अक्सिजन प्लान्टमा सेटिङ गर्ने थाहा नगरपालिकाका कार्यकारी पुरीको सरुवा रोक्न चलखेल


काठमाडौं । अक्सिजन प्लान्ट खरिदमा सेटिङ गर्ने मकवानपुरको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल  पुरीको सरुवा रोक्न चलखेल भएको छ । पाँच वर्षदेखि थाहा नगरपालिकाको कार्यकारीको भूमिकामा रहेर आर्थिक चलखेल गर्दै आएका पुरीको सरुवा रोक्न पनि चलखेल सुरु भएको हो ।

अन्य नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत एक वर्ष नहुँदै सरूवा गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुरीले ५ वर्षदेखि थाहामा राज गरिरहँदा पनि मौन छ । थाहा नगरपालिकाले आपूर्तिकर्तासँगको सेटिङमा १३ लाख बढी हालेर अक्सिजन प्लान्ट किनेको स्वास्थ्य लाइभले खुलासा गरेपछि प्रमुख प्रशासकीय अधिकृत पुरीलाई सरुवा गर्ने तयारी सुरु भएको थियो । तर उनको सरुवा रोक्न व्यापक चलखेल सुरु भएको खुल्न आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी पुरीलाई सरुवा गर्ने तयारी भइरहेको बताउँछन् । उनले थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरीलाई सरुवा गर्ने प्रक्रिया अघि बढिसकेको बताए । भोलिसम्ममा सरुवा हुने अधिकारीले विश्वास दिलाए ।

पुरीले अक्सिजन प्लान्टसहित थाहा नगरपालिकामा धेरै ठेक्कामा मिलेमतो गरेको आरोप लाग्दै आएको छ । भ्याटसहित ९७ लाख १८ हजार रुपैयाँ (सबभन्दा कम मूल्य) कबोल गर्ने मुनरक इन्टरनेसनलसँग अक्सिजन प्लान्ट खरिद नगरी सेटिङमा १ करोड १० लाख बढी कबोल्नेसँग सुभारम्भ सर्भिस ट्रेडर्स प्रालि ठेक्का सम्झौता गरेको स्वास्थ्य लाइभले सार्वजनिक गरिसकेको छ ।

अक्सिजन प्लान्ट ठेक्का सेटिङमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, नगरपालिकाका बायोमेडिकल इन्जिनियर राजेश्वर कमाली र सुभारम्भका मालिक सोभित प्रसाईको संलग्नता रहेको देखिन्छ । यस्तै ठेक्कामा चलखेल गरेर काठमाडौंमा दुई/तीनवटा घर बनाएको स्थानीयहरुको आरोप छ ।

त्यस्तै सुनसरीको इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला ३ वर्षदेखि निरन्तर त्यहाँ छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा सेवाका कर्मचारी निरौलालाई नियमविपरीत इनरुवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राखेको हो ।  इनरुवा नगरपालिकाका तत्कालीन मेयर राजन मेहताको बदमासी र अनियमिततामा उनको साथ रहँदै आएको आरोप छ । अहिलेका मेयर केदार भण्डरी पनि निरौलाप्रति नतमस्तक बनेको चर्चा छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## वसन्त अधिकारी, #अक्सिजन प्लान्ट ठेक्का सेटिङ, #थाहा नगरपालिका - प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी- ओभर स्टे, #संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, #सरुवा, #सुभारम्भ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com