कोरोना र डेंगुमा बेवास्ता गरेको भन्दै सुनसरीका मतदाता सञ्चारमन्त्री कार्कीसँग रुष्ट


सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहिले सुनसरीको इनरुवामा छन् । उनी सुनसरीको सदरमुकाम समेत रहेकाे इनरुवाको वडा नम्बर ३ सखुवागाछीमा भाडाको घरमा बसेर भोट मागिरहेका छन् । तर, सञ्चारमन्त्री कार्की बसेको घर नजिकै संखुवागाछी चोकमा बसेर कांग्रेसका कार्यकर्ता र मतदाताहरुले उनको विरोध गरिरहेको भेटिन्छ ।

आगामी मंसिर ४ गते हुन गोइरहेको प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका सञ्चारमन्त्री कार्कीलाई अघिल्लोपटकको जस्तो सहज यो पटक देखिन्न । उनको क्षेत्रमा पर्ने इनरुवा नगरपालिकाको वडा नम्बर ३ मा करिब ५ हजार मतदाता रहेका छन् । कार्की त्यही वडामा बसेर चुनावी कार्यक्रम सञ्चालन गरिरहेका छन् । उनी बसेको घरबाट मदन भण्डारीको शालिक रहेको संखुवागाछी चोक १ मिटर टाढा पनि छैन । उक्त चोकमा बसेर आम मतदाताहरू कार्कीमाथि आक्रोश पोखिरहेको सुनिन्छ ।

कोरोनाकाल र डेंगुमा बेवास्ता गरेको भन्दै सुनसरीका मतदाता सञ्चारमन्त्री कार्कीसँग रुष्ट भएका छन् । सुनसरी क्षेत्र नम्बर ४ मा इनरुवा नगरपालिकाको ३, ४ र ८ नम्बर वडा पर्छन् । ती वडाहरूमा १२ हजार मतदाता रहेका छन् । यो मत भनेको चुनाव हात जितका लागि निर्णायक हो । इनरुवा नगरपालिकाको ३, ४ र ८ नम्बर वडा स्वास्थ्य लाइभको टोली पुग्दा सञ्चारमन्त्री कार्कीले चुनाव जितेपछि फर्केर पनि हेरेनन् भन्ने अधिकांश भेटिए । ३ र ४ नम्बरका अधिकांश मतदाता कोरोना, डेंगुमा मात्र होइन भौतिक पूर्वाधार विकासमा समेत उनले कुनै योगदान नगरेको आरोप लगाउँछन् ।

गत स्थानीय चुनावमा वडा नम्बर ३ मा उम्मेदवारी दिँदा कार्कीको कमजोरीले वडाध्यक्ष हारेको भनेर कांग्रेसकै कार्यकर्ता रुष्ट देखिए । संखुवागाछी चोकमा चिया पिइरहेका अधिकांशले छेउमै बसेका सञ्चारमन्त्री कार्कीले एकपटक पनि आएर हाई-हेल्लो नगरेको र झण्डावाल गाडीमा चढेर शान देखाएको भन्दै आलोचना गरिरहेको भेटिन्छ । हुन पनि त्यो क्षेत्रमा स्वास्थ्य लाइभको टोली पुग्दा त्यस्तै देखियो ।

संखुवागाछी चोकमा भेटिएका नेपाली कांग्रेसका एक महाधिवेशन प्रतिनिधिले स्वास्थ्य लाइभसँगको कुराकानीमा सञ्चारमन्त्री कार्कीको पक्षमा लाग्ने कार्यकर्ताको बेवास्ता गरेर चुनावमा पार्टीका उम्मेदवारलाई हराउन लागेकालाई च्यापेर हिँडेका भन्दै अनविरुद्ध असन्तुष्टि देखाए । ‘मतदाता र कार्यकर्ताको मन नजिती चुनाव जित्न गाह्रो छ । अन्य तरिकाले जिते मात्रै हो । नत्र गाह्रो देख्छु ।’, ती महाधिवेशन प्रतिनिधिले स्वास्थ्य लाइभसँग भने ।

मतदातालाई अन्य हिसाबले प्रभाव पारेर चुनाव जित्न सकिने सम्भावनालाई भने ती महाधिवेशन प्रतिनिधिले नकार्न सकेनन् ।

सञ्चारमन्त्री कार्कीको एमालेबाट उम्मेदवार बनेका प्रदेश नम्बर १ का पूर्व उद्योग, पर्यटन तथा वनमन्त्री जगदिश कुसियतसँग मुख्य प्रतिस्पर्धा देखिन्छ । तर मतदाताले कुसियतलाई पनि कार्कीको उपयुक्त विकल्प नभएको भन्न थालेका छन् ।

प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ मा कोशी गाउँपालिकाका सबै वडाहरू, बराह नगरपालिकाका वडा नम्बर ६,७,८,९,१० र ११, रामधुनी नगरपालिकाका वडा नम्बर ४, इनरुवा नगरपालिकाका वडा नम्बर ३,४ र ८, भोक्राहा गाउँपालिकाका सबै वडाहरू र हरिनगरा गाउँपालिकाका वडा नम्बर १,२,३,४,५,६ र ७ पर्दछन् ।

५२ हजार बढी मतदाता रहेको   प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ मा इनरुवा नगरपालिकाको वडा नम्बर ३, ४ र ८ ले सञ्चारमन्त्री कार्कीले आगामी संंसद यात्रामा निर्णायक भूमिका खेल्ने देखिन्छ । तर ती वडाका मतदाताहरु उनीप्रति सकारात्मक भेटिएनन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com