जन्मको लैङ्गिक अनुपातमा असन्तुलन, १०० छोरीको जन्म हुँदा ११० देखि १२७ जना छोराको जन्म


काठमाडौं । नेपालमा जन्मको लैङ्गिक अनुपातमा असन्तुलन देखिन थालेको छ । अन्य एसियाली देशहरुमा जस्तै नेपालमा पनि जन्मको लैङ्गिक अनुपातमा असन्तुलन देखिएको हो । जुन निकै घातक भएको अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले अहिले पनि समाजमा छोराप्रतिको मोह बढी भएको बताए । ‘आम मानिसमा छोराप्रतिको मोह बढी छ’ सहसचिव पोखरेलले भने, ‘पहिलो सन्तानमा नभएपनि दोस्रो सन्तान छोरा नै खोज्नेहरु व्याप्त छन् ।’, विभिन्न प्रविधिमार्फत छोरा वा छोरी जाँच गर्ने र छोरी भए गर्भपतन गराउनेहरु पनि छन् । पैसाका लागि जस्तोसुकै गर्भपतन गराउन पनि स्वास्थ्य संस्थाहरु पछि पर्दैनन् । पोखरेलले गलत कार्य गर्नेहरुको प्रमाण भेटे कारबाही गर्ने बताए ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को २०११ को रिपोर्ट अनुसार सामान्यतया १०० जना छोरी जन्मदा १०२ देखी १०६ जनासम्म छोराको जन्म हुन्छ । तर, युएनएफपीए नेपालको सन् २०१८ को तथ्यांक अनुसार  नेपालमा जन्मको लैङ्गिक अनुपात ११० रहेको छ । यो अत्यन्तै असन्तुलित हो ।

स्वास्थ्य मन्त्रालय लैङ्गिक समानता तथा सामाजिक समावेशिता शाखाका अनुसार सन् २००१ मा ३ वटा जिल्लाहरुमा १ वर्षभन्दा मुनिका जन्मको लैङ्गिक अनुपात १०६ भन्दा माथि देखिएको थियो । तर, सन् २०११ मा पुग्दा १६ वटा जिल्लामा यस्तो असन्तुलन देखिएको शाखाकी नर्सिङ अधिकृत सुना लक्ष्मी कर्मचार्यले बताईन् ।

१६ जिल्लाहरु मध्ये १२ जिल्लाहरुमा १ वर्षभन्दा मुनिका जन्मको लैङ्गिक अनुपात ११० देखि १२७ सम्म रहेकोे छ । उक्त जिल्ला ८ वटा पहाडी र ४ वटा तराईका छन् । जन्ममा लैङ्गिक असन्तुलन देखिनुमा तीनवटा निर्धारक तत्वहरु रहेको स्वास्थ्यका अधिकारीहरु बताउँछन् । जसमा पहिलो प्रजनन् दर घट्नु, दोस्रो छोरालाई उच्च प्राथमिकता दिनु र तेस्रो भ्रुणको लिङ्ग पहिचान गर्ने प्रविधि (अल्ट्रासोनोग्राफी) मा सहज पहूँच हुनु हो ।

लैङ्गिक अनुपातमा उच्च असमानता

१२ जिल्लाहरुमा १ वर्षभन्दा मुनिको शिशुहरुको लैङ्गिक अनुपातमा उच्च असमानता देखिएको छ । यस्तो असमानता देखिनेमा विशेषगरी सहरी क्षेत्र त्यसमा पनि शिक्षित जनता देखिएका छन् । सबैभन्दा बढी असमानता अर्घाखाँचीमा रहेको छ । तथ्यांक अनुसार १०० छोरी जन्मदा अर्घाखाँचीमा १२७ जना छोरा जन्मन्छन् । यो जन्मनु पर्नेभन्दा २१ जना छोरा बढी हो । त्यस्तै भक्तपुरमा १२३ जना, कास्कीमा ११७ जना, ललितपुर र पाल्पा ११४ जना, काठमाडौं र रुपन्देहीमा ११३ जना, कन्चनपुर, गुल्मी र सप्तरी १११ जना, झापा र पर्वतमा ११० जनाको जन्म भएको छ ।

त्यस्तै शाखाकी उपसचिव रोशनी देवी कार्कीले विभेदपूर्ण लिङ्ग छनौटरहित समाजको सोच रहेको बताईन् । त्यसका लागि सन् २०३२ सम्ममा विभेदपूर्ण लिङ्ग छनौट गर्नेे प्रवृतिको अन्त्य गर्ने लक्ष्य लिएको उनको भनाई छ ।

अधिकारीहरुका अनुसार लिङ्ग पहिचान गरी गरिने गर्भपतनविरुद्धमा सोच र व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानु पर्ने देखिएको छ । अधिकारीहरुले भनेका छन्, ‘छोरीको महत्त्वलाई प्रोत्साहन गर्दै समानता सुनिश्चित गर्नुपर्ने छ ।’, यो नै लैङ्गिक असमानतालाई अन्त्य गर्ने एउटा महत्त्वपूर्ण कदम हुने उनीहरुको विश्वास छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com