लौरो लिएर चुनावी मैदानमा उत्रिएका डाक्टरहरुको हरिबजोग


काठमाडौं । लौरो लिएर चुनावी मैदानमा उत्रिएका डाक्टरहरुको हरिबजोग भएको छ ।  मंसिर ४ गते सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन ५ जना डाक्टर लौरो चुनाव चिन्ह लिएर मैदानमा खडा भएका थिए । ती डाक्टरहरुलाई जनताले पत्याएको पाइएन ।

हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर काठमाडौंसहित ५ स्थानमा चिकित्सकहरु चुनावी मैदानमा उत्रिए । तर, चुनावी नतिजाले उनीहरूको लौरोलाई जनताले साथ नदिएको देखिन्छ । ‘बा आमालाई टेकाउने, भ्रष्टाचारीलाई सेकाउने’ भन्दै लौरो अभियानमा होमिएका ती डाक्टरहरुलाई जनताले नै सेकाएका छन् ।

काठमाडौं-४, ललितपुर-२, सप्तरी-३, सर्लाही-२ र बारा-१ बाट लौरो चुनाव चिन्ह लिएर ५ जना चिकित्सक चुनावी मैदानमा खडा भएका थिए । प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ४ बाट डा. अर्चन शम्शेर राणा, ललितपुर क्षेत्र नम्बर २ बाट डा. सुदिन शाक्य, सप्तरी क्षेत्र नम्बर ३ बाट डा. नवीन मण्डल, सर्लाही क्षेत्र नम्बर २ बाट डा. वीरबंश बैठा र बारा क्षेत्र नम्बर १ बाट डा. राकेश न्यौपाने लौरो चुनाव चिन्ह लिएर मैदानमा खडा भएका थिए ।

प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ४ बाट डा. अर्चन शम्शेर राणा १२९५ मत ल्याएर पाँचौ स्थानमा पुगेका छन् । उक्त क्षेत्रबाट कांग्रेस महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले २१३०२ मत ल्याएर विजयी भएका हुन् । डा. राणा एमालेका राजन भट्टराई, राप्रपाका ठाकुर मोहन श्रेष्ठ र स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईभन्दा पनि पछाडि परेका हुन् ।

लौरो चुनाव चिन्ह लिएर प्रतिनिधिसभा ललितपुर-२ बाट उठेका डा. सुदिन शाक्य भने दोस्रो हुन सफल भएका छन् । उनी एमालेका प्रेम महर्जनसँग पराजित भएका हुन् । महर्जनले १५०२५ मत ल्याएर विजयी हुँदा डा. शाक्य ८८८६ मतका साथ उपविजेता बनेका हुन् ।

सप्तरी क्षेत्र नम्बर ३ बाट डा. नवीन मण्डल १४६ मतका साथ नवौं स्थानमा परेका छन् । उक्त क्षेत्रमा कांग्रेसका दिनेश कुमार यादव २६१६६ मतका ल्याएर विजयी भएका छन् ।

सर्लाही क्षेत्र नम्बर २ बाट उठेका डा. वीरबंश बैठा १५३ मत ल्याएर आठौं स्थानमा पुगेका छन् । उक्त क्षेत्रबाट नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादवले २३५२९ मत ल्याएर निर्वाचित भएका हुन् ।

लौरो चुनाव चिन्ह लिएर मैदानमा खडा भएका बारा क्षेत्र नम्बर १ बाट डा. राकेश न्यौपाने ५९३ मत प्राप्त गरेर सातौं स्थान सुरक्षित गरेका छन् । उक्त क्षेत्रमा पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै एमालेका अच्युत मैनाली निर्वाचित भएका छन् । मैनालीले ३९१९५ मत ल्याएर विजयी हुँदा चौधरीले ३००५६ मत ल्याएर हारेका छन् ।

लौरो चुनाव चिन्ह लिएर रुपन्देही-२ बाट उठेका डा. निकोलस भुसालको उम्मेदवारी भने निर्वाचन आयोगले खारेज गरिदिएपछि उनी चुनावी प्रतिस्पर्धामा आउन पाएनन् । अरु ५ चिकित्सकको लौरोले भने खासै काम गरेन ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा ई. बालेन शाह लौरो चुनाव चिन्हबाट निर्वाचित भएपछि यी ५ चिकित्सक पनि लौरो चिन्ह लिएर चुनावी मैदानमा खडा भएको देखिन्छ । तर यो पटकको लौरोले डाक्टरहरुलाई टेकाउन सकेको देखिएन ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. अर्चन शम्शेर राणा, #डा. राकेश न्यौपाने, #डा. वीरबंश बैठा, #डा. सुदिन शाक्य, #डा.. नवीन मण्डल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com