कोरोनामा सरकारी जग्गा हडप्ने चाम्लिङले महानगरलाई चुनौती दिँदै सटर हाले


काठमाडौं । कोरोनाकालमा सरकारी जग्गा हडप्ने भूमाफिया इन्द्र कुमार चाम्लिङले काठमाडौं महानगरपालिकालाई चुनौती दिँदै सटर हालेका छन् ।

सरकारी जग्गामा भएको अनधिकृत संरचना हटाउने अभियानमा लागेकाे काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई चुनौती दिँदै उनले फेरि सटर हालेका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित भत्काएको ३ वटा अनधिकृत संरचनामा चाम्लिङले फेरि सटर हालेर मर्मत गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको निर्देशनमा भूमाफिया चाम्लिङले हडपेको सरकारी जग्गाको रेखाङ्कन भइसकेको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको सक्रियतामा उनले हडपेको सरकारी जग्गामा रेखाङ्कन गरिएको थियो । त्यपश्चात चाम्लिङले ३/४ वटा अनधिकृत संरचना भत्काउन सुरु गरेका थिए । तर निर्वाचनको मौका छोप्दै फेरि चाम्लिङले भत्काएको संरचना पनि पुननिर्माण गरेर भाडामा लगाएका छन् ।

काठमाडौं महानरपालिकाले रेखाङ्कन गरेपछि चाम्लिङले ६ वटा घर खाली गराएका थिए । फेरि उनले खाली गराएको संरचना भाडामा लगाएका छन् । झिकेका सटर र झ्याल ढोका हालेर फेरि भूमाफिया चाम्लिङले पुरानै धन्दा चलाएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले चाम्लिङले बनाएको अनधिकृत संरचना आफै हटाउने दाबी गरेका थिए । तर उनकै आँखा अगाडि चाम्लिङले भत्काएको संरचना फेरि बनाएर भाडामा लगाएका छन् । एउटा घरमा त ३/४ दिन अगाडि नयाँ होटल सञ्चालनमा ल्याइएको छ ।

देवीनगरका स्थानीय वासिन्दाहरु चाम्लिङले फेरि सटर हाल्नुमा वडाध्यक्ष केसीको भूमिका शंकास्पद रहेको टिप्पणी गर्छन् । चाम्लिङले वडाध्यक्ष मिलाइसके भन्दै हिँड्नुले पनि उनको भूमिकामाथि शंका उत्पन्न भएको हो ।

उक्त ठाउँमा राजेश झा, पर्शुराम राई, अष्टमान महर्जन, हेमराज घिसिङले अनधिकृत संरचना भत्काउन सुरु गरेका थिए । सरकार र काठमाडौं महानगरपालिका सुस्ताएको अवस्थामा चाम्लिङ र घिसिङले फेरि रातारात भत्काएको संरचना ठड्याएर भाडामा लगाएका छन् ।

चाम्लिङले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र त्यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिलाई ठाडो चुनौती दिएका हुन् । काठमाडौं महानगरपालिकाले गरेको रेखाङ्कनमा चाम्लिङले १० वटा अनधिकृत संरचना बनाएको खुलेको थियो ।

क्याटेगोरी : सार्वजनिक सरोकार
ट्याग : ## इन्द्र चाम्लिङ, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com