनमन्त्री श्रेष्ठले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।

प्रदेश सरकारको सहयोगमा चिकित्सक संघले बनाउन खोजेको एनएमए मेडिकल म्युजियम निर्माणस्थलको अवलोकन गर्दै पर्यटनमन्त्री श्रेष्ठले यसले नेपालमा मेडिकल टुरिजम प्रवर्द्धनका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिए ।  मेडिकलका माध्यमद्वारा पर्यटन प्रवर्द्धन गर्ने किसिमका कार्यक्रम आफूले अघि उनले सारेको बताए । स्वास्थ्य पार्क, चिकित्सा संग्रहालय, चिकित्सा पर्यटन जस्ता क्षेत्रको विकास र विस्तारलाई प्रदेश सरकारले उच्च प्राथमिकता राखेको पर्यटनमन्त्री श्रेष्ठले धारणा राखे । मेडिकल टुरिजमलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले जस्तोसुकै सहयोग गर्ने र त्यसका लागि नेपाल चिकित्सक संघसँग सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले तत्काल एनएमए मेडिकल म्युजियम निर्माणको कार्य अगाडि बढ्ने बताए ।  एनएमए मेडिकल म्युजियम बनाउन ५० लाख बजेट विनियोजन गरेकोमा पर्यटनमन्त्री श्रेष्ठलाई धन्यावाद दिँदै अध्यक्ष कार्कीले म्युजियममा मेडिकल सम्बन्धी पुराना दस्तावेज र सामान राखिने जानकारी गराए । वीर अस्पतालसहितका नेपालका अस्पतालहरूमा रहेका पुराना सामग्रीहरू संकलनको कार्य भइरहेको उनको भनाइ छ । मेडिकल म्युजियमको पूर्वाधार तयार भएपछि ती सामग्रीहरू राखिने अध्यक्ष डा. कार्कीले बताए । एनएमए मेडिकल म्युजियमका लागि बलेट प्रुफ सिसासहितको पूर्वाधार तयार पारिने उनले सुनाए ।

संघका उपाध्यक्ष अनिल विक्रम कार्कीले पनि एनएमए मेडिकल म्युजियम पूर्वाधार निर्माणका लागि सहयोग गरेकोमा पर्यटनमन्त्री श्रेष्ठलाई धन्यवाद दिए । उनले चिकित्सा संग्रहालय अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै संघले त्यसलाई स्तरीय बनाउने स्पष्ट पारे ।

उपाध्यक्ष डा. कार्कीले नेपाल चिकित्सक संघले शुरुवात गरेको एनएमए मेडिकल म्युजियमको निर्माणका लागि ५० करोड दिने प्रदेश सरकारको निर्णयलाई स्वागत गर्दै भावी दिनमा पनि थप सहयोग र सहकार्यको अपेक्षा गरे ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा
ट्याग : #अध्यक्ष डा. लोचन कार्की, #उपाध्यक्ष डा. अनिल बिक्रम कार्की, #एनएमए मेडिकल म्युजियम, #नेपाल चिकित्सक संघ, #बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय, #संस्कृति तथा पर्यटनमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com