डा. निकोलसको उम्मेदवारी खारेज, डा. तोसिमाको कायम


काठमाडौं । सर्वोच्च अदालतले डा. निकोलस उर्फ कमल भुसालको उम्मेदवारी खारेज गर्ने निर्णय सदर गरेको छ ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका डा. भुसालको उम्मेदवारी खारेज गर्ने निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको हो ।

चिकित्सा शिक्षा अध्ययन संस्थानमा अध्यनरत डा. भुसालले लाभ लिइरहेको र उक्त संस्थालाई जानकारी नै  नदिई उम्मेदवारी दिएको भनेर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । उक्त निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए । तर, सर्वोच्च अदालतले पनि आयोगको निर्णयलाई सदर गरिदिएको छ । यो निर्णयसँग लौरो चिन्हका उम्मेदवार डा. भुसाललाई चुनाव लड्ने ढोका बन्द भएको छ ।

सर्वोच्च अदालतको संयुक्त इजलासले निर्वाचन आयोगविरुद्ध डा. भुसालले हालेको रिट खारेज गरिदिएको हो । न्यायाधीश विशम्भरप्रसाद श्रेष्ठ र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले उनको रिट खारेज गर्ने निर्णय गरेको हो । अब डा. भुसाल रुपन्देही २ बाट चुनाव लड्ने च्याप्टर क्लोज भएको छ । उक्त क्षेत्रबाट उम्मेदवार बनेका राजु गुरुङको पनि उम्मेदवारी खारेज गर्ने निर्णय सर्वोच्च अदालतले सदर गरिसकेको छ ।

यता प्रतिनिधिसभा ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी भने सर्वोच्च अदालतले कायम गरिदिएको छ । मेडिकल काउन्सिलबाट भत्ता बुझेको विषयलाई लिएर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध डा. कार्की सर्वोच्च अदालत गइन् । सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले उनको उम्मेदवारी कायम राख्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतले डा. कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिक आदेश दिएसँगै उनी भने चुनाव लड्न पाउने भएकी छिन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com