डेंगुले ११ जनाको मृत्यु

अभियान चलाउन छाडेर डब्ल्यूएचओ र स्वास्थ्य मन्त्रालयका अधिकारी लाजै बिना गोकर्ण रिसोर्टमा 


काठमाडौं । देशभर डेंगुको महामारी फैलिएको छ । घरघरमा डेंगुका बिरामी ज्वरोले लखतरान परेर ढलेका छन् । १२ हजार २१७ जना संक्रमित पुष्टि भइसकेका छन् । जसमध्ये ११ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो मृत्यु हालसम्म कै धेरै भएको बताइएको छ । सन् २०१९ मा आजकै दिन ५५ सय संक्रमित र ६ जनाको मृत्यु भएको थियो ।
देशैभर डेंगु महामारीको रुपमा देखा परेपनि स्वास्थ्य मन्त्रालयलाई यसले छोएको छैन । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा डेंगु देखिए पनि व्यवहारमा कत्तिपनि देखिएको छैन । डेंगुले नागरिक आतंकित भएका छन् । राज्यले डेंगु नियन्त्रणबारे कुनै भूमिका निर्वाह नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र उनका मन्त्रीहरुप्रति प्रतिनिधिसभामै आवाज उठेको छ । तर, यस्ता जनचासोका विषयले न प्रधानमन्त्रीलाई छोएको छ न जनताको स्वास्थ्यको नेतृत्व गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीलाई ।

डेंगुबाट ११ जनाको मृत्यु र हजारौं नागरिक प्रभावित हुँदा स्वास्थ्य मन्त्रालयका सचिवदेखि उच्च अधिकारी सबै पाँचतारे होटलको भातमा रमाइरहेका छन् । स्वास्थ्य लाइभले पटक-पटक कर्मचारीलाई जनताको काम छाडेर भातमा र्याल नकाड्न दबाव दिदै आएको छ । तर, यसले पनि चेत घुरेको छैन । यसको नाइके विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल प्रमुख डा. राजेश पाण्डव हुन् । उनले राष्ट्रिय सभाका अध्यक्षदेखि सभामुख उपसभामुख स्वास्थ्यका सबै जसो कर्मचारीलाई पुच्छर बनाएर हिँडिरहेका छन् । यसले गर्दा डेंगु नियन्त्रणबाहिर गएको छ । पर्याप्त जनचेतना पुगेको छैन । देशमा अन्तर्राष्ट्रिय छबि गिर्दाे छ । पाण्डव नेपाल र नेपालीकाे छवि बिगार्न कम्मर कसेर लागेका छन् ।

गत सोमबार र मंगलबार डब्ल्यूएचओको प्राविधिक सहयोगमा स्वास्थ्य मन्त्रालयले यती ग्रुपको स्वामित्वमा रहेको विवादित गोकर्ण फोरेस्ट रिसोर्टमा भाते कार्यक्रमको आयोजना गरेको थियो । डब्ल्यूएचओले जनस्वास्थ्यकाे विषयमा प्रदेश सभाकाे भूमिका विषायक कार्यक्रम राखेको थियाे । उक्त औचित्यहीन कार्यक्रम निकै गोप्य रुपमा भएको थियो । डेंगु नियन्त्रणमा जुट्ने बेलामा विषय नै नमिल्ने औचित्य नभएको कार्यक्रममा सहभागी भएर स्वास्थ्य सचिव देवकुमारी गुरागाई, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, प्रमुख विशेषज्ञ डा. संगिता कौशल मिश्रा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास, सहप्रवक्ता डा. समिर कुमार अधिकारी लगायतको सहभागीता जनाएको स्रोतले बताएको छ । डेंगु महामारीले जनता छटपटाइरहेका बेला स्वास्थ्यका यी कर्मचारी पाण्डवको भतेरमा देशकै बेइज्जत गरि नतमस्तक बनेर सहभागी भएका छन् । तर मुख्यसचिव शंकरदास बैरागी खनाल यस्ता गैर जिम्मेवार कर्मचारीप्रति बेखबर देखिन्छन् ।

अधिकारीहरु भन्छन्, ‘नेपालमा पछिल्लो समय विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश पाण्डवले ताण्डव देखाइरहेका छन् । भारतीय दूतावासको पावर लगाएर उनले राज्यशक्तिको चरम दुरुपयोग गरिरहेका छन् । यसको पछिल्लो उदाहरण सोमबार र मंगलबार गोकर्ण रिसोर्टमा गरिएको कार्यक्रम पनि हो । उनले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरेका हुन् । स्रोतले बताए अनुसार सबै प्रदेशका सभामुख उपसभामुखहरु समेत कार्यक्रममा सहभागी भएका थिए । सोही कार्यक्रम हो, स्वास्थ्यका उच्च अधिकारी डेंगु नियन्त्रण गर्न छाडेर भाते कार्यक्रममा कमिलाको ताँतीझैं लागेर गएको ।

डेंगु महामारी रोक्न लाग्नु पर्ने डब्लुएचओ र स्वास्थ्यका अधिकारी यसरी रिसोर्टमा ताँती लाग्दा लाज समेत लजाएको छ । स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईलाई यस विषयमा जानकारी लिन खोज्दा उनले फोन अफ गरेर लाज ढाक्न खोजीन् । विगतको गल्ति स्वीकार गर्दै अर्का सचिव डा. रोशन पोखरेल भने जनता संकटमा परेका बेला भात खाने कार्यक्रममा जानु उचित नहुने भन्दै सहभागी नभएको अधिकारीहरु बताउँछन् ।

प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री र मन्त्रालयका सचिवलाई लगाम लगाउन नसक्दा स्वास्थ्यमा अचाक्लि बेथिति बढेको छ । यस्तो बेथिति सिर्जना गर्ने मुख्य व्यक्ति डब्ल्यूएचओका नेपाल प्रमुख पाण्डव हुन् । उनलाई राज्यले स्पष्टिकरण नसोधे स्वास्थ्य क्षेत्र अप्ठ्यारो अवस्थामा पुग्ने मन्त्रालयका कर्मचारीहरु बताउँछन् । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग सेटिङ मिलाएर बिभिन्न काम गर्ने र शक्तिको दुरुपयोग गर्दै आएको डब्ल्यूएचओका कर्मचारीले समेत स्वास्थ्य लाइभलाई बताएका छन् ।

यी तीनवटा फोटोले पनि पाण्डवको ताण्डवलाई थप पुष्टि गर्छ । दुईदिनको कार्यक्रममा उनले गरेको गतिविधि महामारीमा कति पनि सुहाउने छैन । ‘रिसोर्टमा लगेर परेड खेलाएर डेंगु नियन्त्रण हुँदैन’, अधिकारीहरुले भनेका छन् । ‘हिँड्ने कुरा’ लेखिएका महँगा भेस्ट लगाएर पाण्डवले सभामुख उपसभामुख र स्वास्थ्यका अधिकारीलाई डेंगु खोजाउँन हैन भात खुवाउन दैडाइरहेका छन् । यसले जनतामा कस्तो सन्देश जान्छ भन्ने सामान्य हेक्का पनि राखिएको छैन ।

अझ गज्जबको कुरा त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुबाट जोगिना पुरा बाउला भएको लुगा लगाउन निर्देशन जारी गरेको छ । यता सरकारले दश बजे १० मिनेटको अभियान नै चलाएको छ । हरेकदिन रिपोर्ट पेश गर्न स्वास्थ्य मन्त्रालयलाई भनिएको छ । तर, डब्लुएचओ नेपालका प्रमुख पाण्डवको पुच्छर लाग्दा यस्ता निर्देशनले हावा खाएको छ । स्वास्थ्यमन्त्री र राज्यमन्त्रीलाई यस्तो बेथिति बारे डब्ल्यूएचओमाथी प्रश्न गर्ने र आफ्ना कर्मचारीलाई लगाम लगाउन समय छैन । मन्त्रीहरु कर्मचारी सरुवा र उपकरण खरिदमा कमिसन कुन दुलोबाट आँउछ भन्नेमा ब्यस्त हुँदा डेंगु महामारीले जनतामाझ आतंक सिर्जना गरिरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com