स्वास्थ्यमन्त्री खापुङसहित यी मन्त्रीहरू आगामी संसदमा देखिने छैनन्


काठमाडौं । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनपछि मुलुकले नयाँ सरकार पाउनेछ ।

सरकारमा अहिले भइरहेका मन्त्रीमध्ये अधिकांश चुनावमा होमिएका छन् । कोही जितेर संसद र मन्त्रिमण्डलमा सहभागी हुने सम्भावना पनि उत्तिकै छ । तर, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ भने आगामी संसदमा नदेखिने पक्का छ । त्यस्तै स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी र शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादव पनि आगामी संसदमा देखिने छैन । उनीहरू चुनावमा नउठेकाले आगामी संसदमा नदेखिने पक्का भएको हो ।

नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका स्वास्थ्यमन्त्री खापुङ अघिल्लो चुनावमा निर्वाचित भएको तेह्रथुम यसपटक कांग्रेसको भागमा परेकाले उनी उम्मेदवार बन्न नपाएका हुन् । खापुङले उक्त क्षेत्रमा कांग्रेस उम्मेदवार सिता गुरूङलाई सहयोग गरेर संसदमा पुर्‍याउनु पर्ने वाध्यता परेको छ । स्वास्थ्य राज्यमन्त्री केसीको हालत पनि उस्तै छ । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रेग्मी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठ समानुपातिक सांसद भएकाले उनीहरू त्यतिकै थन्किएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा, गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-३, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी-४, परराष्ट्रमन्त्री नारायण खड्का उदयपुर-१, खानेपानीमन्त्री उमाकान्त चौधरी बारा-१, उद्योगमन्त्री दिलेन्प्रसाद बडू दार्चुला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राज्यमन्त्री उमेश श्रेष्ठ चितवन-२ बाट चुनाव लड्दा कांग्रेसबाटै मन्त्री बनेकी उमा रेग्मी चुनावी मैदानबाट बाहिरिएकी छिन् ।

माओवादीबाट जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल ललितपुर-३, अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बाग्लुङ-नम्बर २, युवा तथा खेलकुदमन्त्री बनेका महेश्वरजंग गहतराजले बाँके-१ बाट उम्मेदवार बन्दा भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठ उम्मेदवार बन्नबाट बञ्चित भएकी छिन् ।

नेकपा एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराज श्रेष्ठ काठमाडौं-८, सहरी विकासमन्त्री बनेका मेटमणि चौधरी दाङ-१ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछाम-१ बाट चुनाव लड्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र राज्यमन्त्री हीराचन्द्र केसी हेरेको हेरै भएका छन् ।  स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसीले उम्मेदवारी नदिएसँगै उनीहरू अर्को संसदमा उपस्थित नहुने भएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com