लैङ्गिक समानता र सामाजिक समावेशीकरणका मुद्दालाई प्राथमिकता दिन्छु : मेहता


काठमाडौं । सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका सीताराम मेहताले लैङ्गिक समानता र सामाजिक समावेशीकरणका मुद्दालाई प्राथमिकता दिने बताएका छन् । स्वास्थ्य लाइभसँगको कुराकानीमा उनले यी विषयलाई आफूले विशेष प्राथमिकता दिने बताएका हुन् ।

संविधान बनाउँदा नै आफूले लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विषयमा विशेष योगदान दिएका भन्दै मेहताले अब जितेर गएपछि यसलाई कार्यान्वयन गर्न आफूले भूमिका खेल्ने विश्वास दिलाए । समानुपातिक समावेशी संविधान बनाउन कांग्रेसले विशेष भूमिका खेलेको स्पष्ट पार्दै उनले यो संविधानको सफल कार्यान्वयन भए महिलाले मात्रै नभएर दलित, मधेशी, मुस्लिम, आदिवासी जनजाति, थारू समुदायलगायतले पनि समान अवसर पाउने बताए ।

कदमजमको सिद्धान्त प्रतिपादन गर्ने शेर बहादुर देउवा नै अहिले संविधान कार्यान्वयन गर्ने ठाउँमा रहेकाले आफूहरुले महिला समानता र सशक्तीकरणका मुद्दामा आवाज बुलन्द गर्ने मेहताको भनाइ छ । ‘कदमजम भनेको कर्णाली, दलित, महिला, जनजाति, मुस्लिम र मधेशीलाई विशेष प्राथमिकता दिने भनेको हो । यिनीहरूलाई विशेष अवसर प्रदान गर्ने भनेको हो । यो कुरालाई व्यवहारमा लागू गर्न सके महिला मात्रै होइन सबैले समान अवसर र अधिकार प्राप्त गर्छन् । यो मुद्दालाई म जोडतोडका साथ उठाउँछु ।’, कांग्रेसबाट टिकट पाएर उम्मेदवार बनेका मेहताले भने ।

महिला हिंसाविरुद्धको अभियानमा आफूले पनि विशेष साथ र समर्थन दिँदै आएको बताउँदै उनले यी कुरालाई रोक्न आफूले नीतिगत पहल गर्ने प्रस्ट पारे । जुन समाजमा नारीको सम्मान हुन्छ त्यो राष्ट्र नै समृद्ध बन्छ भन्दै मेहताले यो कुरामा ध्यान दिएर काम गर्ने बताए । ‘गरिबका नेता सीताराम मेहता’ भनेर सुनसरीमा परिचित उनले अर्थिक रुपमा विपन्न र शैक्षिक रुपमा पछाडि परेका महिलाहरुको उत्थानका लागि विशेष कार्यक्रम ल्याउन भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com