डा. बैकुण्ठ मुख्यसचिव बनेसँगै स्वास्थ्य सचिव गुरागाईंसहितको ढोका बन्द


काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्याल मुख्यसचिव बनेसँगै स्वास्थ्य सचिव देवकुमारी गुरागाईंसहितका सचिवको मुख्यसचिव बन्ने ढोका बन्द भएको छ । उनीहरूको मुख्यसचिव बन्ने ढोका डा. अर्यालले बन्द गरिदिएका हुन् ।

सरकारले अवकाश हुनुभन्दा ३ दिन अगाडि डा. अर्याललाई मुख्यसचिव बनाएपछि मुख्यसचिवको लाइनमा रहेका गुरागाईंसहितका सचिव हिस्स परेका छन् । मुख्यसचिवको दौडमा अगाडि रहेका सूर्यप्रसाद गौतम, देवकुमारी गुरागाईं, केवलप्रसाद भण्डारी, सुरेश अधिकारी, तोयम रायलगायत ‘रिङ आउट’ भएका हुन् ।

मुख्यसचिव शंकरदास बैरागी खनाल अवकाश हुनुभन्दा ३ महिना अगाडि राजीनामा दिएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार बन्न हिँडेपछि डा. अर्यालको भाग्य चम्किँएको हो । बैरागीले ३ वर्षे पूरा अवधि मुख्यसचिव खाएको भए डा. अर्याल असार ३ गते घर जाँदै थिए । त्यस्तो भएको खण्डमा गौतम, गुरागाईं, भण्डारी, अधिकारी, रायमध्येबाट मुख्यसचिव बन्ने थिए । तर, २०७७ असोज १५ गते मुख्यसचिव बनेका बैरागी जेष्ठ ३२ गते नै राजीनामा हिँडेपछि घर जाने तयारीमा रहेका डा. अर्यालको भाग्य चम्किँएको छ भने अन्यको मुख्यसचिव बन्ने सपनामा तुषारापात लागेको छ ।

बैरागीले मुख्यसचिव पूरा अवधि खाएको भए सचिव सूर्यप्रसाद गौतम मुख्यसचिवको प्रमुख दाबेदार हुने थिए । युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत गौतम २०७५ फागुन ६ गते नेपाल सरकारको सचिवमा बढुवा भएका हुन् । गौतमपछि स्वास्थ्य मन्त्रालयकी सचिव गुरागाईं मुख्यसचिवको लाइनमा थिइन् । पहिलो महिला मुख्यसचिव बन्ने सपना बोकेर हिँडेकी गुरागाईं २०७५ फागुन २६ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी हुन् । डा. अर्याल मुख्यसचिव बनेपछि उनको सपना सपनामै सीमित भएको छ ।

डा. अर्यालले बाजी मारेसँगै मुख्यसचिवको दौडमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सुरेश अधिकारी पनि हुस्सिएका छन् । भण्डारी २०७५ चैत ११ गते र अधिकारी २०७६ बैशाख १७ गते नेपाल सरकारको सचिवमा बढुवा भएका हुन् । यही आर्थिक वर्षभित्र अवकाशमा जान लागेका सचिव गौतम, गुरागाईं, भण्डारी र अधिकारीको मुख्यसचिव बन्ने सपना डा. अर्यालले सपनामै सीमित गरिदिएको देखिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #खेलकुद सचिव सूर्यप्रसाद गौतम, #मुख्यसचिव डा. बैकुण्ठ अर्याल, #श्रम सचिव केवलप्रसाद भण्डारी, #स्वास्थ्य सचिव देवकुमारी गुरागाईं

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com