तुइनमा जनताको ज्यान जोखिममा, राज्यको ढुकुटीमा नेताको रजाइँ


काठमाडौं । पश्चिम नेपालका विभिन्न नदी/खोलामा तुइन विस्थापित भएर झोलुङ्गे पुल नबन्दा जनताको ज्यान जोखिममा पर्दै आएको छ । तुइन चुडिएर वर्षोंनी मान्छेको ज्यान जाने गरेको छ । तर नागरिकको ज्यानमारा तुइन व्यवस्थापन गर्न छाडेर मन्त्री, मुख्यमन्त्रीहरु राज्यको ढुकुटीमाथि परिवारको नाममा रजाइँ गरिरहेका छन् ।

यसको पछिल्लो उदाहरण हो गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली र शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ ।

मुलुक आर्थिक संकटको भुमरीमा परिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र नेताहरू राज्यको ढुकुटी बावु-आमा र परिवारको नाममा रजाइँ गर्न व्यस्त देखिन्छन् ।

गण्डकीका मुख्यमन्त्री नेपालीले मुख्यमन्त्री पोखरेलले बुवा गोवर्द्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका-१० मा खोलिएको कोषका लागि ५० लाख रूपैयाँ विनियोजन गरेर तुइनमा ज्यान जोखिममा राखेर नदी तरिरहेका नागरिकलाई जिस्काएका छन् । उनले दमौली अस्पतालमा रहेको ‘गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ स्थापनाको सम्भाव्यता अध्ययन गर्न १० लाख रुपैयाँ छुट्याइएका छन् । बुवाको नाममा राज्यको ढुकुटीमाथि रजाइँ गर्ने मुख्यमन्त्री नेपालीको अभिष्ट देखिन्छ ।

मुख्यमन्त्री नेपालीको यो कदमले आँखा उपचार केन्द्रको अध्ययन गर्नुभन्दा पहिला आफ्नै आँखाको उपचार गराउन जनताले सुझाव दिन थालेका छन् । हिन्दी फिल्मका चर्चित खलनायक अमरिश पुरीको जस्तै रुपरंग भएका मुख्यमन्त्री नेपालीले उनको जस्तै प्रदेश सरकारमा बसेर भिलेनको रोल खेलेको सामाजिक सञ्जालमा व्यंग्य सुरु भएको छ ।

गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ आफ्नै बावु-आमाको नाममा राज्यको ढुकुटीबाट १ करोड विनियोजन गर्न सफल भएका छन् ।

मन्त्री हुनुभन्दा अगाडि प्रहरीलाई देखाइदिन्छु भनेर धम्की दिँदै हिंड्ने श्रेष्ठले अर्थमन्त्रीलाई धम्क्याएर आमा वुवाको नाममा खोलिएको  ‘पुननारायण-धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट’ लाई ५० लाख र बुवाका नाममा खोलिएको कोषमा ५० लाख रूपैयाँ बजेट राख्न लगाएका छन् ।

सार्वजनिक ‘इमेज’ राम्रो नभएका श्रेष्ठलाई कांग्रेसले शिक्षा र सामाजिक विकास मन्त्री बनाइदिएपछि उनले राज्य कोषको दुरुपयोग गरेर जनतालाई देखाइ दिएका छन् । उनले सडकमा प्रहरीमाथि जस्तै राज्यको ढुकुटीमा पनि गुण्डागर्दी चलाएका छन् । मन्त्री श्रेष्ठले राज्यको ढुकुटी स्वास्थ्य, शिक्षा जस्ता सामाजिक विकास काममाभन्दा आफ्नो बावु- आमको नाममा दुरुपयोग  गरेका हुन् । यद्यपि जनस्तरबाट चौतर्फी विरोध भएसँगै मुख्यमन्त्री नेपाली, मन्त्री श्रेष्ठलगायतले परिवारका नाममा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

यता राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता पियारी थापाले पनि आफ्नै कोषका लागि ६० लाख बजेट हाल्न लगाएको पाइएको छ । पियारी संरक्षक र उनका श्रीमान हेमराज पुन ‘आश्रम’ अध्यक्ष भएको कोषमा प्रदेश सरकारबाट १ करोड बढी बजेट लगिसकेको खुल्न आएको छ ।

पियारीको उक्त व्यक्तिगत कोषमा गण्डकी प्रदेश सकारले गत आर्थिक वर्ष १० लाख, चालु आर्थिक वर्ष ५० लाख र आगामी आर्थिक वर्षका लागि ६० लाख रूपैयाँ बजेट दिएको छ । संघीयता विरोधी एजेण्डा बोकेर हिंडेको राष्ट्रिय जनमोर्चाकी नेतृ पियारीले संघीयताकै मुख्य कडीको रुपमा रहेको प्रदेश  सरकारबाट भरपुर व्यक्तिगत फाइदा लिन सफल भएकी छिन् । मुख्यमन्त्री, मन्त्री र नेताहरूले प्रदेश सरकारबाट राज्यको ढुकुटी परिवारको नाममा रजाइँ गर्न थालेपछि प्रदेश संरचनाको औचित्यमाथि नै गम्भीर प्रश्न खडा भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #गण्डकी प्रदेश, #मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, #सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com