झलनाथ खनाल समाजवादीतिर, ‘विषालु सर्प’ एमालेतिर


काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीतिर लागेका छन् । तर विषालु सर्प पाल्ने उद्देश्यले उनको नाममा खुलेको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान एमालेतिरै रहेको छ ।

विषालु सर्पको टोकाइबाट बच्नका लागि ‘एन्टी भेनम’ औषधि उत्पादन गर्न स्थापना गरिएको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेवती पन्तले नेकपा एमालेतिर समाहित गराएको पाइएको छ ।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती पन्त नेकपा एमालेको मधेश प्रदेशका उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले झलनाथ खनालको नाममा सञ्चालित विषालु सर्प पाल्ने आयोजन पनि आफूसँगै एमालेतिर लिएर गएका हुन् । विषालु सर्पको टोकाइबाट उपचार गर्न ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्ने कम्पनी खडा गरेर पन्तले राज्यबाट १८ करोड पैसा लिइसकेका छन् ।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेर विषालु सर्प पाल्ने नामामा सर्लाही लालबन्दी नगरपालिकाबाट पैसा निकालेर झन्डै आधा करोडको गाडी चढेर पन्त एमालेतिर लागेका छन् ।

झलनाथ खनाल प्रतिष्ठानको सर्प पालन खर्च भनेर लालबन्दी नगरपालिका पेश गरेको विवरणमा गाडी खरिद ४९ लाख ४४ हजार, गाडी मर्मत ३ लाख ४१ हजार, इन्धन खर्च १० लाख ८३ हजार, फर्निचर १८ लाख ८० हजार, एसि खरिद ३ लाख ६० हजार, क्यामेरा ३ लाख १२ हजार र हवाइ र भत्ता ४ लाख उल्लेख छ ।

सर्पको टोकाईबाट बच्ने औषधि एन्टी भेनम प्रोडक्सन गर्ने भनेर गाडी र एसी खरिद गरेर एमाले नेता पन्तले मस्ती मारिरहेको पाइन्छ । नेपालमा वर्षेनी १० हजार मान्छेलाई विषालु सर्पले टोक्ने र १ हजार मान्छे सर्पको टोकाईबाट मर्ने अनुमान गरिएको छ । यसको औषधि भारबाट ल्याइने गरिएको छ ।

संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा प्रतिष्ठानले  विषालु सर्प पाल्न खोजेको हो । प्रारम्भीक चरणमा ७२ करोड दिने भनेर तीनै तहको सरकारसँग सम्झौता भएपनि अहिलेसम्म १८ करोड रुपैयाँ मात्र सहयोग पाएको प्रतिष्ठानका अध्यक्ष पन्तको भनाइ छ ।

एमाले नेता पन्त रिसर्च, डीपीआर र जमिन किन्नेलगायत महत्त्वपूर्ण काम सम्पन्न भइसकेको दाबी गर्छन् । सर्लाहीको लालबन्दीमा ९ विघा जमिन किनेर हस्पिटल, ल्याब भवन फार्मिङ भवन निर्माण कार्य सुरु भइसकेको र त्यो पूरा भएपछि भेनम उत्पादन गरिने उनको भनाइ छ । यो सबै राज्यको सम्पत्ति भएको पन्तको तर्क छ ।

‘नेपालमै एन्टी भेनम उत्पादन गर्न १०-१५ अर्ब लाग्छ तर अहिले हामी पहिलो चरणमा सर्प फार्मिङ हुनेबित्तिकै सर्पको विष फ्रिजिङ गरेर भारतको सेरम कम्पनीमा पठाउँछौ । र त्यहाँबाट एन्टी भेनम बनाएर ल्याउने तयारीमा छौं, त्यो गर्न सबैको सहयोग हुने हो भने ३ वर्षजति लाग्छ’, उनले भने । नेपालमै ल्याब खोलेर एन्टी भेनम उत्पादन गर्न चाहीँ अझै ६ वर्षजति लाग्ने पन्तले सुनाए ।

पन्तकै भनाइअनुसार १५ अर्ब लगानी लाग्ने विषालु सर्प पालेर एन्टी भेनम उत्पादन गर्ने काम एउटा एनजिओलाई सुम्पिएको छ । यत्रो लगानी गरिसकेपछि राज्य आफैंले सर्प पाल्ने र एन्टी भेनम उत्पादन गर्नेतर्फ लाग्नुपर्नेमा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नाम गरेको एउटा एनजिओलाई अर्बौ रुपैयाँको बजेट र प्रोजेक्ट दिएर राज्यको सम्पत्तिमा रजाइँ गर्ने अवसर प्रदान गरेको देखिन्छ ।

जसको नाममा प्रतिष्ठान खुलेको छ उनी नेकपा एकीकृत समाजवादीतिर लागेका छन् । सर्प पाल्ने जिम्मेवारी लिएका पन्त भने एमालेतिर सक्रिय देखिन्छन् । विषालु सर्प खेतीमा पनि राजनीतिक खिचातानी हुने उच्च सम्भावना रहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #एन्टी भेनम, #झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, #रेवती पन्त, #विषालु सर्प पालन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com