डेंगुमा खटिने डाक्टरको रित्तो हात तर झलनाथलाई २० लाख ‘भेटी’


काठमाडौं । सरकारले डेंगुका बिरामी उपचारमा खटिने डाक्टरलाई दसैँमा रित्तो हात पठाएको छ । तर नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई २० लाख ‘भेटी चढाएको’ छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत रजिडेन्ट डाक्टर र बागमती प्रदेश सरकार अन्तर्गतका अस्पतालमा कार्यरत करारका डाक्टर दसैँको मुखमा रित्तो हात घर फर्कन बाध्य भएका छन् । डेंगुमा बिरामीको सेवामा समर्पित डाक्टरहरुले निर्वाह भत्ता र तलब भत्ता नपाउँदा सरकारले कुनै चासो देखाएको छैन । तर विषालु सर्प पाल्नका लागि झन्डै २० करोड राज्यबाट लिइसकेका झलनाथ खनाललाई सरकारले दसैँको मुखमा शक्तिपीठमा भेटी चढाएजस्तो २० लाख रुपैयाँ सित्तैमा दिएको हो ।

डेंगु संक्रमण तीब्र रुपमा फैलिरहेको बेला बिरामीको सेवामा खटिएका शिक्षण अस्पतालका झन्डै ३ सय रजिडेन्ट डाक्टर र सरकारी अस्पतालमा कार्यरत करिब २ सय डाक्टर दसैँको मुखमा रित्तो हात घर जाँदा झलनाथलाई भने राज्यकोषबाट २० लाख ‘चन्दा’ दिने काम भएको छ ।

झलनाथको केही समयअघि भारतमा उपचार गर्न झन्डै १ करोड राज्यकोषबाट दिने काम भएको छ । कानुनविपरीत झलनाथलाई सरकारले राज्यकोषबाट करोडौं पैसा दिँदै आएको छ । तर कानुनबमोजिम पाउनु पर्ने पैसा पाउन डाक्टरहरू बञ्चित भएका छन् ।

डाक्टरहरुले काम गरेबापत पैसा पाउन नसक्दा झलनाथले २० लाख पाएपछि सामाजिक सञ्जालमा नागेश्वर महादेवलाई भेटी महँगो भयो भनेर उनीमाथि व्यंग्य सुरु भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #झलनाथ खनाल, #डाक्टर रित्तो हात, #सर्प

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com