महानगरले आँखा चिम्लिदा कोरोनामा जग्गा खाने भूमाफिया चाम्लिङको रजाइँ


काठमाडौं । बानेश्वर देवीनगरस्थित सरकारी जग्गा अतिक्रमण गर्ने भूमाफिया इन्द्रकुमार चाम्लिङ फेरि सक्रिय भएका छन् ।काठमाडौं महानगरपालिकाले आँखा चिम्लिदा कोरोनाको मौका छोपेर सरकारी जग्गा कब्जा गर्ने भूमाफिया चाम्लिङ फेरि चम्किएका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित भूमाफिया चाम्लिङले अतिक्रमण गरेर बनाएका संरचना महानगरले पूर्ण रुपमा नहटाउँदा उनले चलखेल गर्ने मौका पाएका छन् । नगर प्रहरीले डोजर लगाएर छाडेको अतिक्रमित संरचनामा भूमाफिया चाम्लिङले फेरि भाडा उठाउन थालेका छन् ।

सोमबार मात्र उनले सिट नम्बर १०२-११०६-२२ को कित्ता नम्बर ६५ रहेको सरकारी जग्गा भाडामा लगाउन मर्मत थालेका छन् । छिमेकीहरुलाई धम्की दिँदै र अराजकता मच्चाउँदै भूमाफिया चाम्लिङले सरकारी जग्गामा संरचना बनाउने भाडा उठाउने पुरानै धन्दालाई निरन्तरता दिन खोजेको पाइन्छ ।

कित्ता नम्बर ४०९ को सरकारी जग्गामा बनेको अनधिकृत घर भूमाफिया चाम्लिङले हालसालै भाडामा लगाएका छन् । महानगरको डोजरले छाडेको संरचनाबाहेकमा सफा गरेर उनले भाडामा लगाएका हुन् । त्यो ४ तले घरको भत्काउन बाँकी संरचना धेरैजसो सरकारी जग्गामै पर्छ ।

कित्ता नम्बर ५४७, ५५२,५५३, ७७१ र ७७२ मिचेर भूमाफिया चाम्लिङ हरियो घर बनाएका छन् । उक्त घर आधा सरकारी जग्गामा बनेपछि महानगरसँग सेटिङ मिलाएर जोगाएको चर्चा छ । भूमाफिया चाम्लिङले सरकारी जग्गामै घेराबार बनाइ पार्किङ बनाएर निजी गाडी राखेका छन् । उनले ढुंगेधारा समेत हरियो घरको कम्पाउण्डभित्र हालेका छन् ।

भूमाफिया चाम्लिङसँगै रहेको प्रतिमा मल्लको सेतो घरले पनि सरकारी जग्गा मिचेको पाइएको छ । वडा कार्यालयको पहलमा नापजाँच हुँदा मल्ल र धिम्ले प्रेसका खड्ग बहादुर श्रेष्ठले सरकारी जग्गा अतिक्रमण गरेर संरचना खडा गरेको तथ्य सार्वजनिक भएको थियो । तर, महानगरपालिकाले आफैले रेखाङ्कन गरेर छुट्याएको सरकारी जग्गामा बनेको संरचनामा डोजर नचलाउँदा सरकारी जग्गामा भूमाफियाको रजाइँ चलिरहेको छ ।

सरकारी जग्गा खाने भूमाफिया चाम्लिङ फेरि फूर्ति देखाउँदै सरकारी जग्गामा दादागिरी देखाउन थालेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बदनाम गराउँदै उनी सरकारी जग्गामा धन्दा चलाउन सक्रिय भएका हुन् । तर, नगर प्रहरी र वडा कार्यालय यो विषयमा मौन रहेको छ ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं  महानगरपालिकासँग भूमाफिया चाम्लिङले बनाएको संरचनाको विवरण मागेको छ । तर, काठमाडौं महानगरपालिकाले अहिलेसम्म त्यसको जवाफ नपठाएको अख्तियार स्रोतको भनाइ छ । अख्तियारको उक्त पत्र वडा कार्यालयको दराजमा गुपचुप राखिएको चर्चा छ । यसको फाइदा उठाउँदै भूमाफिया चाम्लिङ र एमाले नेता हेमराज घिसिङ फेरि सरकारी जग्गा हडप्ने धन्दामा सक्रिय भएका हुन् ।

क्याटेगोरी : सार्वजनिक सरोकार
ट्याग : ## हेमराज घिसिङ, #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #भूमाफिया इन्द्र कुमार चाम्लिङ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com