स्वास्थ्यमन्त्री र राज्यमन्त्रीले वीरमा रिबन काटेको फोटो भाइरल


काठमाडौं । वीर अस्पतालमा नवनियुक्त स्वास्थ्यमन्त्री पदम गिरी र राज्यमन्त्री तोशिमा कार्कीले रिबन काटेको फोटो भाइरल भएको छ । बिहीबार वीर अस्पतालमा २० वर्षपछि नयाँ क्याथ ल्याब सेवा सुरु गरेको अवसरमा स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री कार्कीले रिबन काटेको फोटो सामाजिक सञ्जालमा आलोचनसहित भाइरल बनेको हो ।

मन्त्री र राज्यमन्त्रीले रिबन काटेको फोटो सामाजिक सञ्जालमा हाल्दै नागरिक अगुवादेखि पत्रकारसम्मले आलोचना गरेका छन् । उक्त फोटोले सामाजिक सञ्जाल तताएको छ । स्वास्थ्यमन्त्री गिरीले माथिको रिबन र राज्यमन्त्री कार्कीले तलको रिबन काटेको दृश्यले समाजिक सञ्जाल तताएको हो ।

अनलाइन खबरका सम्पादक वसन्त बस्नेतले मन्त्रीले काट्ने रिबन । राज्यमन्त्रीले काट्ने रिबन भनेर उक्त फोटो ट्वीट गरेका छन् । उक्त फोटोलाई रिट्वीट गर्दै नागरिक अगुवा एवं पूर्वमन्त्री देवेन्द्रराज पाण्डेले ‘हे राम !’, लेखेका छन् ।

पत्रकार विपेन्द्र कार्कीले पनि उक्त फोटो हाल्दै आफूहरुले डा. तोशिमा कार्कीलाई यो रुपमा हेर्न नचाहेको टिप्पणी गरेका छन् ।

नयाँ पत्रिकाका कार्टूनिष्ट रवि मिश्रले रिबन काटेको फोटो ट्वीट गर्दै लेखेका छन् । ‘बिरालो बाँध्ने,सराद्दे गर्ने चलन आलोच्य थियो । त्यही आलोचनाबिच चुनाव जितेर नयाँ पार्टी आयो। तोशिमा कार्कीजी राज्यमन्त्री हुनुभो। उत्सुकता थियो-“अब बिरालो के हुन्च?”
उहाँ त”मन्त्रीलाई मात्रै बिरालो? मलाइ खै?’ भन्दै अर्को नि बिरालो खोजेर दुइटा बिरालो बाँधेर सराद्दे गर्न बस्नुभएछ।’,

 

शिक्षाका क्षेत्रमा काम गर्दै आएका रुद्र पाण्डेले स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री कार्कीले रिबन काटेको फोटोलाई ट्वीट गर्दै ‘मन्त्री भएको ठाउँम भाग खान राज्यमन्त्री गएपछि यो तमाशा देखन पाईन्छ। यी टाई फ़ुई गर्ने बहिनीको यति अक्कल पनि नभाको देखदा “जून जोगी आए पनि कानै चिरेका” भन्ने याद आयो । अर्को चुनावमा यीनको बिरुद्धमा उठनेले यो फ़ोटो देखाएर यीनलाई “अर्ति वर्ति क्या हो” भनेर गाउ खाने कथा सोध्नु ।’, लेखेका छन् ।

अहिले रिबन काटेको फोटोले सामाजिक सञ्जाल जर्मुराएको छ । कोरोनाकालमा ओम्नी काण्डले चर्चामा रहेको स्वास्थ्य मन्त्रालयको अहिले रिबन काण्डले चर्चा चुलिएको छ ।

मन्त्रीले सदर गरेको फायलमा आफूले पनि हस्ताक्षर गर्नुपर्ने अडान लिएकी राज्यमन्त्री कार्कीले मन्त्रीले रिबन काट्दा आफ्नो पनि सहभागिता खोजेपछि रिबन काटेको विवादमा तानिएको हो । फरक पार्टीबाट राज्यमन्त्री बनेकी कार्कीको ढिपीले गर्दा मन्त्रालय नै विवादमा पर्न थालेको स्वास्थ्यका उच्च अधिकारीहरुको टिप्पणी रहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. तोशिमा कार्की स्वास्थ्य राज्यमन्त्री, #स्वास्थ्यमन्त्री पदम गिरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com