नेता घर-गाउँमा, मतदाता डेंगुले अस्पतालमा


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका  लागि नेताहरू घर-गाउँमा पुगेका छन् । निर्वाचन आयोगले असोज २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतलिका बनाएपछि नेता (उम्मेदवार)हरू घर-गाउँमा पुगेका हुन् । तर, उनीहरूलाई भोट हाल्ने मतदाताहरु भने डेंगु संक्रमित भएर अस्पतालको शय्यामा छटपटाइरहेका छन् ।

तीनै तहका सरकार र राजनीतिक दलहरूले डेंगु नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसक्दा दसैँ, तिहार र चुनावको मुखमा मतदाता अस्पताल भर्ना हुन बाध्य भएका छन् । अस्पतालको शय्यामा डेंगुसँग जीवनमरणको लडाइँ लडिरहेका मतदाताले नेतालाई भोट हाल्न सक्ने अवस्था छैन । अस्पतालहरूमा डेंगुका बिरामीहरू दिनप्रतिदिन बढ्दै गएका छन् । मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ । डेंगुका कारण स्वास्थ्यकर्मीको समेत ज्यान लिइसकेको छ । तर सरकार र राजनीतिक दलहरू नागरिकको स्वास्थ्यमाथि संवेदनशील देखिंदैनन् ।

निर्वाचनमा भोट माग्न आउने उम्मेदवारलाई कोरोना र डेंगुमा गरेको योगदानको विषयमा मतदाताले प्रश्न उठाउन आवश्यक छ । कोरोनाकालमा होस् वा अहिले डेंगुकालमा निर्वाचनमा भोट माग्न आउने नेताहरू खासै देखा परेका थिएनन्, छैनन् । जनतालाई दुःखमा साथ नदिने र चुनावमा मात्र भोट माग्न आउने नेतामाथि जनताले विवेक पुर्‍याउनु पर्छ ।

उम्मेदवारहरुले भोट माग्न जाँदा डेंगुको विषयमा सचेतना फैल्याउने र डेंगु नियन्त्रका कार्यक्रम पनि साथ-सथै लाने हो भने डेंगुबाट नागरिकलाई केही राहत मिल्ने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com