बालेन भन्छन्, ‘सार्वजनिक ठाउँहरु खुल्ला राखौं’, स्वास्थ्य र वडा भवन छुट्टै बनाउने पक्षमा वडाध्यक्ष


काठमाडौं । सार्वजनिक ठाउँहरु खुल्ला राख्ने विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह र वडाध्यक्षबीच फरक मत देखिएको छ ।

मेयर बालेन सार्वजनिक ठाउँहरु खुल्ला राख्ने पक्षमा देखिएका छन् । तर, २९ नम्बरका वडाध्यक्ष कुश ढकाल वडा भवन र स्वास्थ्य भवन छुट्टाछुट्टै बनाएर सार्वजनिक जग्गामा कंक्रिट थप्ने पक्षमा छन् ।

‘सार्वजनिक ठाउँहरु खुल्ला राख्नु पर्ने हो । ताकि भोलि हुन सक्ने अफ्ठ्याराहरुमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् । आजैदेखि सावधान बनौँ ।’, मेयर बालेनले महाभूकम्प गएको ८ वर्ष पुगेको सन्दर्भमा लेखेका छन् । वडाध्यक्ष ढकाल भने अनामनगरका खाली जग्गामा वडा भवन, स्वास्थ्य भवन छुट्टाछुट्टै बनाएर सार्वजनिक जग्गा खुल्ला नछाड्ने पक्षमा देखिएका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ को वडा भवन अनामनगरमा बनाउन खोजिएको छ । वडाले नेपाल सरकारबाट जग्गा प्राप्त नगरी वडा भवन निर्माण गर्ने प्रक्रिया अघि बढाउन खोजेको देखिन्छ । अनामनगरस्थित समाजिक विकास समाजको सक्रियतामा भूमाफियाबाट जोगिएका सरकारी/सार्वजनिक जग्गामा वडाले पेलेर भवन बनाउन खोजेको स्थानीयको आरोप छ ।

कित्ता नम्बर १० को १ रोपनी ९ आना कित्ता नम्बर ९ को १ रोपनी ६ आना र कित्ता नम्बर ८ को १ रोपनी १ आना जग्गा अहिले खाली देखिन्छन् । वडाले कित्ता नम्बर ८ को १ रोपनी १ आना जग्गामा वडा भवन र अरू कित्तामा स्वास्थ्य भवन, क्रियापुत्री भवन बनाउने कुरा अगाडि सारेको छ । वडाध्यक्ष ढकालले ८ नम्बर कित्तामा वडा भवन र अन्य कित्तामा स्वास्थ्य भवनलगायतका संरचना बनाउने बताएका छन् । उनले मेयरको इच्छा भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् । तर, मेयर शाहको सार्वजनिक ठाउँहरु खुल्ला राख्नु पर्ने आजको कुरासँग वडाध्यक्षको कुरा बाझिएको छ ।

अनामनगरको जग्गा संरक्षण गर्नेहरुले भने बीचमा रहेको ९ नम्बर कित्ताको १ रोपनी ६ आना जग्गामा अन्डर ग्राउण्ड पार्किङसहित स्वास्थ्य र वडा भवन एउटै बनाउनु पर्ने पक्षमा छन् । बीचमा सुविधासम्पन्न भवन बनाएर अगाडि पछाडिको खाली जग्गा पार्कसहित खुल्ला छोड्नु पर्ने स्थानीयको माग छ । स्थानीयको माग र मेयरको कुरा मिल्दोजुल्दो छ । तर, वडाध्यक्ष छुट्टाछुट्टै भवन बनाउने पक्षमा रहेकाले सार्वजनिक ठाउँहरु मासिने खतरा देखिन्छ । यो विषयमा मेयर शाहले हस्तक्षेप गरेर वरिपरी खुल्ला ठाउँ र बीचमा भवन बनाउने निर्णयमा पुग्दा उनले आज दिएको अभिव्यक्तिले सार्थकता पाउने देखिन्छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७४ सालमै काठमाडौंका सार्वजनिक जग्गाहरू खुल्ला छोड्नु पर्ने निर्णय गरेको थियो ।  एउटै जग्गामा बहुउद्देश्यीय भवन बनाएर अन्य ठाउँ संरचनाविहीन पार्क बनाएर खुल्ला छोड्न सकिन्छ । यसमा मेयर बालेनले अगुवाइ गर्न आवश्यक देखिन्छ ।

१ रोपनी ६ आना जग्गामा ५ तले भवन बनाउँदा वडा र स्वास्थ्य भवनलाई काफी हुन्छ । यसमा स्थानीयहरू पनि एक ठाउँमा आउने सम्भावना छ । मेयर शाहले यो विषयमा स्थलगत अध्ययन गरेर निर्णय लिन सकेको खण्डमा उनको लाइन अनुसार नै  सार्वजनिक ठाउँहरु खुल्ला रहने अवस्था आउँछ ।

 

क्याटेगोरी : सार्वजनिक सरोकार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #सार्वजनिक खुल्ला ठाउँ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com