४० करोड बिउ पुँजी जोगाउँन दुई वटा पेट स्क्यान मेसिन खरिद गर्दै सरकार


काठमाडौं । क्यान्सर रोग पहिचान तथा निदानका लागि आवश्यक पर्ने पेट स्क्यान मेसिन स्वास्थ्य मन्त्रालयले खरिद गर्ने भएको हो । ४० करोड बिउपुँजी जोगाउन स्वास्थ्य मन्त्रालयले यसपटक पेट स्क्यान खरिद गर्न लागेको हो ।

स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा कार्यारत क्यान्सर विज्ञहरुसँग छलफल गरेर दुई वटा पेट स्क्यान मेसिन खरिद गर्ने निर्णयमा पुगेको हो । एक उच्च अधिकारीका अनुसार एउटा राजधानी बाहिर र अर्को राजधानीमा राख्ने सहमति भएको छ ।
पेट स्क्यान मेसिन खरिद गर्नका लागि आवश्यक निर्णयको फायल समेत तयार भएको छ । ती मेसिन यसैवर्ष खरिद गरिने भएको छ । यस अगाडी पटकपटक मुद्दा परेर मेसिन खरिद गर्न सकिएको थिएन ।
नेपालमा प्रत्येक वर्ष २० हजार नयाँ क्यान्सरका बिरामी थप हुदै आएको सरकारी तथ्यांक रहेको छ । उक्त बिरामी मध्ये १३ हजार भन्दा बढीको वर्षमा मृत्यु हुने गरेको छ । बाँकी बिभिन्न उपचार पद्धतीबाट आयु लम्बिने गरेको छ ।

अधिकारीहरुले बताए अनुसार भारतका प्रमुख सहरका अस्पतालहरूमा दिनहुँ एक हजारभन्दा बढी नेपाली उपचारका लागि पुग्ने गरेका छन् । बिरामी लैजान नेपालका ठूला सहरमा भारतीय अस्पतालका अफिस खुलेका छन् । क्यान्सरको उपचार गराउन भारत पुगेका मध्ये आधा जसोको पेट स्क्यान गराउनु पर्ने हुन्छ ।

देशमा २० औं हजार क्यान्सरका बिरामी छन् तर, एउटा पेट स्क्यान मेसिनको व्यवस्था नभएकाले ठुलो खर्च र कष्ट पूरा गर्दै बिरामी भारत पुगेका छन् । तत्कालीन राष्ट्रपति रामवरण यादवको पेटमा समस्या उब्जिएपछि उपचारका लागि जापान पुगेका थिए । राज्यले बेहोरेको झन्डै ७६ लाख रुपैयाँको खर्चभारमा जापान पुगेर पनि गराइएको त्यही पोजिट्रन इमिसन टोमोग्राफी (पेट) स्क्यान नै थियो ।

राष्ट्रपति यादव जापान पुगेर फिरेपछि मात्रै पहिलोपल्ट नेपाल सरकारले आफ्नो बजेटमा पेट स्क्यान मेसिन खरिद गर्ने शीर्षकमा बजेट छुट्याउन थालेको थियो । पेट स्क्यान मेसिन खरिद गर्न लगातार दुई वर्ष बजेट विनियोजन गरिएको थियो । तर, मेसिन किन्ने प्रक्रियामा कमिसनको खेल र अस्पतालको कार्य सुस्तताले खरिद प्रक्रिया कार्यान्वयनमै आउन सकेन ।

सरकारले निर्णय गरेर ‘चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पेट सिटी स्क्यान मेसिन राखिने’ परिपत्र जारी भइसकेको छ । तर, यो निर्णय कागजमै सीमित छ । यसवर्ष सरकारले पेट सिटी स्क्यान मेसिन खरिद गर्न हिम्मत गरेको छ । तर, टेन्डर प्रक्रियामा कमिसनसहितको तानातानले कुनै काम अघि बढ्ला जस्तो हामीलाई लागेको छैन । यदी पेट स्क्यान मेसिन खरिद भएको खण्डमा नेपालीहरुले स्वास्थ्य सचिव डा. रोशन पोखरेलको नाम स्वर्णिम अक्षरले लेख्नेछन् । किनकी यस अगाडिका कयौं प्रयासमा खरिद गर्न सकिएको थिएन ।

पेट स्क्यान गराउन भारतका अस्पतालमा एक हप्ता पालो कुर्नुपर्छ । नेपाली मूल्यमा झन्डै ५० हजार रुपैयाँ खर्चेर गराउनुपर्ने पेट सिटी स्क्यानका निम्ति मेदान्त, राजीव गान्धी क्यान्सर अस्पताल, एम्स अस्पताल, एपोलो, फोर्टिज, म्याक्स, गंगाराम अस्पताल आदि गरेर दिनहुँ ३० जनासम्म नेपालीले पालो पर्खने गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com