ललितपुर-२ मा दुई डाक्टर आमनेसामने


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा संघीय सांसदका लागि दुई डाक्टर आमनेसामने भएका छन् । उक्त क्षेत्रमा हाम्रो नेपाली पार्टीबाट डा. सुदीन शाक्य र स्वतन्त्र उम्मेदवार डा. दीपेश केसी आमनेसामने भएका हुन् ।

डा. शाक्य र डा. केसी ललितपुर-२ बाट उम्मेदवार बनेसँगै त्यहाँको चुनावी माहोल तातिएको छ । ठूला दलबाट उम्मेदवार बनेकाहरू दुई डाक्टरको उम्मेदवारीले छायाँमा परेका छन् ।

ललितपुर क्षेत्र नं २ प्रतिनिधिसभामा बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा समाजवादीका कृष्णलाल महर्जन र एमालेले प्रेम महर्जन उम्मेदवार बनेका छन् । तर, उनीहरूको खासै चर्चा छैन । बरु उक्त क्षेत्रमा डा. केसी र शाक्य कै बढी चर्चा छ ।

ललितपुर-२ मा कांग्रेसको उम्मेदवार नहुनु र पूूर्व एमाले कै नेता उम्मेदवार बन्नुले ती भोटहरू डा. केेेेेेसीको पक्षमा आउने आकलन गरिएको छ ।

प्रदेश संरचना खारेज गरेर स्थानीय तह र संघलाई बलियो बनाउनुपर्छ भन्दै क्रस खुकुरी चुनाव चिन्ह लिएर मैदानमा खडा भएका डा. केसीको पक्षमा माहोल बन्दै गएको छ । डा. सुदीन शाक्य पनि ठूला दलका उम्मेदवारभन्दा चर्चामा अगाडि देखिन्छन् ।

स्थानीयपनलाई प्रवर्द्धन गर्ने अभियानमा रहेका डा. केसी ललितपुरको माटोसँग आफ्नो गहिरो सम्बन्ध रहेको बताउँदै आएका छन् । स्वास्थ्य, शिक्षा, रोजगारी र उद्यमशिलताका एजेण्डालाई प्राथमिकताका साथ उठाउँदै आएका डा. केसीले दलका उम्मेदवारलाई कडा चुनौती दिएका छन् ।

ललितपुर क्षेत्र नम्बर २ मा १ करोड रुपैयाँको सांसद स्वास्थ्य सेवा सञ्चय कोषको स्थापना गर्ने घोषणा गरेर मैदानमा खडा भएका लौरो उम्मेदवार डा. शाक्य पनि डा. केसी जति कै चर्चामा देखिन्छन् । कोषको आम्दानीबाट पाटन अस्पतालमा गरिब, निमुखा, विपन्न र पैसा तिर्न नसकेर उपचारबाट बञ्चित बिरामीहरूका लागि १ लाख रुपैयाँसम्म सिफारिसको आधारमा उपचार सुविधा खर्च दिइने उनको घोषणा छ ।

ठूला दलका उम्मेदवारले चुनावमा चर्चा बटुल्न नसकेका बेला डा. केसी र शाक्यले ललितपुर-२ को चुनावी माहोल तताएका छन् । पछिल्लो समय डा. केसीको पक्षमा अझ माहोल तात्दै गएको छ ।

जे होस् ललितपुर-२ मा दुई डाक्टर आमनेसामने हुँदा रोचक प्रतिस्पर्धा हुने अवस्था देखिएको छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com