कोभिडमा रवीन्द्र मिश्र निर्वाचन क्षेत्रमा नगएकै हुन् ?


काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले विवेकशील साझाका नेता रवीन्द्र मिश्रप्रति लक्षित गर्दै ‘त्यत्रो कोभिड हुँदा, अरु आपत पर्दा, कसैलाई समस्या हुँदा कहिँ कतै देखा पर्‍यो’, भन्ने अभिव्यक्ति दिएका छन् ।

शनिबार काठमाडौंमा जनताका विभिन्न समस्या बुझ्न जाँदा उनले मिश्रमाथि कोभिड जनतालाई आपत पर्दा देखा नपरेको आरोप लगाए । २०७४ सालमा निर्वाचनमा प्रकाशमान सिंहलाई आच्छु-आच्छु पारेका रवीन्द्र मिश्रमाथि चुनावपछि निर्वाचन क्षेत्र नटेकेको आरोप लाग्दै आएको छ । फेरि पनि प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर एकबाट चुनाव उठ्ने घोषणा गरेका मिश्रमाथि सिंहले गम्भीर प्रश्न खडा गरेका छन् ।

चुनावको बेला ठूल्ठूला कुरा गर्ने र सामाजिक सञ्जालमा आदर्शमा गफ छाँट्ने मिश्रमाथि त्यो क्षेत्रका मतदाताले उठाउँदै आएको सवाल प्रकाशमानले पनि आज उठाएका छन् । कोभिड-१९ को तीव्र संक्रमणको बेला उक्त क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंह र प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले बानेश्वरको रत्नराज्य र बुद्धनगरमा आइसोलेसन खोलेर जनतालाई सेवा दिइरहँदा मिश्र बेखबर थिए । उनी त्यो बेला एकदिन पनि फिल्डमा देखिएनन् । हाल बागमती प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री रहेका श्रेष्ठले कोभिडमा घरघरमा औषधि पुर्‍याउने र लकडाउन निःशुल्क ‘पठाओ’को काम गरेर जनतालाई सेवा दिएका थिए । मिश्र भने ‘गुप्तवास’ बसेको त्यो क्षेत्रका जनताको गुनासो छ ।

राज्यले अक्सिजन दिन नसकेको अवस्थामा रत्नराज्यमा दिपेन्द्रको पहलमा सञ्चालित आइसोलेसनबाट घरघरमा अक्सिजन सिलिन्डर पुर्‍याउने काम समेत भएको थियो । तर त्यस्तो आपतमा मिश्रको कुनै उपस्थिति देखिएन । राज्यले दिन नसकेको बेला उनीहरूले सिभिल अस्पताललाई डेढ करोडको स्वास्थ्य सामग्री उपलब्ध गराए । यसैबीच मिश्रले फेरि चुनाव लड्ने घोषणा गरेपछि सिंहले उठाएको सवालले तरंग ल्याइदिएको छ ।

अघिल्लो चुनावमा त्यसै क्षेत्रको प्रदेशसभाका ३  वडा वडाबाट ४ हजार भोट ल्याउन सफल समिक्षा बाँस्कोटाले अहिले ३२ वटा वडाबाट ५ सय चानचुन भोट ल्याउनुले पनि जनताले त्यसको मूल्यांकन गरेको देखिन्छ । नेता सिंहले मिश्रप्रति लक्षित गरेर कोभिड र आपत पर्दा जनताको साथमा देखा नपरेको विषयमा उठाएको कुरा गम्भीर र मनन योग्य देखिन्छ । बाँस्कोटाको जस्तै मिश्रको पनि कामको मूल्यांकन गर्ने समय चुनाव भएको त्यो क्षेत्रका जनताको भनाइ छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com