नवलपुरबाट चौथोपटक निर्वाचित हुने दाउमा रहेका डा. शशांकलाई पौडेलको चुनौती


काठमाडौं । नवलपुर-१ बाट चौथोपटक निर्वाचित हुने दाउमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालालाई नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल चुनौतीको रुपमा देखा परेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा डा. शशांकलाई रोक्ने रणनीतिका साथ पौडेल चुनावी मैदानमा उत्रिएका हुन् ।

नेत्र रोग विशेषज्ञ डा. शशांक २०६४ देखि लगातार उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । २०६४ र २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभाको निर्वाचन नवलपुर-१ बाट निर्वाचित डा. शशांक चौथोपटक  निर्वाचित हुने दाउमा छन् ।  आफू यो क्षेत्रबाट निर्वाचित भएर प्रधानमन्त्री बन्ने उनको उद्‌घोष छ । तर एमाले उम्मेदवार पौडेलसहित १६ जना शशांकलाई हराउन मैदानमा खडा भएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा, लोसपासहितको गठबन्धनबाट उठेका शशांकलाई एमाले उम्मेदवार पौडेलका साथै अन्य उम्मेदवारले पनि चुनौती दिने अवस्था छ ।  नेपाली काँग्रेस परित्याग गरी राप्रपामा प्रवेश गरेर उम्मेदवार बनेका प्रा.डा. मोहनीलाल भुसाल, माओवादी केन्द्र परित्याग गरी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका राजन गौतम र नेपाली कांग्रेस वीपीबाट लागेका यमनाथ बस्ताकोटी वीपी पुत्र डा.  शंशाकका लागि चुनौती बनेका छन् ।

अघिल्लो सांसदको चुनाव लड्दा ६ करोड खर्च भएको अभिव्यक्ति दिएपछि विवादमा आएका डा. शशांकले योपटक कति खर्च गर्ने हुन् त्यो भने हेर्ने बाँकी छ । उक्त क्षेत्रबाट निर्वाचित भएर प्रधानमन्त्री हुने अभिव्यक्ति दिएका डा. शशांकले सार्वजनिक मञ्चबाटै  “नवलपरासी १ गैडाकोटबाट तीन चोटी चुनाव लडेँ। पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ थियो,” डा. कोइरालाले भने, “दोस्रो चुनावमा तीन करोड र पछिल्लो चुनावमा ६ करोड खर्च भयो।” भनेका थिए ।

प्रत्येक चुनावमा जित्दा दोब्बर खर्च गर्ने तथ्याङ्क सुनाएका शशांकको यही अनुपातमा खर्च हुने हो भने १२ करोड पुग्ने देखिन्छ । तर निर्वाचन आयोगले ३१ लाख बढी खर्च गर्न निर्देशन दिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com