मेडिकल सप्लायर्स विशाल पण्डितको बसेरा बुटिकमाथि के ‘एक्सन’ हुन्छ ?


काठमाडौं । बसेरा बुटिक होटलका मालिक विशाल पण्डितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । कोभिडको समयमा स्वास्थ्य सामग्री खरिदमा झन्डै ३ करोड भ्रष्टाचार गरेको आरोपमा हस्पिटेक इन्टरप्राइजेज प्रालीका सञ्चालक समेत रहेका उनीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

स्वास्थ्य सामग्री खरिदमा एकछत्र राज गरिरहेका मेडिकल व्यवसायी  पण्डितको बसेरा बुटिक होटल समेत मापदण्डविपरीत चलिरहेको छ । सत्ता र शक्तिको आडमा अवैध धन्दा जारी रहेको बसेरा बुटिक होटलमाथि गृह मन्त्रालयले एक्सन लिन सकेको छैन । गृह मन्त्रालय काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको संयोजकत्वमा बनाएको अध्ययन समितिले बसेरा बुटिक होटलले सिंहदरबारमाथि सुरक्षा चुनौती दिएको निष्कर्ष निकालेको थियो । तर, उक्त प्रतिवेदन अहिले गायब बनाइएको छ ।

तत्कालीन गृहसचिव (हाल अख्तियार प्रमुख) प्रेमकुमार राईको संक्रियतामा बसेरा बुटिक होटललगायतका अन्य ठूला संरचनाबाट हुने सुरक्षा चुनौतीको अध्ययन गराउन उक्त समिति बनाइएको हो । २०७६ असारमा गृहमन्त्रीस्तरीय निर्णयबाट बनेको उक्त समितिले भदौमा प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा बसेरा बुटिक होटलले सिंहदरबारमाथि सुरक्षा चुनौती बढाएको औल्याएको पाइन्छ । पण्डितको बसेरा बुटिकमाथि एक्सन लिने तयारीमा रहेका तत्कालीन गृहसचिव राईले केही महिनामै अवकाश पाएपछि उक्त प्रतिवेदन पनि ‘कोमा’मा पुगेको देखिन्छ ।

काठमाडौंका तत्कालीन आचार्यको संयोजकत्वमा गठित ९ सदस्यीय अध्ययन समिति विस्तृत अध्ययन गरेर दिएकाे प्रतिवेदन गृहसचिव राई हटेसँगै गायब बनाइएको चर्चा छ । राईले एक्सन लिन खोजेपनि त्यसपछि त्यो प्रतिवेदन स्थानीय प्रशासनमा थन्किएको बसेको अनुमान गरिँदै आएको छ ।

काठमाडौं महानगरपालिका-११ को कित्ता नम्बर २१७५ मा उक्त भवन निर्माण गरिएको हो । इमिरो प्लाजा प्रालिका नाममा निर्माण भएको उक्त भवन बेसमेन्टसहित ११ तलाको छ । उक्त भवनमा तीनकुने निबासी पण्डितले फाइभ स्टार बसेरा बुटिक होटल सञ्चालन गरिरहेका छन् । बसेरा उच्च पदस्थका लागि सेटिङ गर्ने अखडा बनेको चर्चा छ ।

हालका गृहसचिव एकनारायण अर्याल काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत (कार्यकारी) हुँदा बसेराले जिल्ला प्रशासन कार्यालय, काठमाडौं तर्फको खाली भागमा थप संरचना बनाएकाले उक्त प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका गरिएको छ । काठमाडौं महानगरपालिकालाई त्यो विषयमा जानकारी गराउँदा पनि जिल्ला प्रशासन कार्यालयलाई नै अप्ठयारो हुने गरी बसेराले थप संरचना बनाएको तत्कालीन अधिकारीहरू बताउँछन् ।

आचार्यको संयोजकत्वमा महानगरीय प्रहरी परिसरका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सीडीई अमरबहादुर थापा, पुरातत्व विभागका सीडीई सम्पत घिमिरे, भवन निर्माण इजाजत विभागका विभागीय प्रमुख सुरज शाक्य, चण्डीदल सिंहदरबारका प्रमुख सेनानी लक्ष्मण खत्री, सशस्त्र प्रहरी बलका उपरीक्षक नेत्रकुमार खत्री, राष्ट्रिय अनुसन्धान कार्यालय काठमाडौंका उप-अनुसन्धान निर्देशक उत्तम खनाल र जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल समितिका सदस्य थिए । राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालय र सिंगो सिंहदरबारलाई नै सुरक्षा चुनौती दिने गरी ठड्याइएको बसेरा बुटिक होटल कसको संरक्षणमा जोगिरहेको छ त्यसको विषयमा थप खोजबिन हुन जरुरी देखिन्छ ।

बसेरा बुटिकले सिंहदरबारमाथि सुरक्षा ‘थ्रेट’ चुनौती मात्र बढाएको छैन सिंहदरबार र रामशाहपथमा हुने ठूल्ठूला भ्रष्टाचारका ‘डिल’को अखडा समेत बन्न थालेको छ । सिंहदरबार र रामशाहपथका उच्च पदस्थहरु खुसुक्क बसेरामा छिरेर डेटिङ र सेटिङ मिलाउने गरेको आरोप लाग्न थालेको छ । गृह मन्त्रालयले तत्काल बसेरा बुटिक होटलमाथि एक्सन नलिने हो भने अहिलेको नेतृत्वमाथि प्रश्न उठ्न सक्छ ।

काठमाडौं महानगरपालिकाका जुझारू मेयर बालेन्द्र शाह (बालेन) समेत सिंहदरबार अगाडि नै राजनीति र प्रशासनिक नेतृत्वको संरक्षणमा बनेको बसेरा बुटिक होटलमाथि छानबिन गर्न सक्रियता देखाउन आवश्यक छ । भवन मापदण्डविपरीत बनेको बसेरा बुटिक होटलको संरचना मात्र होइन निर्माण सम्पन्नको प्रमाणपत्र दिने अधिकारीहरूमाथि समेत बालेनले एक्सन लिन जरूरी छ ।

‘गलत गर्ने’लाई नछाड्ने बालेन नीतिलाई निरन्तरता दिँदै बसेरा बुटिकमाथि छानबिनका लागि बालेनले तत्काल कदम चाल्नु पर्छ । गलत र मिलेमतो गरेर सिंहदरबार अगाडि नै मापदण्डविपरीत आलिसान महल ठड्याउन दिने तत्कालीन काठमाडौं महानगरपालिकाका अधिकारीहरु समेत जिम्मेवार बनाउन जरूरी छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##विशाल पण्डित, #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #गृह मन्त्रालय, #बसेरा बुटिक होटल, #रामप्रसाद आचार्य सीडीओ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com