जब बाल डाक्टर पूर्व मुख्यमन्त्रीविरुद्ध सिरिन्ज लिएर चुनावी मैदानमा आए


सुनसरी । काठमाडौं उपत्यकामा जस्तै मोफसलमा पनि चिकित्सकहरू चुनावी मैदानमा आएका छन् । प्रदेश नम्बर १ का तराईका जिल्ला मोरङ र सुनसरीमा चिकित्सकहरू चुनावी मैदानमा उत्रिएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पूर्वी तराईमा चिकित्सकहरु रोगी राजनीतिको शल्यक्रिया गर्न मैदानमा उत्रिएका हुन् ।

प्रतिनिधिसभामा मोरङमा डाक्टर शेखर कोइराला, डाक्टर सुनिल शर्मा र सुनसरीमा डाक्टर फरेन्द्र शाहको नाम निकै चर्चामा देखिन्छ ।

जब बाल डाक्टर शाह पूर्व मुख्यमन्त्री भीम आचार्य र निवर्तमान सांसद सिताराम मेहताविरुद्ध सिरिन्ज लिएर चुनावी मैदानमा आए त्यसपछि उनी सुनसरी क्षेत्र नम्बर २ मा निकै चर्चित छन् ।

बेनामे प्रदेशका रुपमा परिचित प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री एवं नेकपा एमालेका नेता भीम आचार्य र कांग्रेसका केन्द्रीय सदस्य सिताराम मेहताविरुद्ध सिरिन्ज लगाउन उत्रिएका डा. शाहका कारण सुनसरी क्षेत्र नम्बर २ को राजनीतिक र चुनावी माहोल तातिएको छ । नवजात शिशु राेग विशेषज्ञ डा. शाहले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उमेदवारी दिएका हुन् ।

स्वास्थ्य लाइभसँगको कुराकानीमा स्वतन्त्र उम्मेदवार डा. शाहले सुनसरीको राजनीतिक परिवर्तन र जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन राजनीतिमा होमिएको बताए । राज्यले बालबालिकाका उचित स्वास्थ्य उपचार उपलब्ध गराउन नसकेको आभाष गरेका उनी आफै नीति बनाउने ठाउँमा पुगेर स्वास्थ्यमा आमूल परिवर्तन गर्न चाहन्छन् । डा. शाह एमालेका प्रभावशाली नेता आचार्य र त्यसै क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद मेहतालाई पराजित गरेर सुनसरी २ को प्रतिनिधित्व गर्दै स्वास्थ्य, शिक्षा र रोजगारीका कुरा संसद भवनमा लिएर जाने अभियानमा लागेका छन् ।

टोल-टोलमा गएर निःशुल्क स्वास्थ्य सेवा दिँदै आएका डा. शाह यो कार्यक्रमलाई निरन्तरता दिएर आफ्नो क्षेत्रका मतदाताको स्वास्थ्यमा गुणस्तरीय सेवा दिन पनि आफूले प्रतिनिधित्व गर्न पाउनु पर्ने बताउँछन् ।

बिरामीलाई निको पार्ने सिरिन्ज र भ्रष्टाचारलाई घोच्ने पनि सिरिन्ज भन्दै प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ स्वतन्त्र उम्मेदवारी दिएका डा. शाह मतदातालाई भेटेपछि निकै उत्साहित देखिन्छन् । मतदाताबाट पाएको सद्भाव र प्रतिक्रियाले आफूलाई निकै उत्साह र ऊर्जा भरेको उनी सुनाउँछन् । यही रफ्तारमा माहोल बने आफूले चुनाव जित्ने उनको विश्वास छ ।

इनरुवा नगरपालिकाको वडा नम्बर १,२,५,६,९ र १० इटहरी उपमहानगरपालिकाको वडा नम्बर १,२,३,४,५,१६,१७,१८,१९ र २० रामधुनी नगरपालिकाको वडा नम्बर १,२,३,५,८ र ९ हरिनगर गाउँपालिकाको ३ नम्बर वडा र देवानगञ्ज गाउँपालिकाको सवै वडा मिलेर सुनसरी क्षेत्र नम्बर २ बनेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com