मधेश प्रदेशमा गर्भपतन

गर्भपतन गराउँने दक्ष जनशक्ति नहुँदा असुरक्षित गर्भपतन बढ्यो


जनकपुर । नेपालमा हुने असुरक्षित गर्भपतनलाई निरुत्साहित पारी सुरक्षित रुपमा हुने गर्भपतनलाई प्रोत्साहन गर्न एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । मधेश प्रदेशमा गर्भपतन गराउँने दक्ष जनशक्ति नहुँदा असुरक्षित गर्भपतन बढेको छ । त्यस्तै भारतबाट नेपालमा दर्ता नभएका औषधिहरुको समेत प्रयोग बढ्दो छ । अधिकारीहरुले बताए अनुसार मधेश प्रदेशमा १२ हप्तामाथिको गर्भपतन गराउँने दक्ष जनशक्ति २ जना मात्रै छन् ।

मधेश प्रदेशको जनकपुरमा “गर्भपतनको स्वास्थ्य मापदण्ड र यसको गलत प्रयोग“का बारेमा स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको  अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले असुरक्षित गर्भपतन गराउनेहरु बढ्दो क्रममा रहेको भन्दै यसलाई निरुत्साहित बनाउन सबै लाग्नु पर्ने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गर्भपतन गराउनेहरु मध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएको छ । मधेस प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत विजय यादवले बढ्दो असुरक्षित गर्भपतनलाई रोक्न एक्लै सम्भावना नरहेको बताए । उनले सबै निकायले यसमा साथ दिनुपर्ने पनि बताए । उनले यसका लागि प्रदेशले छुट्टै निर्देशिका बनाउन थालेको स्पष्ट पारे । प्रदेशमा दक्ष जनशक्तिको अभावले पनि सुरक्षित गर्भपतन हुन नसकेको उनको तर्कछ । अनुगमनको पाटो तीब्र बनाउनु पर्ने देखिएको उनले बताए ।
                                                                            मधेश प्रदेशमा ७ हजार ५ सय १३ जनाले यस वर्ष सुरक्षित गर्भपतन गराएका छन् । तर, यो संख्या अत्यन्तै न्युन भएको अधिकारीहरुले बताएका छन् । सहभागीहरुले भनेका छन्, मधेश प्रदेशमा सुचिकरण नभएका स्वास्थ्य सस्थाबाट सेवा र नेपालमा दर्ता नभएका औषधि व्यापक प्रयोग भइरहेको छ । प्रदेशका पत्रकारहरुलले भनेका छन् कुन-कुन स्वास्थ्य संस्थाबाट मात्रै गर्भपतन गराउने भन्ने जानकारी आम नागरिकलाई दिन जरुरी देखिएको छ ।
बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक रामनरेश पण्डितले प्रसूति गराउने दक्ष जनशक्तिको अभावले गर्दा पनि असुरक्षित गर्भपतन बढेको देखिन्छ । ‘प्रदेशमा दर्ता बिनाका स्वास्थ्य संस्थाको कारबाही सुरु गर्दा सेवा नै ठप्प हुने अवस्था आउँन सक्छन ‘ डा. पण्डितले भने, ‘यसलाई कडाइका साथ कानुनी दायरामा ल्याउदै जानुपर्छ ।’,

डा. पण्डितले असुरक्षित रुपमा हुने गर्भपतनलाई रोक्न निरन्तर मिडियाको खबरदारी भएको बताए । त्यस्तै नेपालमा दर्ता नभएका औषधिहरुको पनि गर्भपतनमा व्यापक प्रयोग हुने गरेको उनको बुझाइ छ । ‘बिभिन्न कारणले गर्दा चाहना बिपरित गर्भ बसेको हुन्छ’ डा. पण्डित भन्छन्, ‘यसलाई गर्भपतन गराउँन महिलाहरु समाजको डरले लुकेर दर्ता नै नभएको स्वास्थ्य सस्थामा पुग्छन् । त्यसरी लिएको सेवा पूर्ण हुदैन । कुनै पनि बेला स्वास्थ्यमा समस्या आउँन सक्छ ।’, डा. पण्डित देशमा गर्भपतनको तथ्यांक निकै भयावह भएको सुनाउँछन् । हरेक वर्ष कम्तिमा १२ लाख महिला गर्भवती हुन्छन् तर, ६ देखि ७ लाखको बिचमा मात्रै महिला सुत्केरी हुन्छन् । यो बिचको लाखौं गर्भवती महिलाले कुनैन कुनै रुपमा गर्भ फाल्ने गरेको उनको भनाई छ । चिकित्सकहरु भन्छन् यसले मातृ मृत्युदर बढाउँछ ।

प्रसुती तथा स्त्री रोग र एमडिजिपी चिकित्सकले मात्रै गर्भपतन गराउने व्यवस्था छ । जिल्लाहरुमा यो दुवै जनशक्ति छैन । जिल्ला अस्पताल सबै सुचिकृत गरेको बताए पनि व्यवहारमा त्यस्तो छैन । १२ हप्ता सम्मको गर्भपतन गराउँन जिल्ला अस्पताल सुचिकृत रहेका छन् । तर, १२ हप्ता भन्दा बढीको गर्भपतन गराउँन प्रसुती तथा स्त्री रोग चिकित्सक हुनुपर्छ । वा तालिम लिएको एमडिजिपी चिकित्सक आवश्यक पर्छ डा. पण्डित सुनाउँछन् । डा पण्डितले भने, ‘मधेश प्रदेश भर २८ हप्ता सम्मको तालिम लिएका २ जना मात्रै स्वास्थ्यकर्मी छन् । त्यसैले असुरक्षित गर्भपतन भइरहेको छ । गर्भपतन धेरै गराएर जनतालाई फाइदा पुग्ने हैन ।’,

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्या प्राध्यापक डा. अंकुर साहले लिंग पहिचान गरेर गर्भपतन गराउने परिपाटी पनि बिकास भएको बताए । ‘समाजमा महिला र पुरुष पेटमा हुँदै हेरेर आफूले नचाहेको अवस्थामा गर्भपतन गराउने परिपाटीको बिकास पनि हुदै आएको छ’ डा. साहले भने, ‘तर, यो सम्बन्धित सेवा ग्राही र चिकित्सकको बिचमा मात्रै जानकारी हुने भएकाले पुष्टि गर्न सहज छैन ।’, नियम अनुसार लिंग पहिचान गर्न पाइँदैन, त्यसैले हामीले यसलाई कम गराउने भनेको संचारजगतबाट अवरनेस मात्रै हो ।

                                                                            तथ्यांक अनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार नेपालमा ५७ प्रतिशत महिलाले असुरक्षित रुपमा गर्भपतन गराइरहेका छन् ।
स्वास्थ्य सेवा विभागका अनुसार देशमा १५ सय स्वास्थ्य संस्था गर्भपतनको सेवा दिन सूचीकृत छन् । ‘सूचीकृत स्वास्थ्य संस्थाबाट बि.स २०६० देखि हालसम्म १४ लाख ६४ हजार १५ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् । गर्भपतनको सेवा लिनेहरु अधिकांश २० वर्षभन्दा मुनिका छन् ।

मेरी स्टोप्स इन्टरनेशनलका म्यानेजर कुमार आचार्यले गलत रुपमा हुने गर्भपतनका औषधिको प्रयोगमा सबै सचेत हुनुपर्ने बताए । उनले नेपालमा दर्ता भएका गर्भपतन गराउने औषधिहरु मेडाबोन, एमटिपी किट, प्रिग्नो किट, साइनो पिल, मिफिसो, एन्टिप्रेग किट, मुक्ति किट, मारिप्रिस्ट गरी ८ वटा मात्रै भएको बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com