नर्भिक अस्पतालले हडपेको सरकारी जग्गामा ‘डोजर चलाउन’ दुई मन्त्री जुटे


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अनधिकृत हडपेको सरकारी जग्गा खाली गराउन (डोजर चलाउन) दुई मन्त्री जुटेका छन् ।

नर्भिकले डेढ रोपनी सरकारी जग्गा अधिकृत हत्याएर नागरिक लुटिरहेको विषयमा स्वास्थ्य लाइभले खुलास गरेपछि उक्त जग्गा सरकारकै स्वामित्वमा ल्याउन दुई मन्त्रीबीच छलफल भएको छ । त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ र संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठबीच नर्भिकले हडपेको सरकारी/सार्वजनिक जग्गा फिर्ता ल्याउने विषयमा छलफल भएको हो ।

२० वर्षदेखि वसन्त चौधरीलगायतको स्वामित्वमा रहेको नर्भिक अस्पतालले रजाइँ गरिरहेको उक्त डेढ रोपनी सरकारी जग्गामा ‘डोजर चलाउन’ बागमती प्रदेशमा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन् । मालपोत र स्थानीय तहले रेखाङ्कन गरिदिए आफ्नै नेतृत्वमा नर्भिकले हडपेको सरकारी जग्गा खाली गराउने पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ ।

पर्यटनमन्त्री दिपेन्द्रसँगको भेटका क्रममा भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले सरकारी/सार्वजनिक जग्गा संरक्षण गर्ने आफ्नो मुख्य एजेण्डा रहेको भन्दै नर्भिकले हडपेको सरकारी जग्गा फिर्ता ल्याउन विशेष भूमिका खेल्ने विश्वास दिलाइन् । नर्भिकले हडपेको जग्गा फिर्ता ल्याउन जस्तोसुकै कदम चाल्न आफू तयार रहेको उनको भनाइ छ ।

पर्यटनमन्त्री श्रेष्ठले नर्भिकले हडपेको सरकारी जग्गा जतिसक्दो जाँडो फिर्ता ल्याउन र खाली गराउन भूमि व्यवस्थामन्त्रीको ध्यानाकर्षण गराएका हुन् । नर्भिकले हडपेको उक्त जग्गामा स्वास्थ्य पार्क बनाउने पर्यटनमन्त्री श्रेष्ठको योजना रहेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ कित्ता नम्बर २०८५ को १ रोपनी ८ आना १ पैसा १ दाम जग्गा नर्भिक अस्पतालले अनधिकृत भाडामा हत्याएको तथ्य स्वास्थ्य लाइभले फेला पारेको थियो । सरकारी जग्गा भोगाधिकार वा लिज(भाडा)मा लिन मन्त्रिपरिषद्को निर्णयबाट मात्र सकिन्छ । तर, नर्भिक अस्पतालले उक्त जग्गा भूमिसुधार अधिकारी लुम्बप्रसाद शिवाकोटीसँगको मिलेमतोमा अनधिकृत रुपमा भाडामा लिने सम्झौता गरेको खुल्न आएको हो ।

तत्कालीन भूमिसुधार अधिकारी शिवाकोटीले अख्तियारको दुरुपयोग गर्दै मन्त्रिपरिषद्को अधिकार खोसेर मिलोमतोमा ‘प्राइम लोकेसन’को डेढ रोपनी सरकारी जग्गा नर्भिक अस्पताललाई भाडामा दिने सम्झौता गरेको देखिन्छ । आर्थिक चलखेल आधारमा यस्तो बदमासी भएको हुन सक्ने भूमि व्यवस्थापन विभागका अधिकारीहरू बताउँछन् । तत्कालीन अवस्थामा भूमिसुधार अधिकारी शिवाकोटीले अनधिकृत रुपमा गरेेको सम्झौतको पनि छानबिन हुने भूमिमन्त्री श्रेष्ठले स्वास्थ्य लाइभसँग स्पष्ट पारिन् । छानबिनपछि दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउने उनले स्पष्ट पारिन् ।

पर्यटनमन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित भूमाफिया इन्द्र चाम्लिङले हडपेको सार्वजनिक जग्गा संरक्षण गर्न पनि भूमिमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । भूमाफिया चाम्लिङले सरकारी/सार्वजनिक जग्गा हडपेर भाडा खाइरहेको भन्दै उक्त जग्गा सरकारी स्वामित्वमा ल्याउनु पर्ने पर्यटनमन्त्री श्रेष्ठको धारणा छ । नर्भिक अस्पताल, चाम्लिङलगायतले हडपेको सार्वजनिक/ सरकारी जग्गा संरक्षण गर्न तीन तहकै सरकार सक्रिय हुनुपर्ने पर्यटनमन्त्री श्रेष्ठको प्रतिक्रिया छ । यो विषयमा आफूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग पनि कुरा गर्ने उनको भनाइ छ ।

काठमाडौं महानगरपालिका वडा ११ बबरमहलस्थित किङ्कस कलेजसँगै भूमाफिया दिपक मल्होत्राले हडपेको सार्वजनिक जग्गामा डोजर चलाएर फिर्ता ल्याइसकेका पर्यटनमन्त्री श्रेष्ठले नर्भिकले हडपेको जग्गामा डोजर चलाउन खोजेका हुन् । भूमिया मल्होत्राले १५/२० वर्षदेखि ३ रोपनी सरकारी जग्गा हडपेर ओलम्पिया स्कुलसँग लाखौं भाडा खाइरहेका थिए । त्यो तथ्य फेला परेपछि दिपेन्द्रले डोजर लगाएर खाली गराएका हुन् । उक्त जग्गामा पार्क बनाउने उनको तयारी छ ।

भूमाफिया दिपक मल्होत्राले हडपेको जग्गासँगै पूर्व उपसचिव सुरज डोटेलले हडपेको १ रोपनी ८ आना जग्गामा पनि डोजर चलाएर उनले फिर्ता ल्याइसकेका छन् । त्यो ठाउँमा उनकै नेतृत्वमा तारबार लगाउने काम समेत भइसकेको छ । पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले समेत जग्गा हडप्ने डोटेलबाट फिर्ता ल्याएको उक्त जग्गाको निरीक्षण गरेका छन् । सरकारी जग्गा संरक्षण सिंहको समेत विशेष चासो र निर्देशन रहेको पर्यटनमन्त्री श्रेष्ठले सुनाए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० बुद्धनगरको २ रोपनी ३ आना जग्गा पनि पर्यटनमन्त्री श्रेष्ठकै पहलमा फिर्ता आइसकेको छ । भूमाफिया जेएन तण्डुकारलगायतले हडपेको उक्त जग्गामा स्वास्थ्य पार्क बनाउन उनले आवश्यक बजेट समेत विनयोजन गरिसकेका छन् । त्यस्तै भूमाफियाले हडपेको बुद्धनगरकै जोगी कुटीको एक रोपनी जग्गा समेत मुद्दा लडेर सरकारक नाममा ल्याउन पर्यटनमन्त्री श्रेष्ठ सफल भएका छन् । त्यो ठाउँमा पार्क बन्दै छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुल (ओपीएस) लगायतले हडपेको जग्गा समेत सरकारको नाममा फिर्ता आइसकेको छ । ओपिएसले डेढ रोपनी जग्गा हडपेको छ । काठमाडौं महानगरपालिकाबाट मुद्दा लडेर ओपीएसले हडपेको जग्गामा डोजर लगाउने आदेश समेत ल्याइसकिएको छ । अब डोजर लगाउँन मात्र बाँकी छ ।

त्यस्तै बानेश्वर थापागाउँको प्रेमरमण/दिपकरमण उप्रेतीले हडपेको पर्ती जग्गा सरकारको नाममा फिर्ता ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइसकेको उनको भनाइ छ । पाठशाला स्कुलले पार्किङका लागि भाडामा लिएको उक्त जग्गा फिर्ता ल्याउन थापागाउँका स्थानीयहरू एकजुट भएर लागेका छन् ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #नर्भिक अस्पताल, #भूमि मन्त्री शशी श्रेष्ठ, #भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, #सार्वजनिक जग्गा हडप्ने

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com