अस्पताल बन्ने पैसा भाडा तिरेरै सक्यो अरुण गाउँपालिकाले


काठमाडौं । पूर्व पहाडमा एउटा स्तरीय स्वास्थ्य संस्था (अस्पताल) बन्न सक्ने पैसा भोजपुरको अरुण गाउँपालिकाकाले भाडा तिरेरै सकेको रहस्य खुलेको छ ।

भोजपुरको अरुण गाउँपालिकाले मासिक १ लाख ६५ हजार रुपैयाँमा कार्यालय भवन भाडामा लिएर ६ वर्षदेखि भाडा तिरिरहेको छ । गाउँपालिकाले वार्षिक झन्डै २० लाखका दरले अहिलेसम्म झन्डै १ करोड २० लाख कार्यालय भवनको भाडा नै बुझाएको छ । यो बजेट भनेको एउटा अस्पतालाको गतिलो भवन बन्ने बजेट हो ।

सरकारी कार्यालय भाडाको घरमा लिँदा त्यसबापत मोटो रकम कमिसन पाउने भएकाले आफ्नै भवन बनाउन खोज्दैनन् । त्यस्तै देखिएकाे छ भोजपुरको अरुण गाउँपालिकाको अवस्था ।

स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार भवन भाडामा लिँदा गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्की रहेका थिए ।  उनी नेतृत्वको कार्यपालिकाले चर्को भाडामा कार्यालय भवन लिएर ५ वर्षसम्म भवन बनाउने ठाउँ खोजेको पाइँदैन । बजेट छुट्याए जस्तो गर्ने र फ्रिज गराउने अकर्मण्यता देखाउन काम मात्र भएको पाइन्छ ।

अहिले अरुण गाउँपालिकाले गाउँपालिकाको केन्द्र प्याउलीलाई विस्तार गर्ने गरी २० रोपनी जग्गा प्राप्त गरेको छ । अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उक्त ठाउँमा गाउँपालिका कार्यालय भवन बनाउने निर्णय गरेको छ । अब छिट्टै गाउँपालिका भवन बन्ने निश्चित भएको छ । तर भाडामा घर लिएका पूर्व पदाधिकारीहरु नयाँ भवन बन्ने भएपछि तिल्मिल्याएका छन् ।

प्राप्त जग्गामध्ये उपयुक्त ठाउँमा भवन बनाउने भएपछि बाटो नभएको बगुवा खेतमा भवन बनाउनु पर्ने भनेर भाडामा लगाउनेहरुलाई उचालेर ताला समेत लगाउन खोजेका छन् । उनीहरूको उद्देश्य भवन बन्न नदिने र कमिसन पचाउने दाउ मात्र रहेको खुल्न आएको छ । चर्को मूल्यमा अरुण गाउँपालिकाले भाडामा घर लिएको विषयमा राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न जरुरी छ ।

क्याटेगोरी : सुशासन
ट्याग : #अरुण गाउँपालिका भोजपुर

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com