एमालेको स्वास्थ्य विभागमा न्याम्सको रजिष्ट्रार देवानदेखि मेडिकल काउन्सिलका अधिकारीसम्म


काठमाडौं । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागको सदस्यमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)की रजिष्ट्रार प्रमिला देवानदेखि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीसम्मको नाम परेको छ ।

एमाले नेता योगेश भट्टराई नेतृत्वमा गठन भएको एमालेको स्वास्थ्य तथा जनसंख्या विभागमा न्याम्सको रजिष्ट्रार देवानदेखि मेडिकल काउन्सिलको रजिष्ट्रार अधिकारीसम्मको नाम परेको हो ।

एमाले स्वास्थ्य विभागका एक सदस्यका अनुसार मोरङ स्थायी ठेगाना भएका डा. कृष्ण अधिकारी मेडिकल काउन्सिलका वाहलवाला रजिष्ट्रार हुन् । इलाम ठेगाना उल्लेख भएकी प्रमिला देवान न्याम्सकी रजिष्ट्रार हुन् । उनी पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङकी बहिनी समेत हुन् । उनीहरूलाई पदीय मर्यादाविपरीत एमाले पार्टीको स्वास्थ्य विभागको सदस्यमा मनोनित गरिएको हो । त्यस्तै स्वास्थ्य सेवाको दसौं तहका कर्मचारी डा. झलक गौतम (पर्वत)लाई पनि एमाले स्वास्थ्य विभागको सदस्यमा मनोनित गरिएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत कै मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत डा. अनिल भट्टराई पनि एमाले स्वास्थ्य विभागको सदस्यमा मनोनित भएका छन् । उनी एमालेबाट निर्वाचित पर्वतका पूर्व सांसद कृष्ण प्रसाद भट्टराईका छोरा हुन् ।

माओवादी स्वास्थ्य विभागको सदस्यमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ गुणराज लोहनी (जीआर लोहनी)र गुणनिधि शर्मा (जीएन शर्मा)लाई मनोनित गरेपछि निकै विवादित बनेको थियो । यो विषयमा स्वास्थ्य लाइभले समाचार प्रकाशित गरेपछि माओवादीको स्वास्थ्य विभाग प्रमुख कल्पना धमलाले नाम नै हटाएकी थिइन् । अहिले फेरि एमालेले सरकारी जिम्मेवारीमा रहेका देवान, अधिकारी र गौतमलाई स्वास्थ्य विभागको सदस्य बनाएको छ ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभागमा मनोनित सदस्यहरु

क्याटेगोरी : समाचार
ट्याग : #डा. कृष्ण अधिकारी मेडिकल काउन्सिल रजिष्ट्रार, #नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग, #प्रमिला देवान न्याम्स रजिष्ट्रार, #योगेश भट्टराई, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com