पूर्व मन्त्री भद्रा घलेको सदनमा डोजर लगाउने काठमाडौं महानगरको तयारी


काठमाडौं । देवीनगस्थित भद्राकुमारी घले सेवा सदनमा काठमाडौं महानगरपालिकाले डोजर लगाउने तयारी थालेको छ ।

औषधि पसलसहित झन्डै ९ रोपनी सरकारी जग्गामा स्थापित भद्रा घले सेवा सदनमाथि डोजर लगाउन काठमाडौं महानगरपालिका सक्रिय भएको हो । घले पञ्चायती व्यवस्थाकी मन्त्री हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका स्वकीय सचिव भुपदेव शाहले भद्रा घलेमा डोजर लगाउने तयारी भइरहेको स्वास्थ्य लाइभलाई जानकारी दिए ।

देवीनगरमा भूमाफिया इन्द्र चाम्लिङलगायतले सरकारी जग्गा कब्जा गरेर बनाएको संरचनामा डोजर लगाएको महानगरपालिकाले भद्रा घलेले हडपेर बनाएको संरचनामा पनि डोजर लगाउन खोजेको हो ।

भूमाफिया चाम्लिङले कब्जा गरेको जग्गा पूर्ण रुपमा खाली नहुँदै महानगरपालिका भद्रा घले हान्न तम्सिएको छ । भद्रा घलेमा सुन्दर पार्क बनाउने महानगरपालिकाको योजना रहेको छ ।

शाहका अनुसार भद्रा घलेले कति सरकारी जग्गा कब्जा गरेको हो एकिन गर्ने काम भइरहेको छ । सम्पूर्ण कागजात एकिन गरेर प्रक्रिया पूरा हुनासाथ भद्र घलेमा डोजर लाग्ने उनको भनाइ छ ।

घलेले राजनीतिक पहुँचका आधारमा धोबीखोला करिडोरमा ९ रोपनी जग्गा कब्जा गरेकी हुन् । आफ्नो नाममा रहेको जग्गा प्लटिङ गरेर बेचेकी उनले नजिकै रहेको सरकारी जग्गा हडपेर भद्रा घले सेवा सदन खोलेकी छिन् ।

सरकारी जग्गामा बनेको संरचनाबाट भाडा उठाएर खाने काम समेत भइरहेको छ । यो कुराको जानकारी पाएपछि उक्त ठाउँमा महानगरपालिकाले डोजर लगाउने तयारी गरेको हो ।

काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी सरकारी/सार्वजनिक जग्गा रहेको वडा नम्बर १० र २९ हो । सयौं रोपनी सरकारी जग्गा भएका ती वडाका वडाध्यक्षहरु सरकारी/सार्वजनिक जग्गा अनिच्छुक र असफल भएका छन् । यो विषयमा महानगरपालिकाले विशेष चासो देखाउनु पर्ने स्थानीयको भनाई रहेको छ ।

क्याटेगोरी : सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ