इम्बोस्डमा विकलले रोपेको ‘भ्रष्टाचार’को बिउ रामचन्द्रले हुर्काए


समाचार टिप्पणी

काठमाडौं । आइटी क्षेत्रका माफिया भनेर विकल र सुनिल पौडेललाई चिनिन्छ । स्वास्थ्य लाइभले आइटी माफिया पौडेलबन्धु विकल र सुनिलको ‘नेक्सस’ पत्ता लगाउन निरन्तर प्रयास गरिरहेको छ । आइटीमा राज्यकोष लुट्ने विकलको हतियारको मतियार धेरै बनेको पाइन्छ ।

राज्यकोष लुट्ने डिजाइनका साथ आइटी माफिया विकल पौडेलले सारेको इम्बोस्ड नम्बर प्लेटमा भने अर्का पौडेलबन्धु जोडिएका छन् । इम्बोस्ड नम्बर प्लेटको हरेक भुक्तानीमा जोडिएका ती पौडेलबन्धु हुन् रामचन्द्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले इम्बोस्ड नम्बर प्लेट घोटाला प्रकरणमा विस्तृत अनुसन्धान गरिरहेको छ । यातायात व्यवस्था विभागले बंगलादेशी कम्पनीे डेकाटुर इन्डस्ट्रिज इन्कर्पोरेटलाई इम्बोस्ड झन्डै एक अर्ब भुक्तानी दिएको पाइएको छ ।

अख्तियार स्रोतका अनुसार रूपनारायण भट्टराई, गोगनबहादुर हमाल, डा. टोकराज पाण्डे, सुरेश राउत, नारायणप्रसाद भट्टराईलगायतका तत्कालीन महानिर्देशक (डिजी)हरू इम्बोस्डको उक्त भुक्तानी प्रकरणमा जोडिएका छन् । सबै भुक्तानी दिलाउन भूमिका खेल्ने अर्का पौडेलबन्धु यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक रामचन्द्र रहेको अख्तियार स्रोतको दाबी छ । विकल पौडेलले रोपेको इम्बोस्ड भ्रष्टाचारको बिउ रामचन्द्र पौडेलले मलजल र गोडमेल गरेको हुर्काएको चर्चा चल्न थालेको हो ।

इम्बोस्ड घोटालामा अख्तियार लागेसँगै यसले राम्रै हलचल ल्याउने देखिन्छ । पौडेलबन्धु विकल र सुनिलसँगै इम्बोस्डमा रामचन्द्र थपिएका छन् ।

इम्बोस्डका केही तथ्य र प्रश्नहरू

• इम्बोस्ड नम्बर प्लेट परियोजनाले राज्य र नागरिकलाई कुनै पनि तात्विक लाभ नमिल्ने ।

• नागरिकले तीन हजार रुपैयाँ रकम तिरेर इम्बोस्ड नम्बर प्लेट जडान गर्छन् । यसबाट उनीहरुलाई के फाइदा हुन्छ? राज्यलाई के फाइदा हुन्छ ?

• नागरिकले इम्बोस्ड नम्बर प्लेट बापत सरकारलाई तिरेको रकम सरकारले लिएर अमेरिकन कम्पनीलाई दिन्छ । यसरी इम्बोस्ड नम्बर प्लेट नागरिकबाट पैसा लुटेर विदेशी कम्पनीलाई पोस्ने सेतो हात्ती भएको छ ।

• काम सम्पन्न नभईकनै रकम भुक्तानी गर्ने प्रावधान सम्झौतापत्रमा राखेर इम्बोस्ड नम्बर प्लेटको ठेक्कामा राष्ट्रघाती सम्झौता भएको पाइन्छ ।

• नेपाल र नेपालीलाई डुबाउने इम्बोस्ड नम्बर प्लेटको राष्ट्रघाती सम्झौता विदेशी कम्पनीलाई सुम्पिने कार्यमा विकल पौडेल हर्ताकर्ता थिए ।

• अहिले यातायात व्यवस्था विभागमा कार्यरत मेकानिकल ईन्जिनियर रामचन्द्र पौडेल इम्बोस्ड नम्बर प्लेटको ठेक्काको भुक्तानी गर्न कम्मर कसेर लागेका छन् । अर्बौको भुक्तानी उनी जोडिएको तथ्य अख्तियारमा पुगेको छ ।

• इन्जिनियर पौडेल कै जोडबलमा निवर्तमान भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धबप्रसाद रिजाललाई भुक्तानीका लागि दबाव दिएको भएतापनि रिजालले बरु यस्तो राष्ट्रघाती सम्झौता खारेज गर्छु, एक पैसा पनि भुक्तानी गर्दिन भनेर अडान लिएकाे चर्चा छ । यसरी भुक्तानी गर्न टसमस नभएपछि निर्देशक रामचन्द्र महानिर्देशक रिजाललाई हटाई आफै महानिर्देशक बन्ने खेलमा लागेकाे आरोप लाग्न थालेको हो ।

• कारखाना स्वीकृति र विदेशी गाडीलाई इजाजत दिएबापत एक महिनामा पचास लाख रुपैयाँ रकम व्यापारिक घरानाबाट उठ्ती उठाउँदै आएको आरोप छ ।

• इम्बोस्ड नम्बर प्लेटको हालसम्म भए गरेका सबै खाले भुक्तानीलगायतका निर्णय प्रक्रियामा रामचन्द्र सहभागी भएका छन् । यसरी विकल पौडेलले रोपेको भ्रष्टाचारको बिरुवालाई अर्का पौडेलबन्धु रामचन्द्रले मलजल गरि उक्त भ्रष्टाचारको बिरुवाले अहिले हाँगाविगा फलाई रुखको स्वरुप ग्रहण गरिसकेको छ ।

• इम्बोस्ड नम्बर प्लेट प्रकरणमा भए गरेका सबै खाले भुक्तानीका फाइलहरू अख्तियारले नियन्त्रणमा लिएसँगै रामचन्द्र विगतमा भेटिरहने एकजना अख्तियारका आयुक्तमार्फत यो प्रकरणलाई सामसुम बनाउन सक्रिय रहेको कुराले व्यापक चर्चा पाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #इम्बोस्ड नम्बर प्लेट, #ई. रामचन्द्र पौडेल, #गोगनबहादुर हमाल, #डा. टोकराज पाण्डे, #यातायात व्यवस्था विभाग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com