धोबीखोला करिडोरको सार्वजनिक जग्गा हडप्ने दुर्गा प्रसाईका भाइ युवराज के भन्छन् ?


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोरस्थित सार्वजनिक जग्गा हडपेर संरचना बनाएका दुर्गा प्रसाईका भाइ युवराज प्रसाईले राज्यलाई आफ्नो संरचना भत्काएर देखाउन चुनौती दिएका छन् ।

स्वास्थ्य लाइभसँगको कुराकानीमा प्रसाईले सरकारी जग्गामा भएको अतिक्रमण हटाउने मन्त्री-मेयर र अभियान्ता पछाडि हट्ने र आफू अगाडि बढ्ने दाबी गरे । धोबीखोला करिडोरमा आफू जस्ता धेरैले सार्वजनिक जग्गा हडपेको भन्दै उनले सबैको संरचना नहटाए आफ्नोमा डोजर लगाउन नदिने राज्यलाई चुनौती दिएका हुन् ।

युवराज प्रसाईले सार्वजनिक जग्गा हडपेको भनेर आफूविरुद्ध समाचार लेख्नेलाई समाज भडुवाको संज्ञा दिएका छन् । उनले आफूले जस्तै सार्वजनिक जग्गा हडप्न नसकेर पत्रकारले आफूविरुद्ध समाचार लेखेको समेत आरोप लगाएका छन् ।

युवराजले आफूले नम्बरी जग्गा बाटोमा छाडेर सार्वजनिक जग्गा लिएको दाबी गर्दै जग्गा दिन सहमति जनाउने समाजका अगुवाले नै समाचार लेखाएको साक्षेप लगाएका छन् । उनले बाटोमा आफ्नो जग्गा परेकाले सार्वजनिक जग्गा हडपेको हास्यास्पद तर्क गरेका छन् ।

स्वास्थ्य लाइभले दुर्गा प्रसाईका भाइ युवराजले सार्वजनिक जग्गा हडपेको समाचार सार्वजनिक गरेकोमा समेत उनले आपत्ति जनाएका छन् । धोबीखोलाको जग्गा सयौंले हडपेकोमा आफ्नोविरुद्ध मात्र समाचार आएकोमा युवराजको आपत्ति छ । समाचारमा दुर्गा प्रसाईको नाम जोडेको र सानो चाम्लिङको संज्ञा दिएकोमा समेत उनको आक्रोश छ । दुर्गा प्रसाईले विदेशबाट लाश ल्याएको नदेख्ने भाइले सार्वजनिक जग्गा हडपेको मात्रै लेख्ने भन्दै उनले आक्रोश पोखेका हुन् ।

सार्वजनिक जग्गा सक्नेले खाने भन्दै जग्गा हडप्न नसक्नेले मात्र समाचार लेखेर बस्ने युवराजको तर्क छ । युवराजले भद्रा घले लगायतले हडपेको जग्गा नहटाएसम्म आफूले पनि जग्गा नछाड्ने अडान लिएका छन् । धोबीखोला करिडोरमा हडपिएका अन्य जग्गा खाली नगराई आफ्नोमा मात्र आए आफू चुप लागेर नबस्ने उनको भनाइ छ । युवराजको अभिव्यक्ति सुन्दा उनी दादागिरी शैलीमै सार्वजनिक जग्गा कब्जा गरिरहने पक्षमा देखिन्छन् ।

स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोरस्थित सिट नम्बर १०२११०६०२ को कित्ता नम्बर ४४६ र २१४ को सार्वजनिक जग्गामा युवराजले कम्पाउण्ड र सटर हालेर भाडा भाइरहेका छन् ।  उक्त जग्गा नेपाल सरकारको रहेको स्वास्थ्य लाइभलाई प्राप्त कागजातबाट देखिन्छ । उनीसँगै त्यो कित्ताको केही जग्गामा अष्ट नारायण महर्जनले ५ वटा सटर हालेर भाडा खाइरहेका छन् ।

प्रसाईं र महर्जनलाई काठमाडौं महानगरपालिकाले प्रमाण लिएर उपस्थित हुन पत्र समेत काटिसकेको छ । तर उनै युवराज प्रसाई राज्यलाई नै चुनौती दिन लागिपरेका छन् । उनले स्थानीय वुद्धिजिवीहरूमाथि अभद्र व्यवहार समेत गर्न थालेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, युवराज प्रसाई, इन्द्र कुमार चाम्लिङ, अष्ट नारायण महर्जनले सरकारी/ सार्वजनिक जग्गा हडपेर बनाएको संरचना हटाउने अभियानमा लागेका बेला युवराजले राज्यलाई हटाएर देखाउन चुनौती दिएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का एक डिएसपीका अनुसार सार्वजनिक जग्गा हडपेर संरचना बनाइ भाडा खानु ठगी हो । स्थानीय तहले सरकारी जग्गामा संरचना बनाइ भाडा खाएको प्रमाणसहित पठाए त्यस्ता व्यक्ति उपर सिआईबीले ठगी मुद्दा चलाउने ती डिएसपीको भनाइ छ । युवराज प्रसाईले सार्वजनिक जग्गा हडपेर राज्यलाई चुनौती दिएकाले काठमाडौं महानगरपालिकाले ठगीमा कारबाही गर्न सिआईबीमा लेखि पठाउनु पर्ने स्थानीयहरूको भनाइ छ ।

हेनुहोस् युवराजले हडपेर बनाएको संरचना

 

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #दुर्गा प्रसाई, #धोबीखोला करिडोर सार्वजनिक जग्गा हडप्ने, #पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, #युवराज प्रसाई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com