यी हुन् नर्भिकलाई अनधिकृत कौडीको भाउमा जग्गा भाडामा लगाउने भूमिसुधार अधिकारी


काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पताललाई अनधिकृत कौडीको भाउमा जग्गा भाडामा लगाउने भूमिसुधार अधिकारी लुम्ब प्रसाद शिवाकोटी हुन् । शिवाकोटीले नर्भिकलाई वार्षिक ३७ हजार ९ सय ८९ रुपैयाँ भाडा तिर्ने गरी अनधिकृत ढंगले कौडको भाउमा भाडामा लगाउनु पर्छ ।

सरकारी जग्गा निजी क्षेत्रलाई लिजमा दिँदा प्रतिस्पर्धाका आधारमा स्थानीय तह, सिडिओ कार्यालय, भूमिसुधार मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट निर्णय गराएर दिनु पर्ने हुन्छ । तर तत्कालीन भूमिसुधार अधिकारी शिवाकोटीले काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथलीस्थित सरकारी जग्गा भाडामा लगाउँदा मिलेमतोमा सीधै दिएको देखिन्छ ।

 

२०६५ जेठ १ गतेदेखि लागू हुने गरी २० वर्षका लागि नर्भिक अस्पताललाई दिएको उक्त जग्गा भाडामा लगाउने सम्झौतामा नर्भिकका तर्फबाट वरिष्ठ प्रबन्धक मोहन प्रसाद खनाल र सरकारका तर्फबाट भूमिसुधार अधिकारी शिवाकोटीले हस्ताक्षर गरेको देखिन्छ ।  उक्त सरकारी जग्गा  २० वर्ष अगाडि देखि नै वसन्त चौधरीलगायतको स्वामित्वमा रहेको नर्भिकले हडपेको सम्झौताबाटै पुष्टि हुन्छ ।

हाल अस्ट्रेलियामा रहेका तत्कालीन भूमिसुधार अधिकारी शिवाकोटी भूमि व्यवस्था मन्त्रालय कै निर्देशनमा नर्भिकलाई दिएको दाबी गर्छन् ।

नर्भिकलाई अनधिकृत कौडीको भाउमा जग्गा दिने लुम्ब प्रसाद शिवाकोटी

 

स्वास्थ्य लाइभले नर्भिक अस्पताललाई अनधिकृत कौडीको भाउमा भाडामा दिने तत्कालीन भूमिसुधार अधिकारी शिवाकोटी तीन महिनादेखि निरन्तर खोजिरहेको थियो । उनी अस्ट्रेलियामा रहेको पाइएपछि मन्त्रिपरिषद्को निर्णय बिनै नर्भिकसँग अनधिकृत सम्झौता गरेको विषयमा बुझ्न खोज्दा  मन्त्रिपरिषद्को स्वीकृति नलिएको तथ्य स्वीकारेका छन् ।

‘धेरै वर्ष अगाडिको रहेछ, फाईलमा संलग्न सबै कागजात नहेरी सबै भन्न गाह्रो भयो । मन्त्रालयमा फाईल पठाएको जस्तो लाग्छ । पहिलेदेखि नै सो अस्पतालले प्रयोग गरिरहेको बिक्रीवितरण नभैसकेको जुनसुकै बेलामा सम्झौता रद्द हुन सक्ने गरि दिएको जस्तो छ । मन्त्रालयको स्वीकृति पनि होला सर । म अहिले बिरामी छु, छिट्टै फर्किन लागेको छु । त्यहाँ आएर थप कुरा भनौंला’, तात्कालीन भूमिसुधार अधिकारी  शिवाकोटीले स्वास्थ्य लाइभसँग भने ।

नर्भिक अस्पतालले पहिलादेखि नै प्रयोग गरिरहेको जग्गा भएकाले उक्त अस्पताललाई दिएको भन्ने उनको तर्कले मिलेमतो रहेको प्रस्ट हुन्छ । थापाथली जस्तो महत्त्वपूर्ण ठाउँ ( प्राइम लोकेसन)मा रहेको डेढ रोपनी जग्गा वार्षिक करिब ३८ हजारका दरले भाडामा लगाउनु कौडीको भाउमा दिएभन्दा तलको कुरा हो । मासिक ३ हजारका दरले बिना प्रतिस्पर्धा र मन्त्रिपरिषद्को निर्णय बिनै सरकारी जग्गा भाडामा लगाउने तत्कालीन भूमिसुधार अधिकारी शिवाकोटीमाथि सीधै अख्तियार लाग्ने देखिन्छ ।

नर्भिक अस्पतालका मालिक वसन्त चौधरी भने नर्भिकले सरकारी जग्गा कौडीको भाउमा भाडामा लिएको कुरा मिडियामा नआओस् भनेर रोक्ने खेलमा लागेको जानकारी स्वास्थ्य लाइभले प्राप्त गरेको छ ।

नर्भिकका मालिक वसन्त चौधरी

स्वास्थ्य लाइभसँगको कुराकानीमा तत्कालीन भूमिसुधार अधिकारी शिवाकोटीले मन्त्रालयको निर्णय होला भने तर मन्त्रिपरिषद्को निर्णय थियो भन्न सकेनन् । सेवाग्राहीसँग चर्को पार्किङ शुल्क लिने नर्भिक अस्पतालले २० वर्षदेखि सरकारी जग्गामा रजाइँ गरिरहँदा जिम्मेवार निकायहरू मुकदर्शक बनेर बसेका छन् । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ भने नर्भिकले हडपेको सार्वजनिक/ सरकारी जग्गा सरकार कै स्वामित्वमा ल्याउने काममा लागेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठलाई भेटेर पर्यटनमन्त्री श्रेष्ठले नर्भिकलाई अनधिकृत ढंगले सरकारी जग्गा कौडीको भाउमा भाडामा लगाउने अधिकारीमाथि छानबिन गर्न ध्यानाकर्षण गराएका छन् । रेखाङ्कन लगायतका सबै प्रक्रिया पूरा गरे आफूले फिल्डमा उपस्थित भएर नर्भिकले हडपेको जग्गामा डोजर चलाउने पनि भूमि व्यवस्थामन्त्री श्रेष्ठसँग उनको प्रस्ताव छ । नर्भिकले हडपेको जग्गामा डोजर लगाएर मात्र पुग्दैन अनधिकृत रुपमा कौडीमा दिने नर्भिक र सरकारी अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानबिन गरेर मुद्दा दायर गर्न आवश्यक छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## अख्तियार, ## सरकारी जग्गा, #अनधिकृत कौडीको भाउमा भाडामा, #नर्भिक अस्पताल, #भूमि मन्त्री शशी श्रेष्ठ, #लुम्ब प्रसाद शिवाकोटी, #वसन्त चौधरी, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com