चुनावमा प्रदेश सरकारका स्वास्थ्यमन्त्रीहरु तितरबितर


काठमाडौं । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रदेश सरकारका स्वास्थ्यमन्त्रीहरु तितरबितर बनेका छन् ।

प्रदेशका स्वास्थ्यमन्त्रीहरु कोही प्रतिनिधिसभा, कोही प्रदेशसभा त कोही टिकट नै नपाएर तितरबितर भएका हुन् । प्रदेश नम्बर १ का स्वास्थ्यमन्त्री जयराम यादव मोरङ क्षेत्र नम्बर ५ (ख)बाट प्रदेशसभा सदस्यमा चुनाव लड्‌दैछन् । जनता समाजवादी पार्टी, नेपालको तर्फबाट उनी प्रदेशसभा सदस्यको उम्मेदवार बनेका हुन् ।

स्वास्थ्य समेत हेर्ने मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह भने प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । सप्तरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा), नेपालको तर्फबाट साह चुनाव लडेका हुन् । प्रदेशबाट प्रतिनिधिसभामा चुनाव लड्ने एक मात्र स्वास्थ्य हेर्नेमन्त्री साह भएका छन् ।

प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय रहेको छ भने मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामाजिक विकास मन्त्रालयले नै स्वास्थ्यको काम समेत गर्ने गरेको छ ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले पनि यसपटक टिकट पाउन सकेनन् । अघिल्लो चुनावमा सिन्धुपाल्चोक-२ (ख) बाट कांग्रेसको तर्फबाट उम्मेदवार बनेर जितेका स्वास्थ्यमन्त्री लामालाई यसपटक पार्टीले टिकट नदिएको हो । उनको ठाउँमा यसपटक कांग्रेसले कृष्णकुमार तामाङलाई अघि सारेको छ ।  लामा मात्र होइन बागमती प्रदेश सरकारमा कांग्रेसबाट मन्त्री बनेका दिपेन्द्र श्रेष्ठबाहेक कसैले पनि टिकट पाएका छैनन् ।

गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ पनि चुनाव लडिनन् । स्वास्थ्य लाइभसँगको कुराकानीमा उनले चुनावमा नउठेको स्पष्ट पारिन ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजीत थारू भने चुनाव लडेका छन् । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा टिकट पाएर उनी चुनावमा उठेका हुन् । स्वास्थ्यमन्त्री  थारू दाङ १ प्रदेश (क) माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका हुन् ।

कर्णाली प्रदेशका स्वास्थ्य हेर्ने सामाजिक विकासमन्त्री यज्ञ बहादु बुढा क्षेत्री पनि यसपटकको चुनावमा उठेका छैनन् । उनले उमेर र अन्य कारणले पनि चुनाव लड्न इच्छा नदेखाएको उनका सचिवालयका कर्मचारीहरु बताउँछन् ।

यता स्वास्थ्य हेर्ने सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द राज बोहरा डडेल्धुरा प्रदेश क्षेत्र (ख)बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । अघिल्लो पटक पनि बोहरा उक्त क्षेत्रबाटै निर्वाचित भएर सुदूरपश्चिम प्रदेश सरकारकाे सामाजिक विकासमन्त्री बनेका हुन् ।

प्रदेश सरकारका १ स्वास्थ्यमन्त्री प्रतिनिधिसभामा, ३ स्वास्थ्यमन्त्री प्रदेशसभामै र ३ स्वास्थ्यमन्त्री चुनाव नलड्नेमा परेका छन् । प्रदेश सरकारका स्वास्थ्यमन्त्रीहरूलाई यो चुनावले तितरबितर बनाइदिएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com