को हुन् हुण्डीको पटकेमा पक्राउ परेका युवराज प्रसाई ?


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरबाट ५० वर्षीय युवराज प्रसाईलाई पक्राउ गऱ्यो । प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई बिहीबार पक्राउ गरेको उल्लेख छ ।

युवराजको घरमा अवैध रूपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको जनाइएको छ ।  अहिले युवराजमाथि जिल्ला अदालत बबरमहल काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

झापाली युवराज हुण्डी कारोबारमा पक्राउ परेको यो पहिलो पटक भने होइन । प्युखाका कपडा ब्यापारी युवराजलाई झन्डै १ दशक अगाडि हुण्डी कारोबारको अभियोगमा अपराध महाशाखाको टोलीले समातेको थियो । उनी प्युखामा रहेको माई पाथीभरा ट्रेडर्सका सञ्चालक समेत हुन् ।

तत्कालीन समयमा अपराध महाशाखाको टोलीले युवराजका भतिज निर्दोष प्रसाईबाट १९ लाख ७१ हजार, हुण्डी गर्न पैसा लिएर आउने राजन पौडेलबाट ३२ लाख ५० हजार र उक्त ट्रेडर्समा हुण्डीको कारोबार गर्न आउने  अमित खरेल, रोहित दुलाल र टलकबहादुर तामाङलाई १ करोड ३७ लाख नेपाली र १ लाख भारतीय रुपैयाँसहित पक्राउ गरेको थियो ।

युवराजले पसलमा काम गर्ने प्रल्हाद गौतम र एक चिनियाँ नागरिकलाई प्रयोग गरी त्यो बेला उम्किएको अपराध महाशाखामा काम गर्ने एक प्रहरी अधिकारीले बताए । युवराजले प्रयोग गरेका चिनियाँ नागरिक झावा युलाई हुण्डीको ८४ लाखसहित फेरि प्रहरीको लौनचौर वृत्तले पक्राउ गऱ्यो । यो काण्डमा युवराजका कामदार गौतम पनि समातिए । पछि गौतम छटे । चनियाँ नागरिक झावालाई भने प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझायो । चिनियाँ नागरिकले आफ्नो नाम पोल्ने खतरा भएपछि ८४ लाख धरौटी बुझाएर युवराजले छुटाएको प्रहरीको दाबी छ । युवराज अहिले पनि हुण्डी कै अभियोगमा समातिएका हुन् ।

७/८ वर्ष अगाडि न्यूरोडबाट हुण्डीको अभियोगमा अपराध महाशाखाद्वारा समातिएका युवराज अहिले सीआईबीद्वारा देवीनगर घरबाटै समातिएका हुन् । तर, त्यो बेला जस्तै उनलाई छुटाउन प्रहरीमाथि उच्च दबाब देखिन्छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोरमा सरकारी जग्गा हडपेर कम्पाउण्ड र सटर हाली भाडा खाएका युवराज अहिले सीआईबीको फन्दामा परेका हन् । नगर-१० सिट नम्बर १०२-११०६-२२ को कित्ता नम्बर ४४६ र २१४ नम्बर सरकारी जग्गा अहिले पनि उनले अतिक्रमण गरिरहेका छन् । जहाँ रुद्रमती आधारभूत विद्यालय रहेको छ ।  स्कुलको जग्गा नै हडपेकाले यो विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तत्काल एक्सन लिन जरुरी छ ।

हुण्डी कारोबारमा पटकपटक समातिएका युवराजकी श्रीमती सीता प्रसाईको नाममा रहेको कित्ता नम्बर ४६१ मा बनेको ५ तले घर र अन्य सम्पत्तिमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धान थाल्न आवश्यक देखिन्छ । हुण्डीको पटकेमा पक्राउ परेका युवराजमाथि गम्भीरतापूर्वक अनुसन्धान गर्न जरूरी छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #धोबीखोला देवीनगर, #युवराज प्रसाई, #रुद्रमती स्कुल, #हुण्डी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com