एक वर्षमा २९१ जना स्पाइनल इन्जुरीका बिरामीको शल्यक्रिया

डा. गौरवराज ढकाल सबैभन्दा कम शल्यक्रिया गर्ने चिकित्सक


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले एक वर्षमा २९१ जना बिरामीको स्पाइनल कर्ड इन्जुरीको शल्यक्रिया गरेको छ । विपन्न नागरिक उपचार कार्यक्रम अन्तर्गत स्पाइनल कर्ड इन्जुरीको सेवा पर्छ ।

अस्पतालका निर्देशक डा. रुद्र प्रसाद मरासिनीले २९१ जनाको पूर्ण निःशुल्क शल्यक्रिया गरिएको बताए । ‘सेवा लिनेहरुको संख्या धेरै ठूलो छ तर, यो संख्या भनेको शल्यक्रियाको हो’, उनले भने ।

नेपाल सरकारले स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई उपचारका लागि एक लाख रूपैयाँ दिने निर्णय गरेको छ । सरकारको सोही नीति अनुसार सेन्टरले बिरामीको सेवा गर्दै आएको छ । यसबाट भुइँ मान्छेहरुले ठूलो लाभ लिएका छन् ।

स्पाइनलको उपचारमा लाग्ने इम्प्लान्ट समेत अस्पतालले निःशुल्क गरेको निर्देशक डा. मरासिनीले स्वास्थ्य लाइभलाई बताए । उनका अनुसार एक बिरामीका लागि विगतमा १ देखि ४ लाख रुपैयाँसम्म खर्च हुने गरेको थियो । तर, अहिले उपचारमा हुने मनपरी केही रोकिएको छ ।

निर्देशक मरासिनीका अनुसार करिब ५० हजार इम्प्लान्टको खर्च हुन्छ । २५ हजार शल्यक्रिया शुल्क रहेको छ । वेड चार्जलगायत अन्य खर्च गर्दा ९० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ ।

 डा. गौरवराज ढकालले सबैभन्दा कम शल्यक्रिया गरेका छन् । उनले एक वर्षमा जम्मा १२ वटा मात्रै शल्यक्रिया गरेको देखिएको छ । ढकाल न्याम्समा कार्यारत करारका चिकित्सक हुन् । करारमा राखिएका चिकित्सकले अन्य चिकित्सकको जति पनि शल्यक्रिया नगरेपछि उनलाई राख्नुको कुनै औचित्य नभएको भन्दै ट्रमा सेन्टर प्रशासनले प्रश्न उठाएको छ ।

सेवा नै नगर्ने चिकित्सकलाई पटकपटक किन म्याद थपेको भन्दै राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न गरेको छ । अस्पतालका निर्देशक डा. मरासिनीले कामै नगर्ने ढकाललाई अर्थोपेडिक विभागमा राख्नु उपयुक्त नहुने बताएका छन् । उनले सेवामा निरन्तरता गराए न्याम्सबाटै तलब भत्ताको व्यवस्था गर्नुपर्ने बताए । कामै नगर्ने चिकित्सकलाई तलब भत्ता ट्रमा सेन्टरले खुवाउन नसक्ने निर्देशक मरासिनीको भनाई छ । डा. ढकालमाथि अर्थोपेडिकका बिरामी नहेर्ने आरोप पनि चिकित्सकहरुले लगाएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com