दुर्गा प्रसाईका भाइ, इन्द्र चाम्लिङलगायतले हडपेको जग्गा फिर्ता गराउन दिपेन्द्र सक्रिय


काठमाडौं । काठमाडौं महानगरपालिका वडा १० स्थित  मेडिकल व्यवसायी दुर्गा प्रसाईका भाई युवराज प्रसाई, भूमाफिया इन्द्र कुमार चाम्लिङलगायतले हडपेको सार्वजनिक जग्गामा डोजर लगाउन पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ सक्रिय बनेका छन् ।

काठमाडौं महानगरपालिका वडा १० धोबीखोला करिडोर देवीनगरस्थित रुद्रमति स्कुलको जग्गा हडपेर मेडिकल व्यवसायी दुर्गा प्रसाईका भाइ युवराजले कम्पाउण्ड तथा दुईवटा सटर हालेका छन् । उनले सरकारी जग्गामा सटर हालेर भाडा खाइरहेको गुनासो आएपछि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ उक्त स्कुलको जग्गा फिर्ता ल्याउने अभियानमा लागेका छन् ।

प्रसाईले मिचेको रुद्रमति स्कुलकै जग्गासँग जोडिएको अर्को सरकारी जग्गामा अष्टमान महर्जनले विगत १० वर्षदेखि ६ वटा सटर हालेर मासिक लाखौं भाडा खाइरहेका छन् । उनले आफ्नो घरसँगै जोडिएको सार्वजनिक जग्गा हडपेर सटर हाली भाडामा लगाएका हुन् । उक्त काठमाडौं महानगरपालिकासँगको सहकार्यमा डोजर लगाएर सार्वजनिक प्रयोग हित तथा प्रयोगमा ल्याउने पर्यटनमन्त्री श्रेष्ठको तयारी छ ।

देवीनगरका शक्तिशाली भूमाफिया इन्द्रकुमार चाम्लिङले हडपेर मासिक ५ लाख बढी भाडा खाइरहेको सार्वजनिक जग्गामा डोजर चलाउन पनि पर्यटनमन्त्री श्रेष्ठ निरन्तर लागिरहेका छन् । भूमाफिया चाम्लिङले सार्वजनिक जग्गा हडपेर ५/७ वटा घर/ टहरा निर्माण गरेका छन् । सार्वजनिक जग्गा हडपेर बनाएको संरचनामा मोटरसाइकल ग्यारेजदेखि मःम पसलसम्मलाई भाडामा दिएर लाखौं भाडा खाइरहेका छन् ।

भूमाफिया चाम्लिङले त्यो ठाउँमा हडपेर सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच कुराकानी भएको छ ।

काठमाडौं क्षेत्र नम्बर १ (क)बाट निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका पर्यटनमन्त्री श्रेष्ठ आफ्नो क्षेत्रभित्र पहुँचवालाले मिचेको सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियानमा लागेका छन् ।

अनामनगर, देवीनगर, बानेश्वर, बुद्धनगर, थापाथलीलगायतका स्थानमा भूमाफियाले हडपेका सार्वजनिक जग्गा फिर्ता ल्याउन पर्यटनमन्त्री श्रेष्ठ र मेयर शाह सहकार्य गर्ने भएका छन् । इन्द्र चाम्लिङलगायतले हडपेको सार्वजनिक जग्गा मेयर बालेन शाहसँगको सहकार्यमा  तत्काल फिर्ता ल्याइने पर्यटनमन्त्री श्रेष्ठले स्वास्थ्य लाइभलाई जानकारी गराए । ती जग्गा फिर्ता ल्याउने अभियान अब तीब्र गतिमा अगाडि बढ्ने पर्यटनमन्त्री पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ ।

भूमाफिया चाम्लिङले ओमिक्रोनको मौका छोपेर समेत सार्वजनिक जग्गामा संरचना बनाएका थिए । अब भने ती संरचनामा डोजर लगाउन पर्यटनमन्त्री श्रेष्ठ र मेयर शाह तातेका छन् । त्यस्तै अनामनगरस्थित अक्सिडेन्टल स्कुल (ओपीएस)ले हडपेको एक रोपनी बढी जग्गा डोजर लगाएर खाली गराउने समेत तयारी भईरहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अष्टमान महर्जन, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #भूमाफिया इन्द्र कुमार चाम्लिङ, #युवराज प्रसाई, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com