हुण्डी कारोबारको अभियोगमा दुर्गा प्रसाईका भाइ युवराज समातिए

जसले रुद्रमती स्कुलको सरकारी जग्गा समेत छाडेनन्


काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईका भाइ युवराज प्रसाई समातिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले युवराजलाई काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित घरबाटै समातेको हो ।

यस अगाडि पनि हुण्डी कारोबार कै मुद्दा लागेर धरौटीमा छुटेका युवराज फेरि हुण्डी कारोबार कै अभियोगमा समातिएका हुन् । न्युरोडका कपडा ब्यापारी उनलाई प्रहरीले घरको कपडा गोदामबाट समातेको हो । सीआईबीको टोलीले समात्दा हुण्डी कारोबारको प्रमाण भएको मोबाइल र महत्त्वपूर्ण कागजात भएको पर्स भने युवराजले हतारहतार फ्यालेको प्रत्यक्षदर्शीको भनाइ छ । उनले मोबाइल फोन शौचालयमा र पर्स फोहोरको भाडामा फ्यालेर प्रहरीलाई उल्लु बनाएको चर्चा छ ।

युवराजले प्रहरीलाई ३/४ दिनदेखि झुक्याइरहेका थिए । उनलाई चौथो प्रयासमा घरबाट समात्न सफल भएको सीआईबीका अधिकारीहरुको भनाइ छ । हुण्डी कारोबारमा संलग्नको आरोप लागेका युवराजलाई छुटाउन न्यायाधीशदेखि प्रहरी कै उच्च अधिकारीहरुको दबाब आउन थालेको स्रोतको दाबी छ । उनलाई भेट्न सीआईबीमा न्यायाधीश नै पुगेको चर्चा चल्न थालेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोरस्थित रुद्रमती स्कुलको जग्गा हडप्ने युवराज अहिले हुण्डीको फन्दामा परेका छन् । उनले सरकारी जग्गा र स्कुलको जग्गा कम्पाउण्डभित्र हाल्दा पनि पूर्ण रूपमा अतिक्रमण हटाउन महानगरले सकेको छैन । स्वास्थ्य लाइभले युवराजले सरकारी जग्गा हडपेको तथ्य सार्वजनिक गरेपछि रेखाङ्कनको काम समेत भएको थियो । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो देखाएको छ । सरकारी जग्गादेखि हुण्डी कारोबारसम्म जोडिएका युवराजलाई छुटाउन शक्ति केन्द्रको दबाब आउन थालेकाले उनी कति शक्तिशाली रहेछन् भन्ने यो घटनाले पुष्टि गरेको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #युवराज प्रसाई, #हुण्डी कारोबार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com