काठमाडौं उपत्यका विकास प्राधिकरणले अस्पतालहरूको नाप नक्सा माग्यो


काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले अस्पताल लगायतको भवनको नाप नक्सा मागेको छ ।

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना र नक्सा पास स्वीकृति विपरीत प्रयोग गरेका संरचनामा डोजर चलाउने अभियान चलाइरहँदा उपत्यका विकास प्राधिकरणले पनि नाप नक्सा मागेको हो ।

प्राधिकरणले काठमाडौं उपत्यका भित्रका सम्पूर्ण व्यापारिक भवन, संयुक्त आवास, सामूहिक आवास, सम्पूर्ण शिक्षण संस्था एवं स्वास्थ्य संस्थालगायतका सार्वजनिक प्रयोग भइरहेका भवनहरूका सम्बन्धित व्यक्तिहरूसँग सम्बन्धित जग्गाको नाप नक्सालगायतका कागजात मागेको हो । ७ दिनभित्रको समय दिएर प्राधिकरणले सूचाना निकालेपछि अहिले विभिन्न अस्पताललगायत संस्थाहरुले विवरण बुझाउन थालेका छन् ।

काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ शहरीकरको विषयमा मापदण्ड तय गर्ने र त्यसको कार्यान्वयन भए-नभएको विषयमा निरीक्षण गर्ने, निषेध गर्ने र नियन्त्रण गर्ने समेत अधिकार प्राधिकरणलाई भएको भन्दै उक्त प्राधिकरणले भवनहरुको जग्गाको नाप नक्सालगायतका कागजात मागेको हो ।

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काउँदा सकारात्मक प्रतिक्रिया पाएपछि प्राधिकरण समेत अगाडि सरेको देखिन्छ । प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले काठमाडौं उपत्यकामा बनेका भवनहरुलाई व्यवस्थित गर्नका लागि प्राधिकरण अगाडि बढेको बताइन् । प्राप्त कागजातको अध्ययन गरेपछि थप कदम चालिने उनको भनाइ छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com