अनुमति र ईआईए नगरी शिवपुरीको डाँडा काट्ने गोकर्णेश्वरका मेयर र कार्यकारी एक वर्ष जेल जान सक्ने


काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जन्तरे डाँडामा अनुमति र ईआईए नगरी डोजर लगाएर डाँडा काट्ने गोकर्णेश्वरका मेयर र कार्यकारी एक वर्ष जेल जाने सम्भावना देखिएको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार गोकर्णेश्वरका मेयर दिपक रिसाल र प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटामाथि मुद्दा दायर हुन लागेको छ । उनीहरूमाथि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र निकुञ्जसँग विनाअनुमति मध्यवर्ती क्षेत्रमा डोजर लगाएको अभियोगमा मुद्दा दायर हुन लागेको छ । अभियोगपत्र दर्ताका  लागि सहायक संरक्षण अधिकृत सिर्जना श्रेष्ठलाई अख्तियारी दिइएको कार्यालयले जानकारी दिएको छ ।

गोकर्णेश्वरका मेयर रिसाल र प्रमुख प्रशासकीय अधिकृत सापकोटामाथि अवैध रुपमा रुख काटेर बेचबिखन गरेको आरोपमा समेत मुुद्दा लगाउन लागिएको हो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालयले विनाअनुमति मध्यवर्ती क्षेत्रमा डोजर चलाएको अभियोगमा उनीहरूमाथि  मुद्दा चलाउन सिफारिस गरेको हो ।

गोकर्णेश्वरका मेयर रिसाल र प्रमुख प्रशासकीय अधिकृत सापकोटामाथि १ वर्षसम्म कैद र बिगो बमोजिमको जरिवानासहित अभियोग लगाउन सक्ने आधार सेव प्रस्तुत गरिएको छ ।

निकुञ्ज कार्यालयका अनुसार नगरपालिकाले  अनुमति, डिपिआर र वातावरण प्रभाव मूल्यांकन नगरी डोजर लगाएर मध्यवर्ती क्षेत्रको डाँडा काट्न थालेको हो  । स्टिमेट, ठेक्का सम्झौता र कार्यदेश बेगर खेल मैदान बनाउने नाममा डोजर चलाएको निकुञ्ज स्रोतले भनाइ छ ।

वातावरण ऐन, २०७६ मा कुनै पनि आयोजना (प्रस्ताव) को वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत नगराई कार्यान्वयन गरे वा त्यसविपरीत काम अघि बढाए ५० लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । नगरपालिकालाई ५० लाख जरिवान समेत हुने सम्भावना देखिन्छ ।

वीनास्वीकृति १९ वटाभन्दा बढी रुख काटेर बेपत्ता बनाइएको निकुन्जले जनाएको छ । गोकर्णेश्वर नगरपालिका मेयर रिसाल, प्रमुख प्रशासकीय अधिकृत सापकोटा उक्त कार्यको जिम्मेवार भएको निकुन्ज स्रोतको दाबी छ ।

निकुञ्ज कार्यालयका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (६) बमोजिम १ वर्षसम्म कैद सजाय मागसहित अभियोगपत्र दर्ता हुने सम्भावना छ ।

अभियोग पत्र दर्ताका लागि निकुञ्जले सहायक संरक्षण अधिकृत सिर्जना श्रेष्ठलाई अनुसन्धान अधिकृत तोकिसकेकाले  गोकर्णेश्वरका मेयर रिसाल र कार्यकारी सापकोटाको पद धरापमा परेको टिप्पणी हुन थालेको छ ।

क्याटेगोरी : सार्वजनिक सरोकार
ट्याग : #गोकर्णेश्वर नगरपालिका

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com