आर्थिक रुपमा जर्जर बनेको वीपी प्रतिष्ठान कसरी सुध्रिएला ?


काठमाडौं । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक रुपमा जर्जर भईसकेको समाचार विभिन्न समयमा पत्रपत्रिकाहरुमा आउने गरेका छन् । कुनै बेला दक्षिण एशियाकै सुविधा सम्पन्न अस्पतालको रुपमा परिचित यो अस्पतालको स्तर दिनानुदिन खस्कदै गएको कुरा यहाँ आउने सबैले महशुस गर्ने गरेका छन् । लेनदेनमा पदाधिकारीहरुको नियुक्ति हुने परम्पराले यहाँ हरेक खरिदहरुमा चरम भ्रष्टाचार हुने गरेको आरोप लाग्दै आएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको धेरै पटक छापा पर्नु , अनुसन्धानका लागी यहाँ कार्यरत सरोकारवालाहरुलाई समय समयमा वयानका लागी बोलाउनुले पनि सर्वसाधरणको नजरमा भ्रष्टाचार भएको भन्ने कुरा विश्वासिलो भएको छ ।

अस्पतालमा आवश्यकता अनुसारको आइसियु बेड छैन भनेर धेरै पटक यसलाई सुधार्ने कुरा भइसकेको छ तर समस्या जस्ताको त्यस्तै छ । यहाँबाट आइसीयुमा राख्नु पर्ने बिरामी बिराटनगर रिफर गरेर मोटो रकम कमिसनको रुपमा सम्बन्धितहरुले कुम्ल्याइरहेका छन् । त्यस्तै अत्यावश्यक एमआरआइ मेशिन बिग्रिएको भनिएको बर्षौं भइसकेको छ । कमिसनको लोभमा कमशल मेशिन खरिद गरिएको चर्चा छ भने त्यस्तो जाँच पनि बिराटनगर पठाएर रकम लिने गरिएको छ । सिटी स्क्यान , भिडियो एक्स-रे , एक्स-रे र अन्य प्रयोगशाला परिक्षणहरु पनि बिमा हुनेहरुले र पेयिंगमा गर्न सक्ने हैसियत भएकाहरुले ममात्र प्रतिष्ठान भित्र गर्ने गरेका छन् । बाँकी सबै बिरामीहरुलाई बिभिन्न बहानामा बाहिर खोलिएका सम्बन्धित स्थानहरुमा पठाउने गरिएको छ । यसरी पठाउने व्यक्ति प्रतिष्ठान कै तलब खाएर बसेकाहरु धेरै छन् ।

आफ्नो आर्थिक स्थिति केही मात्रामा भए पनि बलियो बनाउन प्रतिष्ठान आफैले फार्मेसी सन्चालन गरेको छ । यहाँको बेथिती पनि उल्लेख्य नै छ । तमाम समस्याहरु संग जुझ्दै सन्चालीत यो फार्मेसीलाई डुबाउन यहाँ कार्यरत केही डाक्टर, कर्मचारी र नर्सहरु लागी परेका छन् ।

अधिकांशको बाहिर आफ्नै फार्मेसी संचालनमा छ । उनीहरुको परिवारको सदस्य वा व्यवसायिक पार्टनरों नाममा दर्ता भएका यस्ता औषधि पसलहरुमा बिरामीलाई बिभिन्न बहानामा औषधी खरिद गर्न पठाउन यिनीहरु सक्रिय रहन्छन् । सबभन्दा ठूलो बिकृति अपरेसन गर्नु पर्ने केसमा रहेको छ । फलाना पसलमा औषधी किन्ने भए अपरेसन विमाबाट वा रुटीनमा छिट्टै गरिदिने भनेर बिरामीलाई आफ्नो लगानी भएको फार्मेसीमा औषधि किन्न पठाउने गरिएको छ । यस कार्यले प्रतिष्ठानको आय आर्जनको एउटा प्रयास असफल हुँदै आएको छ । अझ बिरामीलाई समेत मारमा पार्ने कार्य अपरेसन थिएटर भित्र काम गर्ने हेल्परस्तरको कर्मचारीहरुले गरिरहेका छन् । यिनीहरुले बिरामीलाई चाहिने सम्भावित औषधी र सर्जिकल सामाग्रीहरु अपरेशनको क्रममा प्रयोग नभएता पनि ती औषधी र सामान बिरामीलाई थाह नदिइ बिभिन्न वाहनमा आफैं राखी बाहिर रहेको आफ्नै लगानी रहेको फार्मेसीमा पुर्याएर त्यहाँबाट पुनः अर्को बिरामीहरुलाई बिक्री गर्ने गरेको पाईएको छ ।

अस्पताल बाहिर रहेका सयौंको संख्यामा रहेका फार्मेसीहरु मध्ये प्रतिष्ठानमा कार्यरतहरुको पसलहरुमा मात्र भिडभाड हुनुले पनि यो कुराको पुष्टी गरेको छ । समय छदैं प्रतिष्ठानले यस्ता बिकृति रोक्ने कुनै बलियो उपाय निर्णय गरेर त्यसलाई कार्यान्वयन नगरे वीपीको स्तर अझ खस्कदै जाने निश्चित छ ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com