वनमन्त्री थापाको निधन भएपछि लिम्बुले टिकट पाए


काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभा सदस्यका उम्मेदवार वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएपछि उनको ठाउँमा मानबहादुर लिम्बुले टिकट पाएका छन् ।

थापाको निधनपछि नेपाली कांग्रेसले बेलबरीका महाधिवेशन प्रतिनिधि लिम्बुलाई मोरङ ३(१) बाट प्रदेशसभा सदस्यको टिकट दिएको हो ।  डेंगु संक्रमण र निमोनियाका कारण उनको हिजो बिराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालमा मृत्यु भएको हो । थापाको मृत्यु भएपछि रिक्त ठाउँमा लिम्बुलाई अगाडि सारिएको नेपाली काँग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए ।

मोरङ ३(१) बाट प्रदेशसभा सदस्यका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि मनोनयनको समय दिइएको छ । कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा मेडिकल व्यवसायी सुनिल शर्मा उम्मेदवार बनेका छन् । एमालेबाट पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र राप्रपाबाट रेखा थापा प्रतिस्पर्धामा रहेका छन् । प्रदेशसभामा भने कांग्रेस उम्मेदवार लिम्बु र एमाले उम्मेदवार दिलिप राईबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com